काठमाडौँ। जापानको आइचि–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ लाई लक्षित गर्दै नेपाली बक्सिङ टोलीको भारतको गुवाहाटीमा वैदेशिक बन्द प्रशिक्षण जारी रहेको छ।
स्पोर्ट्स अथोरिटी अफ इन्डिया (SAI) को आसामस्थित क्षेत्रीय कार्यालयको समन्वय तथा प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रशिक्षणमा नेपाली बक्सिङका ७ खेलाडी र २ प्रशिक्षक गरी ९ सदस्य सहभागी छन्। टोलीमा ३ महिला र ४ पुरुष खेलाडी रहेका छन्।
प्रशिक्षण शिविरको नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारी, कोषाध्यक्ष गौतम सुजखु, बागमती प्रदेश बक्सिङ सङ्घका अध्यक्ष रामचन्द्र थापामगर, अन्तर्राष्ट्रिय निर्णायक सन्तोष आले मगर तथा अन्तर्राष्ट्रिय प्रशिक्षक रमेशदास श्रेष्ठ सम्मिलित प्रतिनिधिमण्डलले स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ।
निरीक्षणका क्रममा प्रतिनिधिमण्डलले SAI को खेल पूर्वाधार, प्राविधिक प्रशिक्षण, स्पारिङ, खेलाडीहरूको शारीरिक फिटनेस, डाइट तथा स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको थियो। टोलीले मुख्य प्रशिक्षक राज श्रेष्ठ र प्रशिक्षक दिपक महर्जनसँग खेलाडीहरूको प्रदर्शन, प्रशिक्षणको अवस्था तथा आगामी प्रतियोगिताका लागि रणनीतिबारे छलफलसमेत गरेको थियो।
वैदेशिक प्रशिक्षणमा महिला ५१ केजीमा रमिशा श्रेष्ठ, ५४ केजीमा अस्मिता दुवाल र ६५ केजीमा कुसुम तामाङ सहभागी छन्। पुरुषतर्फ ५४ केजीमा चन्द्रबहादुर थापा, ६० केजीमा खगेन्द्र रोका मगर, ७० केजीमा दानबहादुर दर्लामी मगर र ९० केजीमा रबिन नेपाल प्रशिक्षणमा रहेका छन्।
निरीक्षणका क्रममा महासङ्घका पदाधिकारी तथा प्रतिनिधिमण्डलले खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणको अधिकतम उपयोग गर्दै एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि केन्द्रित हुन आग्रह गरेका थिए। खेलाडीहरूको मनोबल उच्च राख्दै देशका लागि ऐतिहासिक पदक हासिल गर्ने लक्ष्यका साथ तयारी गर्न शुभकामनासमेत दिइएको थियो।
महासङ्घका महासचिव मानबहादुर भण्डारीको समन्वयमा नेपाली बक्सिङ टोलीलाई टिसर्ट तथा ट्र्याकसुटसमेत वितरण गरिएको छ। अमेरिका निवासी बक्सिङ प्रशिक्षक धुर्वलाल श्रेष्ठ र विजय सिंह डंगोलको प्रायोजनमा खेल सामग्री तथा पोसाक वितरण गरिएको महासङ्घले जनाएको छ।
SAI को उच्चस्तरीय प्राविधिक वातावरणमा भइरहेको बन्द प्रशिक्षणले नेपाली खेलाडीको प्राविधिक क्षमता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक तयारीमा थप सुधार ल्याउने महासङ्घको विश्वास छ। साथै, नेपाली टोलीको तयारीलाई निरन्तरता दिन आगामी दिनमा थप सहकार्य तथा सम्झौता गर्ने तयारीसमेत भइरहेको जनाइएको छ।
एसियाली खेलकुदमा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित भइरहेको यो प्रशिक्षणलाई नेपाली बक्सिङ टोलीको पदक सम्भावना बलियो बनाउने महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ।
















