एसइई २०८२ का सर्वोत्कृष्ट विद्यार्थी र विद्यालय सम्मान तथा ‘सञ्चार माध्यममा भक्तपुर नपा–भाग २’ पुस्तक सार्वजनिक

0
1

भक्तपुर, असार २० ।

भक्तपुर नगरपालिकाको आयोजनामा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा विद्यालयलाई सम्मान तथा ‘सञ्चार माध्यममा भक्तपुर नपा–भाग २’ पुस्तक सार्वजनिक कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले एसईई २०८२ मा ४ जिपिए हासिल गर्न सफल सर्वोत्कृष्ट विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र तथा शत प्रतिशत उत्तीर्ण गराउन सफल विद्यालयलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गर्नुका साथै भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘सञ्चार माध्यममा भक्तपुर नपा–भाग २’ पुस्तक सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा बोल्दै सचिव सुवालले कुनै पनि संस्थाले गरेका महत्वपूर्ण कामहरू लिखित रूपमा अभिलेखीकरण हुँदा त्यसको ऐतिहासिक महत्व अझ बढ्ने बताउनुभयो ।

उहाँले आत्म प्रशंसाभन्दा रचनात्मक आलोचनाले सुधार गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै पुस्तकमा पत्रकारको दृष्टिकोणबाट भक्तपुरका विविध विषय समेटिनु आफैमा भक्तपुरको लागि सकारात्मक पक्ष भएको बताउनुभयो ।

भक्तपुरको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षण तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले युरोपको भेटिकन सिटी जस्तै योजनाबद्ध ढंगले भक्तपुरको संरक्षण र विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाले गरेका कार्यहरू प्रशंसनीय भए पनि अझ सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीलाई पाठ्यक्रममा मात्र सीमित नराखी देश–विदेशका समसामयिक विषयबारे पनि अध्ययन गराउनुपर्ने, उमेर, जात वा भाषाभन्दा विषयवस्तुप्रतिको गहिरो ज्ञान र योग्यता महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको हितमा काम गर्न तथा नयाँ पुस्तालाई सही मूल्य–मान्यता सिकाउनुपर्ने बताउँदै उहाँले विद्यार्थीहरूमा ऐस–आरामको जीवन खोज्ने प्रवृत्तिभन्दा देशभक्त, जिम्मेवार र कर्तव्यनिष्ठ नागरिक बन्ने सोचको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले सहरलाई अझ व्यवस्थित बनाउँदै घोषणापत्रमा उल्लेख गरिएका बाँकी प्रतिबद्धताहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै सचिव सुवालले घोषणापत्र कार्यान्वयन गर्नु भनेको जनताप्रतिको जवाफदेहिता निर्वाह गर्नु भएको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले भदौ २३ र २४ गतेका घटनाप्रति चिन्ता व्यक्त गर्दै देशमा भएका हिंसात्मक तथा अराजक गतिविधिबारे जिम्मेवार निकायले स्पष्ट जवाफ दिनुपर्ने धारणा राख्नुभयो । देशमा अशान्ति फैलाउने गतिविधिमा संलग्नमाथि कानुनी कारबाही हुनुपर्ने र नयाँ पुस्ताले यस्ता विषयमा सचेत भई आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यस वर्षको एसईई नतिजाले भक्तपुरको शैक्षिक गुणस्तरलाई थप पुष्टि गरेको बताउँदै यस वर्ष भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट १३ जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेको र ७ वटा विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र तथा ‘एक घर, एक स्नातक’ बनाउने अवधारणाले जनप्रतिनिधिहरुलाई काम गर्न थप उत्साहित बनाएको उल्लेख गर्नुभयो ।

उहाँले भक्तपुरले एसईईमा प्राप्त गरेको उपलब्धी प्रशंसनीय भए पनि आगामी वर्षहरूमा नतिजालाई अझ उत्कृष्ट बनाउन सबै पक्षले थप प्रयास गर्नुपर्नेमा जोड दिंदै एसईईपछि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी बाहिरिनुपर्ने अवस्था अन्त्य गर्न भक्तपुर नगरपालिकाले आफ्नै मातहतमा विभिन्न कलेज सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

नगरपालिकाले विद्यालयहरूलाई नियमित अनुदान, शिक्षकका लागि आवश्यक तालिम, अनुसन्धान गर्ने शिक्षक तथा विद्यार्थीलाई अनुसन्धानवृत्ति, साथै आर्थिक अवस्था कमजोर तर जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति लगायतका सुविधा उपलब्ध गराउँदै आएको उहाँले कार्यक्रममा जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सर्वोत्कृष्ट विद्यार्थी सम्मानित गर्न पाउँदा अत्यन्त हर्षित भएको बताउनुभयो । उहाँले विद्यार्थीको मेहनत, अनुशासन र निरन्तर परिश्रमका कारण यो उपलब्धि हासिल भएको उल्लेख गर्दै यसमा विद्यालय, अभिभावक तथा शिक्षक–शिक्षिकाको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले एसईई नै जीवनको अन्तिम गन्तव्य नभई उज्ज्वल भविष्य निर्माण गर्ने यात्राको सुरुआत मात्र भएको उल्लेख गर्दै आगामी अध्ययनमा पनि लगनशील, अनुशासित र लक्ष्यप्रति प्रतिबद्ध भएर अघि बढ्न विद्यार्थीहरूलाई शुभकामना दिनुभयो ।

पुस्तकमाथि भक्तपुर नगरपालिका–५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छें, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई र भक्तपुर मासिकका सम्पादक लक्ष्मणराज जोशीले पुस्तकबारे समीक्षा प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा एभरेष्ट इ. स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी गुणस्तरीय शैक्षिक वातावरण निर्माण गरेको उल्लेख गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने सोच देशभरका स्थानीय तहका लागि उदाहरणीय रहेको बताउनुभयो ।

४.० जीपीए प्राप्त एभरेष्ट इ. स्कूलका विद्यार्थी मनोज्ञ जोन्छें र बागीश्वरी माविका सुविना श्रेष्ठले आफ्नो सफलतामा मार्गदर्शन गर्ने अभिभावक, विद्यालय, शिक्षक–शिक्षिका तथा भक्तपुर नगरपालिकाप्रति हार्दिक धन्यवाद गर्दै सबैको निरन्तर सहयोग, प्रेरणा र अनुकूल शैक्षिक वातावरणका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा शिक्षा शाखाका प्रमुख साधुराम फुयालले स्वागत मन्तव्य राख्दै नगरपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गर्दै शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने तथा गुणस्तरीय शिक्षाको विकासमा थप प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

विद्यार्थी सम्मान

कार्यक्रमका प्रमुख अतिथि प्रेम सुवालले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जीपीए प्राप्त गरी उत्कृष्ट नतिजा हासिल गरेका ११ जना विद्यार्थीलाई सम्मान गर्नुभयो ।

सम्मानित हुने विद्यार्थीमध्ये सैनिक आवासीय महाविद्यालयका सर्वाधिक ४ जना विद्यार्थी रहेका छन् । त्यसैगरी एभरेष्ट इङ्लिस स्कुल र मेधा माध्यमिक विद्यालयबाट २÷२ जना तथा वागीश्वरी माध्यमिक विद्यालय (नियमित), महेन्द्र विद्या आश्रम, जेन्यूइन इङ्लिस सेकेन्डरी स्कुल र गोल्डेन गेट इङ्लिस सेकेन्डरी स्कुल र राजश्री गुरुकुलबाट १÷१ जना विद्यार्थी सम्मानित भएका थिए ।

विद्यालयगत रूपमा सम्मानित हुने विद्यार्थीहरुमा सैनिक आवासीय महाविद्यालयका विविसा भण्डारी, रोमी भूजू, समृद्धि काफ्ले र सिद्धिका कँडेल, एभरेष्ट इङ्लिस स्कुलका नुटन राई र मनोज्ञ जोन्छेँ, मेधा माध्यमिक विद्यालयका प्रनिस ढुंगेल र सेनिस आचार्य, वागीश्वरी माध्यमिक विद्यालय (नियमित) का सुविना श्रेष्ठ, महेन्द्र विद्या आश्रमका एन्जेलिना दुवाल, जेन्यूईन इङ्लिस सेकेन्डरी स्कुलका विन्दी थापामगर, गोल्डेन गेट इङ्लिस सेकेन्डरी स्कुलका रुवि साह मानन्धर र राजश्री गुरुकुलका अश्लेसा खड्का रहेका छन् ।

विद्यालय सम्मान कार्यक्रम

सोही क्रममा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्दै शतप्रतिशत उत्तीर्ण गराउन सफल ७ वटा विद्यालयलाई सम्मान गरिएको थियो । सम्मानित हुने विद्यालयमध्ये मेधा माध्यमिक विद्यालय, श्री पद्म माध्यमिक विद्यालय (सिभिल), मिनर्वा इ. सेकेन्डरी स्कूल, सूर्यविनायक इ. स्कूल, होली गार्डेन इ. सेकेन्डरी स्कूल, बाल विकास इ. सेकेन्डरी स्कूल र लनर्स एकेडेमी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here