उमेरले भर्खर ६९ वर्षमा पाइला टेकेका आशामरु झट्ट हेर्दा ७४÷७५ वर्षको बुढो देखिन्छ । सेतो रंगले सजिएको कपाल, मोजा परेको छाला अनि थरथर काम्ने हातहरुले आशामरुको जिवनमा नयाँ परिचय थपेको छ । तर उनको स्वर भने अझै पनि नारायण गोपालको जस्तो छ ।आज आशामरुले कुनै गीत गाएको छैन । बरु उनी अँध्यारो अनुहार लिएर पुरानो कलमा घोरिएर हेरिरहेको छ । किनकी बिहानदेखि सियो भाँच्या भाँच्यै छ । कन्टुरमा भएको अन्तिम सियो पनि भाँचिसकेछ । हिजो धागो मात्र चुँडिएर तनाव थियो । आज अर्कै चिन्ता छ । बिहानदेखि सियो भाँच्दा आशामरु उदास छ ।उनको काम गर्ने जाँगर पनि मरिसकेको छ ।
कलको पुरानो टेबुलमा भाँदगाउँले कालो टोपी छ । टोपीमा अझै आधा भन्दा बढी त सिउनै बाँकी छ। कालो टोपीलाई गोल गोल घुमाएर समानान्तर, काँक्रो तथा कोठे जस्ता विभिन्न बुट्टा निकालेर सिलाइ गर्नु चानचुने कुरा होइन । त्यसो त टोपीको माथिल्लो चक्की मात्र सिलाउन पनि कहाँ सजिलो छ र? कालो टोपीको तल्लो गोल भागको सिलाइ झन् चुनौती पूर्ण छ । फेरी माथिल्लो चक्की र तल्लो गोल भाग जोडेर रंगरोगन गर्न त बाँकी नै छ । पहिले त उनी हातैले धागो भर्ने गर्थे । आफैँ कपडामा माड लगाउने, विभिन्न आकारमा कपडा काट्ने, सिउने, जोड्ने, फेरी रंगरोगन गर्ने उनको दैनिकी हुन्थ्यो । आशामरुले यस्तो चुनौती सामना गरेको पनि लगभग चालिस वर्ष कटिसकेको छ ।
हिजोको जस्तो तेजिला आँखा अब आशामरुसँग छैन । सियोको प्वालमा धागो छिराउनै समय लाग्छ । त्यसमाथि उमेरले ६९ वर्ष लागेर हो कि उनका हातहरु कामिरहन्छन् । टेबुलमा भाँदगाउँले टोपी फनफनी घुमिरहँदा धेरै कर्मचारी, नेता, व्यवसायीहरुले उनले सिलाएका टोपीहरु लगाएर नि झुत्रा पारिसके । कति कर्मचारीहरु त जागिरबाट अवकास पाएर पेन्सनमा रमाउँदै होलान् । यता आशामरु चाहीँ पेन्सनको सट्टा टेन्सन या नि तनाब मात्र झेलिरहेछ । उनले सबैको शीरमा ताज बनाएर कैयौ मान्छेको सान बढाए । तर आज आशामरुको शीर निहुरिदा सहयोग गर्ने कोही छैनन् ।आशामरु टेबुलको कालो टोपी हेरेर टोलाउँछन् । अनि मार्टोल(पेचकस)को सहायताले भाँचिएको सियो निकाल्न खोज्छन् । उनका हातका नशाहरु पनि फुलेर रुखका हाँगा जस्ता देखिन्छन् । अब उनमा पहिलेको जस्तो उर्जा रहेन । थर्रथर कामेका हातहरुमा पेचकस चलाउन पनि बल पुग्दैन । टोपी सिलाउने मेसिन या नि कलले पनि पचासौँ वर्ष कटाइसकेको छ । कलका पार्टपुर्जाहरु पनि खिइएर आशामरुको शरीर जस्तै कमजोर भइसकेको छ। हुन त कलका पार्टपुर्जाहरु नफेरेको होइन । तर पार्टपुर्जाहरु फेर्दा –फेर्दा आशामरु वाक्क भइसके । यतिखेर कल नै फेर्ने बेला भएको छ। आशामरु कल मात्र होइन पाइने भए त शरीर नै फेर्न चाहन्छन् । अफसोच् यो मौका उनीसँग छैन ।
सानै उमेरमा आमा गुमाएर टुहुरो बनेका आशामरु बुबाकै छहारीमा हुर्के, बढे । जिन्दगीमा आफ्ना पिताबाट सिकेको पाठ भनेको मेहनत मात्र मेहनत थियो । कर्म गर फलको आशा नगर भन्ने गीताबाट उद्धृत भनाइ आशामरुको जिवनको सार हो । फलत कहिल्यै फलको आश गरेनन् । आशामरु किसान पनि होइनन् किनकी उनीसँग खेतीको लागि खेत पनि थिएन । उनी त केवल ज्यालामा निर्भर मजदुर मात्र थिए । पचास वर्ष अघि टोपी सिलाउन थाल्दा आशामरु पेशाले मजदुरै भएपनि फिल्मका नायकभन्दा कम थिएनन् । हृष्टपुष्ट शरीर, लाम्चो अनुहार र लामो कपाल नै उनको परिचय थियो । कक्षा चारसम्म पढेका उनलाई नेपाली र हिन्दी चलचित्रका गीतहरु गाउन साह्रै मज्जा लाग्थ्यो । अनि कहिलेकाँही धार्मिक भजन उनको दैनिकी बन्थ्यो । कहिले ज्यामी त कहिले टोपी सिलाउने उनको बानी नै थियो । उनको मेहनत देखेर छिमेकीहरु पनि डाहा गर्थे । समयसँगै उनले विवाह गरे, सन्तानका पिता बने ।उनका उनका पिताले नि संसार छोडे ।
उनले कल चलाउन सिकेदेखि कहिले झोला सिलाए त कहिले लुगा । उनले प्राय सिउने भनेको भादगाउँले टोपी नै हो । उनी आफूले सिलाएको टोपी लगाउन गर्व गर्छन् । त्यही टोपी सिलाएर उनले आफ्ना चार सन्तान सरकारी विद्यालयमै पढाएरै भएपनि हुर्काइसके । ती सन्तान हुर्किएर आ –आफ्ना बाटो लागिसके । चराले गुँड छोडेझै उनका सन्तानहरु लाखापाखा लागे । तर आशामरुले टोपी सिलाउन कहिल्यै छोडेनन् । टेबुलको छेउमा सानो रेडियो हुन्थ्यो , अनि रेडियोमा गोपाल योञ्जनको गीत बज्थ्यो । आशामरु आफ्नै सुरमा गाउने गर्थ्याे,
यो मेरो टोपी ……..ओ..ओ..
मेरो टोपी कैलाशको शीर जस्तो
हिमालको भीरजस्तो,
कहिल्यै पनि झुक्न नजान्ने,
कहिल्यै पनि लुक्न नजान्ने,
मेरो टोपी नेपाली वीर जस्तो …..
गीत गाएर काम गर्दा दिन बितेको पत्तै हुन्नथ्यो । बिहान चार बजे उठेर विभिन्न मन्दिरहरुको परिक्रमापछि घरमा नित्य पूजा चल्थ्यो । नित्य पूजा लगतै उनको कलका पाउदानी बेस्सरी चल्थ्यो । उनका साहु श्यामलाल पञ्चले पनि काम गर्न सधैँ प्रेरित गरिरहे । आशामरुले जिवनमा गरेको गल्ती भनेको आफूले गरेको कामको उचित पारिश्रमिक कहिल्यै माग्न जानेनन् । उनले कहिल्यै आफनो ज्याला कम भयो भन्न पनि जानेनन् । उनलाई यसो गर्न सिकाउने पनि कोहि थिएनन । क्रान्तिकारी भूमि सुधार र भर्पाइ आन्दोलनले तातेको शहरमा सोझो मजदुर भएर हो कि उनले राजनीतिको कखरा पढ्न पाएनन् । सायद किसान आन्दोलनले मजदुरको विषयलाई नछोएको हो कि वा आशामरुले नबुझेर हो उनी राजनीतिबाट सधैँ टाढा रहे ।
आशामरुको लागि काम दिलाउने साहू नै भगवान थिए ।त्यसैले आशामरु साहूका प्रिय पात्र थिए । उनी साहूका लागि पनि आशा भरोसा पनि थिए । आशामरु लगायत अन्य मजदूरलाई काममा लगाएरै भएपनि श्यामलालले नयाँ घर ठडाएको धेरै वर्ष भइसक्यो । तर दुई छाक मात्र खान पुग्ने ज्यालाले उनको बचत पनि कहिल्यै भएन । यसैले त आशामरुको घर खण्डहर छ। भूकम्पले चिरा पारेको उनको घरलाई पुन निर्माण गर्न न त उनीसँग बचत छ, न त पुख्र्यौली सम्पति । रोग लाग्दा सितामोल पनि किन्न मान्दैनन् उनी । कपडा भिजाएर निधारमा राख्छन् , तर अस्पताल जान मान्दैनन् । उनका सहारा भगवान नै हुन् । तर त्यही भगवानले कर्मको फलको आशा नराख्न सिकाएका रहेछन् । त्यसैले आशामरुको जिवनमा केहि आशा छैन ।
बुढेसकालमा पनि सकी नसकी टोपी सिलाउन खोज्छन्, यही त हो उनको प्राणको सहारा ।
उनी बस्ने शहरमा अझै पनि भाँदगाउँले टोपी लगाउने लहर छ । नगरको मेयरको शीरमा कालो टोपी टलक्क टल्किन्छ। यता आशामरुको जिवनको आशा नउठ्ने गरी ढलक्क ढल्केको छ । किनकी कन्टुरमा रहेको अन्तिम सियो पनि भाँचिसकेको छ । सायद अब उनले कहिल्यै टोपी सिलाउने छैनन् ।
फेरी आशामरु गोपाल योञ्जनको मेरो टोपी बोलको गीतको पछिल्लो हरफ गाउँछन् –………………….
अहिलेसम्म भोगेको मैलेमेरै घाम छाया लागेको…….
मेरो टोपी मैलो होइन
यही माटोको टिको लगाएको …।।……………………….
आफ्ना सन्तान चिनाउने
जन्म दिने भावी जस्तो……यो मेरो टोपी…..ओ….ओ…… ।।
अर्जुन कोन्दा


















