चाँगुनारायण नगरसभाको दोस्रो बैठक सम्पन्न

0
2

भक्तपुर, ३१ असार, २०८३ : चाँगुनारायण नगरपालिकाको १८औँ नगरसभाको दोस्रो बैठक नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत बजेटमाथि विस्तृत छलफल गरिएको थियो। साथै विभिन्न विषयगत समितिका प्रतिवेदन प्रस्तुत गरिनुका साथै विभिन्न ऐन, विधेयक तथा अन्य प्रस्तावहरूमाथि समेत छलफल भएको थियो।

नगरसभाबाट बजेटसहित सार्वजनिक महत्त्वका प्रस्ताव संशोधनसहित सर्वसम्मत रूपमा पारित भएको छ। नगरको समग्र विकास, सुशासन सुदृढीकरण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरिएको जनाइएको छ।

पारित निर्णयअनुसार नगरवासीलाई निःशुल्क मोतियाबिन्दुको आँखाको शल्यक्रिया (अपरेसन) सेवा उपलब्ध गराइने, बर्ड फ्लुबाट प्रभावित कृषक तथा व्यवसायीलाई राहत उपलब्ध गराइने तथा आइतबार विद्यालय र स्वास्थ्य संस्था सञ्चालन गर्न संघीय सरकारसँग अनुरोध गर्ने लगायतका सार्वजनिक महत्त्वका निर्णयहरू गरिएको छ।

साथै नगरको समग्र विकास, सुशासन सुदृढीकरण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा समृद्ध चाँगुनारायण निर्माणका लागि आवश्यक अन्य निर्णयहरू पनि सर्वसम्मत रूपमा पारित भएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, वडाध्यक्षहरू, नगरसभा सदस्यहरू, विषयगत समितिका पदाधिकारी, नगरपालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here