तीन दिने च्याउ खेती तालिम सम्पन्न

0
24
तीन दिने च्याउ खेती तालिम सम्पन्न


भक्तपुर, भक्तपुरमा असोज १८ गतेदेखि सञ्चालन भएको तीन दिने च्याउ खेती तालिम मंगलबार सम्पन्न भएको छ। च्याउ खेतीसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा विभिन्न जिल्लाबाट आएका ९ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि च्याउ विज्ञ बुद्धिकुमार दुवालले च्याउ खेतीलाई सानो स्तरबाट सुरु गरी क्रमशः विस्तार गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताउनुभयो। उहाँले विशेषगरी सिताके च्याउको उत्पादन र यसको उपयोगिताबारे जानकारी दिँदै प्रत्येक घरमा सिताके च्याउ उत्पादन गर्ने अभियान सञ्चालन गर्ने आफ्नो योजना विगतमा कोभिड–१९ महामारीका कारण अघि बढाउन नसकिएको बताउनुभयो।
प्रशिक्षक निशा कार्कीले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो। उहाँले तालिमबाट प्राप्त सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न नसके पनि परिवार तथा समुदायका अन्य व्यक्तिलाई सिकाउन सकिने बताउँदै खेती सुरु गर्नु नै थप सिकाइको सुरुवात भएको उल्लेख गर्नुभयो।
कार्यक्रमका सभापति मसरुम सुपका निर्देशक आकाश बाडेले तालिमलाई प्रभावकारी बनाउन सैद्धान्तिकभन्दा प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिइएको बताउनुभयो। उहाँले “खेती सुरु भएपछि नै वास्तविक तालिम सुरु हुन्छ” भन्ने धारणा राख्दै सिकेको सीपलाई उत्पादनमा जोड्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो।
समापन कार्यक्रममा प्रशिक्षार्थी ज्योति जोशी र चन्द्रबहादुर सुनारले तालिमका क्रममा प्राप्त अनुभव तथा सिकाइबारे मन्तव्य राख्नुभएको थियो।
यसअघि असोज १८ गते च्याउ वैज्ञानिक बुढीरत्न खड्गेले तालिमको उद्घाटन गर्नुभएको थियो। तीन दिनसम्म सञ्चालन भएको तालिममा च्याउ खेतीका विभिन्न पक्षबारे सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्याससमेत गराइएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here