नयाँ स्वास्थ्य विज्ञानका विद्यार्थीलाई बायोइथिक्सबारे अभिमुखीकरण, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आह्वान

0
27

धरान । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक सत्र २०२६ का लागि एमबीबीएस, बीडीएस, नर्सिङ, एमडी, एमएस लगायत विभिन्न स्वास्थ्य विज्ञानका कार्यक्रममा हालै भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै बायोइथिक्स (जैवनीति) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम बायोइथिक्स नेपाल एकाइका प्रमुख तथा मानसिकरोग विभागका प्रमुख प्रा. डा. धनरत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन विद्यार्थी संकायकी सदस्य निलम दाहालले गर्नुभएको थियो।
कार्यक्रममा बायोइथिक्स नेपाल एकाइका सदस्य डा. अशोक ऐरले चिकित्सा पेशामा हानि न्यूनिकरण, बिरामीको हित, मानव मूल्य, न्याय तथा नैतिक निर्णयका आधारभूत सिद्धान्तबारे प्रकाश पार्नुभयो। उहाँले स्वास्थ्य सेवा प्रवाहका क्रममा नैतिक मूल्य र जैवनीतिको महत्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
मुख्य सत्रमा प्रा. डा. धनरत्न शाक्यले मानव जीवन र विशेषगरी स्वास्थ्य विज्ञानसँग सम्बन्धित नैतिक प्रश्नहरूबारे आधारभूत जानकारी प्रस्तुत गर्दै विद्यार्थी जीवनदेखि नै जैवनीतिका सिद्धान्त आत्मसात् गर्न सके भविष्यमा जिम्मेवार र सफल स्वास्थ्यकर्मी बन्न सहज हुने बताउनुभयो।
उहाँले बायोइथिक्स नेपाल एकाइ र विद्यार्थी संकायले सन् २०१४ मा एकाइ स्थापना भएदेखि तथा विश्व बायोइथिक्स दिवसको प्रारम्भिक वर्ष २०१६ देखि हरेक वर्ष यस्ता अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानलाई नैतिक रूपमा थप सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
यस वर्षको विश्व बायोइथिक्स दिवस २०२६ को अन्तर्राष्ट्रिय नारा “Bioethics for Peace (शान्तिका लागि बायोइथिक्स)” तय गरिएको उल्लेख गर्दै उहाँले कविता, निबन्ध, कला पोस्टर, अनुसन्धान पोस्टर तथा सिर्जनामूलक प्रतियोगिताहरूमा नेपालभरका स्वास्थ्य विज्ञानका विद्यार्थीलाई सहभागी हुन आह्वान गर्नुभयो।
नेपाल एकाइद्वारा जुलाई–अगस्ट महिनामा सञ्चालन हुने विभिन्न प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट सिर्जनाहरू अघिल्ला वर्षहरूझैँ अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी गराइने जनाइएको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई भावी चिकित्सा तथा स्वास्थ्य सेवाका क्रममा आइपर्ने नैतिक दुविधाहरू समाधान गर्न आवश्यक ज्ञान, विश्लेषण क्षमता र सही निर्णय गर्ने सीप विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here