वागीश्वरी माध्यमिक विद्यालयद्वारा ४५७ उत्तीर्ण विद्यार्थीलाई बधाई, उच्च शिक्षाका लागि मार्गनिर्देशन

0
12

भक्तपुर, असार २० — वागीश्वरी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ उत्तीर्ण ४ सय ५७ जना विद्यार्थीलाई शनिबार बधाई तथा मार्गनिर्देशनसहित दीक्षित गरेको छ।

आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले वागीश्वरी देशकै प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा, अनुसन्धानमुखी अध्ययन र विद्यार्थीको समग्र विकासमा संस्थाले विशेष जोड दिएको बताउनुभयो।

उहाँले युवाको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै जुनसुकै देशबाट शिक्षा हासिल गरे पनि त्यसबाट प्राप्त ज्ञान, सीप र अनुभव देश तथा समाजको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। परीक्षा परिणाम छिटो सार्वजनिक गर्नेभन्दा गुणस्तरीय मूल्याङ्कन प्रणाली आवश्यक रहेको उल्लेख गर्दै उहाँले घोकाइभन्दा अनुसन्धान र सिर्जनात्मक शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

नगर प्रमुख प्रजापतिले भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्रका रूपमा स्थापित गर्न नगरपालिकाले अनुसन्धानवृत्ति, शैक्षिक ऋणलगायत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै विद्यार्थीलाई आफ्नो क्षमता, रुचि र लक्ष्यअनुसार भविष्य तय गर्न आग्रह गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापतिले कक्षा १२ पछि विद्यार्थीको जिम्मेवारी थप बढ्ने उल्लेख गर्दै शिक्षा केवल प्रमाणपत्रमा सीमित नभई सीप, संस्कार र सामाजिक उत्तरदायित्वसँग जोडिनुपर्ने बताउनुभयो। वागीश्वरीका विद्यार्थीले अनुशासन, संस्कार र उत्कृष्ट कार्यसम्पादनमार्फत संस्थाको गरिमा अझ उचो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले भक्तपुर जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा वागीश्वरी स्थापित भएको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीबीए, बीसीए र बीआईटी कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि नवीन शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको पनि बताउनुभयो।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले चार वर्षे अध्ययन अवधिमा विद्यार्थीलाई चारवटा प्रमुख क्षमता र व्यावसायिक सीप विकास गर्ने लक्ष्यका साथ शैक्षिक कार्यक्रम सञ्चालन गरिएको बताउँदै उद्यमशीलता प्रवर्द्धनमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको स्पष्ट पार्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले यस वर्ष विज्ञान संकायमा ८५.४ प्रतिशत, व्यवस्थापनमा ७६.५० प्रतिशत, मानविकीमा ८६.६७ प्रतिशत तथा शिक्षा संकायमा ८९.२० प्रतिशत विद्यार्थी ग्रेडेड भएको जानकारी दिनुभयो। उहाँले वागीश्वरीलाई भक्तपुर जिल्लाकै क्यूएए (QAA) गुणस्तर प्राप्त सामुदायिक कलेजका रूपमा उल्लेख गर्दै अध्ययनबाट प्राप्त ज्ञान र सीप समाज तथा राष्ट्र निर्माणमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विद्यालयले श्रम, उत्पादन र व्यवहारिक शिक्षासँग जोडिएका गतिविधिलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। गुणस्तरीय शिक्षासँगै समय र खर्चको बचतका दृष्टिले पनि वागीश्वरी विद्यार्थीको उत्कृष्ट रोजाइ रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टकी विद्यार्थी युनिका तुल्सिवाख्य, तेस्रो वर्षकी विद्यार्थी लक्मी तामाङ तथा कक्षा १२ विज्ञान संकायमा ३.९५ जीपीए प्राप्त विद्यार्थी विमलकुमार थापाले अध्ययन अनुभव साझा गरेका थिए। विद्यार्थीहरूले गीत, संगीत र नृत्य प्रस्तुत गरी कार्यक्रमलाई सांस्कृतिक रूपमा पनि आकर्षक बनाएका थिए।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि तथा अतिथिहरूले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दै उच्च शिक्षाको सफल यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here