भक्तपुर । भक्तपुर योङ सर्कलको पुनःगठन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै सुवालले भक्तपुर योङ सर्कललाई दाफा, भजन तथा गुठीजस्तै सामाजिक संस्था भएको उल्लेख गर्दै संस्थाको नेतृत्वमा रहेका पदाधिकारी तथा सदस्यहरू सर्कलमा आबद्ध सबैको सेवामा समर्पित हुनुपर्ने बताउनुभयो।
उहाँले संस्थाका सदस्य तथा उनीहरूका परिवारलाई देश तथा विदेशका समसामयिक विषयबारे जानकारी गराई शिक्षित बनाउने काम पनि समितिको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। कार्यक्रममा नवदुर्गा क्याम्पस सञ्चालन हुन नसकेपछि त्यसको सम्पत्ति भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको विषयबारे समेत जानकारी दिइएको थियो।
जिल्ला भलिबल सङ्घका अध्यक्ष तथा भक्तपुर योङ सर्कलका सल्लाहकार विनोदचरण रायले नेपालको भलिबल खेलको विकासमा भक्तपुर योङ सर्कलले पु¥याएको योगदानको चर्चा गर्नुभयो। उहाँले सर्कलले नेपालमै पहिलोपटक बिच भलिबल, भेट्रान्स भलिबल, सिटिङ भलिबल, पार्क भलिबल, मिक्स भलिबल, अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप तथा फुटसल प्रतियोगितालगायतका प्रतियोगिता आयोजना गरेको स्मरण गर्नुभयो। साथै, पहिलो अन्तर्राष्ट्रिय रेफ्री र पहिलो महिला राष्ट्रिय रेफ्री उत्पादनमा समेत सर्कलको योगदान रहेको बताउनुभयो।
व्यवसायी तथा सर्कलका पहिलो खेलकुद प्रशिक्षक विश्वराम कवांले युवा शक्ति नै देशको शक्ति भएको बताउँदै युवालाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ र अनुशासित बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो। उहाँले भक्तपुरको विकास र सामाजिक परिवर्तनमा तत्कालीन क्लबहरूले पु¥याएको योगदानको पनि स्मरण गर्नुभयो।
सर्कलका पूर्वअध्यक्ष तथा सल्लाहकार रवीन्द्र खर्बुजाले समयअनुसार विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्नु नै क्लबको जीवन्तताको आधार भएको बताउनुभयो। विगतमा क्लबले समाजमा रहेका कुरीति, कुसंस्कार, जाँडरक्सी, लागूपदार्थ तथा दुर्व्यसनविरुद्ध सामाजिक चेतना फैलाउने काम गरेको उहाँले स्मरण गर्नुभयो।
त्यस्तै, पूर्वअध्यक्ष तथा सल्लाहकार आसराम वैद्यले सर्कलको निरन्तरता र जीवन्तताका लागि विगतमा सदस्यहरूले गरेका गतिविधि तथा सङ्घर्षले नयाँ पुस्तालाई प्रेरणा दिने बताउनुभयो। सल्लाहकार श्यामसुन्दर मातांले क्लब स्थापनाको आधार, इतिहास र विभिन्न गतिविधिबारे जानकारी दिनुभयो।
‘कला, खेलकूद र मित्रता, युवा जगतको आवश्यकता’ भन्ने मूल नाराका साथ अघि बढेको भक्तपुर योङ सर्कलको विकासक्रम जनहित सेवा क्लब हुँदै इन्द्रायणी क्लब, जी.पी. युथ मण्डल र पछि भक्तपुर योङ सर्कलका रूपमा अघि बढेको हो।
सर्कलका अध्यक्ष गणेशभक्त खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामसुन्दर सुजखु र पुण्यराम स्वंगमिखाले पनि बोल्नुभएको थियो।
कार्यक्रममा निर्वाचनमण्डलका संयोजक रवीन्द्र खर्बुजाले राजन जतिको अध्यक्षतामा रामसुन्दर सुजखु उपाध्यक्ष, पुण्यराम स्वंगमिखा सचिव र सन्दिप खर्बुजा कोषाध्यक्ष रहेको १३ सदस्यीय नयाँ समिति निर्वाचित भएको घोषणा गर्नुभयो। समितिका सदस्यहरूमा रामसुन्दर मातां, वीरेन्द्र वैद्य, इन्द्रभक्त पञ्च, विकास खर्बुजा, निरोज वैद्य, प्रज्वल खत्री, रमा मातां, विकास बोयजु र राकेश मातासहित रहेका छन्।














