भक्तपुर, आश्विन ६ — दिवंगत दिक्षा (गौरी) हाडाको सम्झनामा तयार गरिएको ‘दिक्षा (गौरी) स्मृति गीत’ भक्तपुरमा लोकार्पण गरिएको छ । लक्ष्मण पलिखेलको रचना, राजेश हाडाको संगीत र रवि हाडाको स्वरमा प्रस्तुत गीतलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दीप प्रज्वलन गर्दै लोकार्पण गर्नुभयो ।
न भेटेर माया गर्न सक्छु… बोलको दिक्षा (गौरी) स्मृति गीतमाथी समीक्षा गर्दै वरिष्ठ संगीतकार दीपक जङ्गमले टिम वर्कले मात्र उत्कृष्ट सिर्जना सम्भव हुने धारणा राख्नुभयो ।
गीतकार सुवासचन्द्र ढुङ्गेलले गीतका शब्द हृदयविदारक भएको र मुखौरा–अन्तराको सशक्त संयोजन रहेको उल्लेख गर्नुभयो भने संगीतकार राजु सिहले करुण रसमा आधारित गीत समाजसेवाको भाव बोकेको बताउनुभयो ।
दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा आफ्नै जीवनका अनुभवलाई ‘अविचलित पाइला’ नामक पुस्तकको आकार दिन सफल प्रीता बल्ललाई सम्मान गरिएको थियो । वक्ताहरुले प्रीतालाई समाजका लागि प्रेरणाको स्रोतका रूपमा प्रस्तुत गर्दै स्मृतिको महत्व औंल्याए ।
कार्यक्रमको उद्घोषण लक्ष्मण पलिखेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानका आजीवन सदस्य विजय हाछेथुले दिनुभएको थियो अध्यक्ष राजेश हाडाले गीतको पृष्ठभुमिबारे प्रकाश पार्नुभयो भने गायक रवी हाडाले उक्त गीतको लाइभ प्रस्तुति समेत दिनुभएको थियो ।
कार्यक्रममा गीत सिर्जना गर्न सहयोग पुर्याउने कलाकारहरुलाई सम्मान समेत गरिएको थियो।


















