मध्यपुर, जेठ ३० — मध्यपुर थिमी नगरपालिका वडा नं. ८ को आयोजनामा जेठ २३ गतेदेखि सञ्चालन भएको सात दिने चित्रकला कार्यशाला शनिबार सम्पन्न भएको छ।
समापन कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ ले कार्यशालामा सहभागी सम्पूर्ण कलाकार तथा आयोजकहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले मध्यपुर थिमी नगरपालिकाभित्र करिब ७५० वटा मूर्त तथा अमूर्त सम्पदा रहेको उल्लेख गर्दै तिनको संरक्षण तथा प्रवर्द्धनका लागि नगरपालिका निरन्तर प्रयासरत रहेको बताउनुभयो। मध्यपुर महोत्सवमार्फत यसको सुरुवात भइसकेको र सांस्कृतिक सम्पदाको संरक्षणले युवापुस्तामा आफ्नो कला, संस्कृति तथा सम्पदाप्रति थप आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो।
नगर प्रमुख श्रेष्ठले नगरपालिकाका प्रत्येक वडामा सातामा एक दिन चित्रकला कार्यशाला सञ्चालन गरी त्यसलाई नगरस्तरीय कार्यक्रमका रूपमा विस्तार गर्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो।
कार्यक्रमका सभापति तथा वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ ले कार्यशाला सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कलाकारहरूले सिर्जना गरेका चित्रहरूको अभिलेखीकरण गरी बुकलेटका रूपमा प्रकाशन गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमले मध्यपुरको पर्यटन विकासमा टेवा पुग्ने तथा पर्यटनमार्फत स्थानीय जनताको आर्थिक रूपान्तरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा Saturday Plein Air and Workshop का दिपेशमान प्रधान ले कार्यशालामा सिर्जना भएका चित्रहरूलाई बुकलेटका रूपमा प्रकाशन गर्न नगरपालिका अघि बढे आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, मध्यपुर थिमी नगरपालिका वडा नं. ८ का नगरसभासद सुरेन्द्र था श्रेष्ठ ले वडा कार्यालयले सञ्चालन गरिरहेका विभिन्न विकास तथा सामाजिक गतिविधिहरूबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा सहभागी कलाकारहरू, जनप्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सात दिनसम्म सञ्चालन भएको कार्यशालामा मध्यपुरका सम्पदा, संस्कृति तथा जनजीवनलाई चित्रमार्फत प्रस्तुत गरिएको थियो।
मध्यपुरको बोडेमा सात दिने चित्रकला कार्यशाला सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















