प्रेम सुवाल: “नयाँ हुन विचार पनि नयाँ हुनुपर्छ”

0
22

भक्तपुर, २०८३ जेठ २ ।

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नयाँ बन्न विचार पनि नयाँ हुनुपर्ने बताउनुभएको छ । भक्तपुर जिल्ला बक्सिङ्ग संघद्वारा आयोजित प्रमाणपत्र वितरण तथा बनभोज कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले खेलकुदले स्वास्थ्य, मित्रता, अनुशासन तथा राष्ट्रिय सार्वभौमिकताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

भक्तपुरको च्वङ्गा गणेश सल्लाघारीमा सम्पन्न कार्यक्रममा उहाँले एमसीसी सम्झौता र एसपिपि सम्बन्धी विषय उठाउँदै नेपालको सार्वभौमिकतामाथि असर पर्ने खालका सम्झौताप्रति नेपाली जनता सचेत हुनुपर्ने धारणा राख्नुभयो । उहाँले खेलकुदलाई भौतिक विज्ञान र मानव सभ्यताको विकाससँग जोड्दै प्राचीन कालदेखि नै मानिसको श्रम, भाषा र संघर्षबाट विभिन्न खेलहरूको विकास भएको उल्लेख गर्नुभयो । आधुनिक बक्सिङ्ग खेल पनि त्यही विकासक्रमको परिणाम भएको उहाँको भनाइ थियो ।

उहाँले खेलकुद क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आन्तरिक तथा बाह्य परिस्थिति दुवै अनुकूल हुनुपर्ने बताउँदै सक्षम खेलाडीलाई संरक्षण र अवसर उपलब्ध गराए मात्र खेलकुद क्षेत्र अगाडि बढ्ने धारणा राख्नुभयो । वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उहाँले सरकारको आर्थिक तथा परराष्ट्र नीतिका कारण देश परनिर्भर बन्दै गएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवाँले जिल्ला बक्सिङ्ग संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र खेलकुद विकासबारे नियमित छलफल सञ्चालन गर्नु सकारात्मक भएको बताउनुभयो । उहाँले खेलाडीको सीपअनुसार रोजगारीको व्यवस्था गर्न सके खेलाडी प्रोत्साहित हुने धारणा राख्नुभयो । साथै खेलकुदलाई मौलिक हकका रूपमा स्थापित गरी सबै वर्गको पहुँचमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले खेल विज्ञान तथा खेलकुद विश्वविद्यालयको आवश्यकता औंल्याउँदै संघ, प्रदेश तथा जिल्ला स्तरका खेलकुद संस्थाले वार्षिक कार्यतालिका बनाएर व्यवस्थित रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । खेलकुद क्षेत्रमा देखिएको खिचातानीका कारण खेलाडी तथा संघहरू उत्साहित हुन नसकेको उहाँको भनाइ थियो ।

भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ्ग महासंघका महासचिव मान बहादुर भण्डारी, कोषाध्यक्ष गौतम सुजखु तथा बागमती प्रदेश बक्सिङ्ग संघका अध्यक्ष रामचन्द्र थापा मगरले समेत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वाचित भक्तपुर जिल्ला कार्यसमितिलाई नेपाल बक्सिङ्ग महासंघका सचिव पुष्कर राज पन्तले सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुरज ग्वाछाले स्वागत मन्तव्य तथा सचिव साजन लघुले सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष राजन कुम्पाखले गीतमार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here