साहित्य, संस्कृति र विचारको संगम बन्यो नेपालभाषा साहित्य तःमुंज्या

0
2
साहित्य, संस्कृति र विचारको संगम बन्यो नेपालभाषा साहित्य तःमुंज्या

भक्तपुर, ७ कार्तिक। साहित्य, भाषा, संस्कृति र समसामयिक विषयमा विमर्श गर्दै छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम शनिबार भक्तपुरको गोल्मढीस्थित यातामा सम्पन्न भएको छ।

दुई दिनसम्म चलेको सम्मेलनमा देशका साहित्यकार, कलाकार, इतिहासविद्, संस्कृतिविद्, भाषाविद्, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सांस्कृतिक गुरु मोतीबहादुर खायमली, समाजसेवी मोहनवीर कुस्मा, पूर्वकर्मचारी टेकबहादुर पलिखेल र महिला अगुवा कृष्णदेवी वाङाय्योलाई कदरपत्रसहित सम्मान गर्नुभयो।

सम्मेलनमा अध्यक्ष बिजुक्छेँले साहित्यले मानिसलाई विनम्रता र शिष्टतापूर्वक बोल्ने सीप प्रदान गर्ने बताउँदै समाजमा सरसल्लाह गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले देशको आत्मनिर्भरता, उत्पादनसँग जोडिएको शिक्षा, प्राविधिक सीप र जनताको सेवामा समर्पित हुने भावनाको आवश्यकताबारे पनि चर्चा गर्नुभयो।

नेमकिपाका सचिव प्रेम सुवालले देशको आर्थिक अवस्था, महँगी, वैदेशिक ऋण तथा राष्ट्रिय स्वाधीनताका विषयमा धारणा राख्नुभयो। उहाँले शिक्षा, किसानको हकहित र जनमुखी नीतिको आवश्यकतामाथि प्रकाश पार्नुभयो।

त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख बज्रमुनि बज्राचार्यले नेपालभाषाको अध्ययन, अनुसन्धान तथा भाषा र संस्कृतिको संरक्षणमा जोड दिनुभयो। मानवशास्त्री सुरेश ढकाल, इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, लेखक रत्नसुन्दर शाक्य, विमल भौकाजी, सूर्यप्रसाद लाकोजुलगायत वक्ताहरूले साहित्य, संस्कृति, सम्पदा र जनताको जीवनसँग जोडिएको राजनीतिको महत्वबारे विचार व्यक्त गर्नुभयो।

सम्मेलनमा विभिन्न साहित्यकारले कथा तथा कविता वाचन गरेका थिए। कविता प्रतियोगितामा सकुन्तला महर्जन प्रथम, हरिसुन्दर पोतामहाँ द्वितीय र शिल्भिया प्रजापति तृतीय हुनुभयो। त्यसैगरी कथा प्रतियोगितामा कमलकेशरी थुयाजु प्रथम, सूर्यनारायण फाँजु द्वितीय र श्रीया पहिजु तृतीय हुनुभयो।

कार्यक्रममा प्रगतिशील गीत, स्वागत गान, नृत्य तथा महेश्वरी बाँसुरी बाजा खलको बाँसुरी धुन प्रस्तुत गरिएको थियो। सम्मेलनले नेपालभाषा साहित्य, मौलिक संस्कृति र जनसाहित्यको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here