भक्तपुर, २ साउन — नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुर नगरपालिका–९ दत्तात्रय समितिको आयोजनामा वि.सं. २०२६ असार १९ र वि.सं. २०२५ साउन २ गतेको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन दिवसको स्मरणमा शनिबार सकोलानमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य उकेश कवाँले आर्थिक असमानता कायम रहुञ्जेल भ्रष्टाचार अन्त्य हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले वर्तमान पुँजीवादी व्यवस्थामा व्यक्तिगत धन आर्जनलाई प्राथमिकता दिने मानसिकताले नै भ्रष्टाचारलाई संस्थागत बनाएको बताउँदै भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गरी सरकारीकरण गर्नुपर्नेमा स्वघोषणामार्फत वैधता दिने प्रवृत्ति भ्रष्टाचारलाई संरक्षण गर्ने कार्य भएको उल्लेख गर्नुभयो।
उहाँले सामन्त तथा पुँजीपति वर्गको हितअनुकूल कानुन निर्माण हुनु पनि भ्रष्टाचारकै स्वरूप भएको बताउँदै नेमकिपाले पाँच दशकभन्दा अघिदेखि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दै आए पनि वैज्ञानिक समाजवाद स्थापना नभएसम्म यसको स्थायी समाधान सम्भव नहुने दाबी गर्नुभयो।
कवाँले जनताले तिरेको करमा छुट दिने, कर छल्ने तथा सार्वजनिक स्रोतको दुरुपयोग गर्ने कार्यलाई गम्भीर अपराधको संज्ञा दिँदै वर्तमान सरकारले ठूला भ्रष्टाचारका घटनालाई ढाकछोप गर्न साना–साना कारबाहीको नाटक गरिरहेको आरोप लगाउनुभयो। उहाँले विदेशी शक्तिहरूले नेपालको प्राकृतिक स्रोत–साधन दोहन गर्न युवापुस्तालाई भ्रष्टाचारतर्फ उन्मुख गराउने प्रयास गरिरहेको समेत बताउनुभयो।
कार्यक्रममा नेमकिपाका भक्तपुर नगर प्रतिनिधि राम प्रजापतिले भ्रष्ट आचरण नै भ्रष्टाचारको मूल आधार भएको उल्लेख गर्दै इतिहासबाट शिक्षा लिएर नयाँ पुस्ताले विगतका आन्दोलन र घटनाबारे जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भ्रष्टाचारकै कारण विभिन्न राजनीतिक तथा जनवर्गीय संगठनहरू विभाजन गराइएको उदाहरण प्रस्तुत गर्नुभयो।
त्यसैगरी नेमकिपा भक्तपुर–९ का अध्यक्ष कृष्णभक्त लवजूले विदेशी सहयोग र ऋणमा आधारित विकासले देश समृद्ध हुन नसक्ने बताउँदै भ्रष्टाचारविरोधी आन्दोलन र मोहियानी हक आन्दोलनले भक्तपुरका जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गर्नुभयो।
नेमकिपा भक्तपुर–९ दत्तात्रय समितिका अध्यक्ष नातिभाइ ह्योम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव रामकृष्ण प्रजापति र कोषाध्यक्ष के.बी. प्रजापतिले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।
भ्रष्टाचारविरोधी आन्दोलन दिवसको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















