भक्तपुर जिल्ला बक्सिङ संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0
14
भक्तपुर जिल्ला बक्सिङ संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भक्तपुर, २८ असोज।

भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी तथा शुभ दीपावली–२०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार सम्पन्न भएको छ।

४६औँ नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले तःमुंज्याको ऐतिहासिक पृष्ठभूमि, सामाजिक चेतना र समसामयिक राजनीतिक तथा आर्थिक विषयमा धारणा राख्नुभयो।

प्रमुख अतिथि कवाँले तःमुंज्या जनताको आवश्यकता र समय परिस्थितिअनुसार स्थापना भएको उल्लेख गर्दै दबिएर बसेका तल्लो वर्गका जनताको उत्थान तथा समाजमा चेतना फैलाउने उद्देश्यले यसको विकास भएको बताउनुभयो। सत्य बोल्दा सुकरातले मृत्युवरण गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले समाज परिवर्तनका लागि विचार र चेतनाको महत्त्वमाथि प्रकाश पार्नुभयो।

उहाँले प्राकृतिक स्रोतसाधनको उपयोग गरी जलविद्युत् विकासमार्फत रोजगारी सिर्जना गर्न सकिने भए पनि प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई ध्यानमा राखेर विकासका योजनामा पुनर्विचार गर्नुपर्ने बताउनुभयो। औद्योगिकीकरणबाट उत्पन्न प्रदूषण र पृथ्वीको बढ्दो तापक्रमका कारण हिमालमा परेको प्रभावबारे चिन्ता व्यक्त गर्दै उहाँले वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी, डाटा सेन्टरको विकासबाट नेपालले प्राप्त गर्ने लाभ र देशको सूचनामाथि हुन सक्ने बाह्य पहुँचबारे पनि विचार गर्नुपर्ने उहाँले बताउनुभयो। वर्तमान सरकार र विगतमा लामो समय शासन गरेका राजनीतिक दलहरूबीच नीतिगत तथा वैचारिक भिन्नता स्पष्ट नभएको टिप्पणी गर्दै उहाँले सरकारको कार्यसम्पादन, स्वास्थ्य बिमा, शिक्षकलाई दशैँ खर्च उपलब्ध गराउने विषय तथा राजनीतिक दलहरूको विगतको कार्यशैलीमाथि आलोचना गर्नुभयो। सिद्धान्त र विचारबिनाको राजनीतिक यात्राले सही गन्तव्य प्राप्त गर्न नसक्ने उहाँको भनाइ थियो।

कार्यक्रमका सभापति तथा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले दशैँलाई भौतिकवादी तथा वैज्ञानिक दृष्टिकोणबाट मनाउनुपर्ने बताउनुभयो। उहाँले दशैँजस्ता परम्परागत चाडपर्वको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

मार्क्सवादी दृष्टिकोणबाट धर्म, परम्परा र सांस्कृतिक अभ्यासको विश्लेषण गर्नुपर्ने धारणा राख्दै अध्यक्ष प्रजापतिले दशैँमा देखिने आर्थिक असमानता, उपभोगवाद र सामाजिक विभेदका विषयमा चर्चा गर्नुभयो। उहाँका अनुसार चाडपर्व मनाउने क्रममा गरिब तथा मजदुर वर्ग ऋण लिन बाध्य हुने अवस्था र धनी वर्गको उपभोगमुखी जीवनशैलीबीचको अन्तरलाई ध्यान दिन आवश्यक छ।

उहाँले धार्मिक अन्धविश्वास र रूढिवादी मान्यतालाई निरुत्साहित गर्दै दशैँलाई सामाजिक न्याय, समानता र वैज्ञानिक सोच प्रवर्द्धन गर्ने अवसरका रूपमा मनाउन आग्रह गर्नुभयो। परम्परागत चाडपर्वलाई सामाजिक रूपान्तरण र वर्गीय चेतना अभिवृद्धिसँग जोड्नुपर्ने उहाँको भनाइ थियो।

सोही अवसरमा अध्यक्ष प्रजापतिले बागमती प्रदेश बक्सिङ संघले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आगामी कार्तिक ९ देखि १२ गतेसम्म खेलाडी छनोट गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव साजन लघुले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here