भक्तपुर, १० असोज । भक्तपुर योङ्ग सर्कलको पुनर्गठन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा सुवालले संगठनको उद्देश्य र सिद्धान्तप्रति दृढ रहँदै निरन्तर क्रियाशील हुनुपर्ने बताउनुभयो। उहाँले अनुभवी सदस्यले नयाँ पुस्तालाई मार्गनिर्देशन गर्दै संस्था थप व्यवस्थित र सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।
सुवालले भक्तपुर योङ्ग सर्कलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको शहिद स्मृति खेल मैदानको निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्नुपर्ने बताउनुभयो। खेल मैदानको कानुनी समस्या समाधान गर्दै निर्माण कार्यलाई तत्काल अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष तथा सर्कलका सल्लाहकार विनोदचरण रायले भक्तपुरले नेपालको भलिबल विकासमा पुर्याएको योगदानबारे चर्चा गर्दै शहिद स्मृति खेल मैदान निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्नुभयो।
सर्कलका पूर्वअध्यक्ष रविन्द्र खर्बुजा, आसराम वैद्य, सल्लाहकार श्यामसुन्दर माताङलगायतले क्लबको इतिहास, गतिविधि र आगामी योजनाबारे धारणा राख्नुभयो।
कार्यक्रममा राजन जतिको अध्यक्षतामा नयाँ १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा रामसुन्दर सुजखु, सचिवमा पुण्यराम स्वंगमिखा र कोषाध्यक्षमा सन्दिप खर्बुजा चयन हुनुभएको छ। सदस्यहरूमा रामसुन्दर माताङ, वीरेन्द्र वैद्य, इन्द्रभक्त पंच, विकास खर्बुजा, निरोज वैद्य, प्रज्वल खत्री, रमा माताङ, विकास बोयजु र राकेश माताङ चयन हुनुभएको छ।
शहिद स्मृति खेल मैदान निर्माणमा ढिलाइप्रति चिन्ता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

















