भक्तपुर, २०८३ असार १३ ।
मध्यपुर थिमी नगरपालिका वडा नं. ८ को आयोजनामा बोडेस्थित नर्थ पोइन्ट महलको सभाकक्षमा दिगो फोहरमैला व्यवस्थापन तथा बानी–व्यवहार परिवर्तन सम्बन्धी तीनदिने तालिम सञ्चालन भइरहेको छ। असार १२ गतेदेखि सुरु भएको तालिम असार १४ गतेसम्म सञ्चालन हुनेछ।
स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा विभिन्न समूहका सहभागीहरूको सक्रिय सहभागिता रहेको छ। तालिमको उद्देश्य फोहर व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै फोहरलाई उपयोगी स्रोतका रूपमा प्रयोग गर्ने सीप विकास गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा वडा नं. ८ का वडा सदस्य सुरेन्द्र था श्रेष्ठले फोहरलाई उचित व्यवस्थापन गरी “फोहरलाई मोहर” बनाउन सकिने ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले असार १५ गते हरियाली प्रवर्द्धनका लागि गमलामा बिरुवा रोप्ने कार्यक्रम समेत आयोजना गरिएको जानकारी दिनुभयो।
तालिमका प्रशिक्षक सुरेन्द्र लामिछानेले फोहर व्यवस्थापन तथा बानी–व्यवहार परिवर्तन सम्बन्धी प्रशिक्षण दिँदै फोहरलाई छुट्याएर विभिन्न उपयोगी सामग्री उत्पादन गरी आयआर्जन गर्न सकिने सम्भावना रहेको बताउनुभयो।
त्यसैगरी अन्तर्राष्ट्रिय प्रशिक्षक ज्ञानबज्र महर्जनले फोहर वर्गीकरण, जैविक फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने विधि तथा दिगो फोहर व्यवस्थापनका व्यावहारिक पक्षबारे प्रशिक्षण दिनुभयो।
आजको तालिममा सहभागीहरूलाई दुई समूहमा विभाजन गरी “फोहर व्यवस्थापन नगर्दा के–के समस्या उत्पन्न हुन्छ?” भन्ने विषयमा समूह छलफल तथा प्रस्तुतीकरण गराइएको थियो। समूह नं. १ का तर्फबाट सरिता श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रमको समन्वय लक्ष्मी प्रसाद घिमिरेले गर्नुभएको थियो। उहाँले “सरसफाइ सभ्यताको परिचय हो” भन्दै प्रत्येक नागरिकले घर, टोल र समुदायलाई सफा राख्न योगदान गर्नुपर्नेमा जोड दिनुभयो।
तालिम असार १४ गते पनि निरन्तर सञ्चालन हुनेछ। साथै असार १५ गते वडा नं. ८ का विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा हरियाली प्रवर्द्धन तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिने वडा सदस्य सुरेन्द्र था श्रेष्ठले जानकारी दिनुभयो।


















