प्रगति पुस्तकालयको एडभान्स चित्रकला तालिम (तह–२) सम्पन्न
भक्तपुर, असार ८ — प्रगति पुस्तकालयको आयोजनामा सञ्चालित एडभान्स चित्रकला तालिम (तह–२) को समापन कार्यक्रम शुक्रबार तुमचो स्थित आदर निकेतनमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भक्तपुर नगरपालिका ९ न का वडा अध्यक्ष रविन्द्र ज्याख्वले विद्यार्थीहरूले आधारभूत तहदेखि एड्भान्स तहसम्म आइपुग्दा चित्रकलामा उल्लेखनीय प्रगति गरेको बताउनुभयो। उहाँले निरन्तर अभ्यासले मात्र सीपलाई परिष्कृत बनाउने उल्लेख गर्दै चित्रकला केवल रुचि वा मनोरञ्जनको विषय नभई भविष्यमा शिक्षा, व्यवसाय तथा जीवनयापनको माध्यमसमेत बन्न सक्ने धारणा राख्नुभयो।
उहाँले चित्रकला मानसिक स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण रहेको बताउँदै तनाव व्यवस्थापन, सिर्जनशील सोच र व्यक्तित्व विकासमा यसले सकारात्मक भूमिका खेल्ने उल्लेख गर्नुभयो।
चित्रकला प्रशिक्षक विकास तमखुले नौ महिनाको तालिम अवधिमा विद्यार्थीहरू परिवारजस्तै वातावरणमा सिक्दै उल्लेखनीय रूपमा अघि बढेको अनुभव सुनाउनुभयो। उहाँका अनुसार सुरुवाती चरणको तुलनामा अहिले विद्यार्थीहरूको ड्रइङ, स्केचिङ, कलरिङ तथा सिर्जनशील क्षमतामा ठूलो परिवर्तन देखिएको छ।
उहाँले पछिल्लो तीन महिनामा आफूले सिकाएकोभन्दा बढी विद्यार्थीहरूको निरन्तर अभ्यासले सफलता दिलाएको उल्लेख गर्दै तालिम सकिए पनि अभ्यास नरोकिन आग्रह गर्नुभयो। आगामी दिनमा चित्रकला प्रदर्शनी, प्रतियोगिता तथा अन्य अवसरहरूको जानकारी निरन्तर उपलब्ध गराइने र आवश्यक मार्गदर्शनका लागि आफूहरू सधैँ तयार रहने उहाँको भनाइ थियो।
प्रगति पुस्तकालयका अध्यक्ष रवीन्द्रप्रसाद कुसिले चित्रकला तालिममा सहभागी विद्यार्थीहरूले विभिन्न विद्यालय तथा स्थानीयस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार हासिल गरेकोमा गर्व व्यक्त गर्नुभयो। सुरुमा तीन महिनाका लागि सञ्चालन गरिएको एड्भान्स तालिमलाई विद्यार्थीहरूको सिकाइलाई मध्यनजर गर्दै थप तीन महिना निःशुल्क विस्तार गरिएको जानकारी दिँदै उहाँले यसबाट विद्यार्थीहरूको सीप अझ मजबुत भएको विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा अभिभावकको तर्फबाट प्रज्ञा कर्माचार्य र सुजिता कुटुवाजुले बोल्नुभएको थियो भने जयराम कोजूले संचालन गर्नु भएको थियो ।


















