भक्तपुर, असार २० — भक्तपुर नगरपालिका–१० वडा कार्यालयले डेङ्गु, रेबिज तथा बर्ड फ्लुजस्ता सरुवा रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शनिबार वडा कार्यालयको सभाहलमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
वडा अध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा डेङ्गु नियन्त्रण, सरसफाइको महत्व, रेबिज तथा बर्ड फ्लुबाट बच्ने उपायबारे विशेषज्ञहरूले जानकारी दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष ह्यौमिखाले वडा कार्यालयले विगत पाँच–छ वर्षदेखि डेङ्गु नियन्त्रणका लागि निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। गत वर्ष र्यालीमार्फत सचेतना फैलाइएको स्मरण गर्दै यस वर्ष अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।
उहाँले आगामी दिनमा प्रत्येक टोल–टोलमा पुगेर पनि यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय सरसफाइ रहेको उल्लेख गर्नुभयो। घर, आँगन, छत तथा पानी जम्न सक्ने स्थानहरू नियमित सफा राख्न सके एडिज जातको लामखुट्टेको प्रजनन रोक्न सकिने र यसबाट डेङ्गु संक्रमण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ थियो।
डेङ्गु रोग विशेषज्ञ डा. रत्न सुन्दर लासिवाले डेङ्गुको वर्तमान अवस्था, संक्रमण फैलिने कारण, लक्षण, उपचार तथा रोकथामका उपायबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँले डेङ्गु सार्ने एडिज लामखुट्टे सफा र जमेको पानीमा प्रजनन गर्ने भएकाले घर तथा वरपर पानी जम्न नदिन विशेष ध्यान दिन आग्रह गर्नुभयो। ज्वरो, टाउको दुख्ने, आँखा दुख्ने, शरीर तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने लगायतका लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा परीक्षण गराउन उहाँले सुझाव दिनुभयो।
त्यसैगरी पशु सेवा शाखाकी कर्मचारी पार्वती योञ्जनले रेबिज र बर्ड फ्लुबारे जानकारी दिँदै कुकुर तथा बिरालोलाई नियमित खोप लगाउनुपर्ने, जनावरले टोकेमा तत्काल साबुनपानीले घाउ सफा गरी स्वास्थ्य संस्थामा पुग्नुपर्ने बताउनुभयो। बर्ड फ्लुको जोखिम न्यूनीकरणका लागि बिरामी वा मरेका चरासँग प्रत्यक्ष सम्पर्क नगर्न, पोल्ट्री फार्ममा जैविक सुरक्षा अपनाउन तथा शंकास्पद अवस्था देखिएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले डेङ्गु, रेबिज तथा बर्ड फ्लुसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। विज्ञहरूले समुदायस्तरमै जनचेतना विस्तार गर्न सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।
वडा सदस्य जितेन्द्र मुनांकर्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
भक्तपुर नगरपालिका–१० वडा कार्यालयले आगामी दिनमा पनि स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै रोगमुक्त, सुरक्षित र स्वस्थ समुदाय निर्माणका अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।


















