भक्तपुर, कार्तिक १६ । रोटरी क्लब अफ भक्तपुरको आयोजनामा तीनदिने रोटरी पुस्तक प्रदर्शनी २०८३ आइतबार समापन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि District Goverment of Rotary का DG विष्णु वहादुर कार्कीले भक्तपुर रोटरी क्लबको पुस्तक प्रदर्शनी कार्यक्रम एउटा विशेष तथा नौलो र सृजनात्मक कार्यक्रम भएको बताउँदै रोटरी कै इतिहासमा पुस्तक प्रदर्शनी पहिलो र सफल कार्यक्रम भएको जानकारी दिनुभयो ।
उहाँले २ दिन मौसमले साथ नदिएपनि पुस्तक प्रेमीहरुले देखाएको विश्वास, सद्भाव, उदारता र सहयोगले नै यो कार्यक्रमलाई सफलताको उचाइमा पुर्याउन सम्भव भएको बताउँदै पुस्तक केवल ज्ञानको स्रोत मात्र नभई समाज परिवर्तन र सभ्य भविष्य निर्माणको आधार पनि हो भन्नुभयो ।
उहाँले यस प्रदर्शनीमार्फत पठन संस्कृतिको विकास, नयाँ पुस्तामा पुस्तकप्रतिको रुचि अभिवृद्धि तथा भक्तपुरको कला, संस्कृति र साहित्यको प्रवर्द्धनमा केही सकारात्मक योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा भक्तपुर नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेले बीस वर्ष अघि भक्तपुरमा गरेको पुस्तक प्रदर्शनीको स्मरण गर्दै पुस्तक प्रदर्शनीले विद्यार्थी तथा सिकारुलाई अझ अध्ययन गर्ने प्रेरणा दिन्छ भन्नुभयो ।
उहाँले ससाना विद्यार्थीले पुस्तक नै नकिने पनि पछिसम्म यस्ता कार्यक्रमहरु सम्झिने बताउँदै पुस्तक प्रदर्शनीमा पठन संस्कृति बारे अन्तरक्रिया, गजलबाचन, कविताबाचन कार्यक्रम कार्यक्रमले अझ शोभा बढाएको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा रोटरी क्लव अफ भक्तपुरका अध्यक्ष दसरथ प्रजापतिले धेरै जना साथीहरूको सहयोगमा पुस्तक प्रदर्शनी कार्यक्रम सफल भएको बताउँदै मोबाइल, टिभीजस्ता ग्याजेटहरूको लत छुटाएर किताब अध्ययन गर्ने बानीको विकास सानो बेलादेखि होस भनेर कार्यक्रम आयोजना गरेकाे बताउनुभयो ।
रोटरी क्लब अफ भक्तपुरको आयोजनामा सम्पन्न रोटरी पुस्तक प्रदर्शनी २०८३ लाई सफल, भव्य र उपलब्धिमूलक बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति रोटरी क्लबको तर्फबाट मायाको चिनो प्रदान गरिएको छ ।


















