भक्तपुर, मंसिर ५ । सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा शनिबार भक्तपुरको खँचास्थित सिद्धि गणेश तालिम हलमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राजभाई माकको सभापतित्वमा सम्पन्न सभाको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा एकान्त कुमारी सांस्कृतिक खलले बाँसुरी बाजाको सुमधुर धुन प्रस्तुत गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कवांले सहकारी संस्थाको विकासले मात्र देशको समग्र आर्थिक समस्या समाधान नहुने बताउनुभयो। उहाँले देशमा ठूलो परिमाणमा रेमिट्यान्स भित्रिए पनि सहकारीमा संकलित पुँजी उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको बताउनुभयो। युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले उद्योग तथा व्यवसाय प्रवर्द्धनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको टिप्पणी गर्नुभयो।
पुँजीवादी व्यवस्थाका कारण विश्वमा समय–समयमा आर्थिक संकट उत्पन्न हुने गरेको उल्लेख गर्दै उहाँले उत्पादन वृद्धि र आर्थिक गतिविधिमा तीव्रता नल्याएसम्म देशको विकास सम्भव नहुने बताउनुभयो। आर्थिक विकाससँगै राजनीतिक चेतना र आर्थिक अनुशासन पनि आवश्यक रहेको उहाँको भनाइ थियो। सहकारीलाई सही दिशामा अगाडि बढाउन सदस्यहरूको सक्रिय भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले साधारण सभालाई भत्ता लिने औपचारिकतामा मात्र सीमित नगरी संस्थाको आर्थिक तथा सामाजिक विकासबारे गम्भीर छलफल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
विशेष अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी प्रतिनिधि चन्डिका छुकांले सहकारी संस्था बचत तथा ऋणको कारोबार गर्ने माध्यम मात्र नभई सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउने संस्था भएको बताउनुभयो। पछिल्लो समय सहकारीप्रतिको जनधारणा परिवर्तन हुँदै गएको उल्लेख गर्दै उहाँले साधारण सभामार्फत सदस्यहरूले संस्थाको वास्तविक आर्थिक अवस्था र गतिविधिबारे जानकारी लिनुपर्ने बताउनुभयो।
संस्थाका सल्लाहकार नाती कवांले युवाहरू विदेशिने क्रम बढ्दा स्वदेशमा वृद्धवृद्धा मात्र रहने अवस्था सिर्जना भइरहेको बताउनुभयो। आफूसँग भएको पुँजी घरजग्गामा मात्र लगानी नगरी कृषि तथा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्ने उहाँको सुझाव थियो।
त्यसैगरी, अर्का सल्लाहकार विश्वराम कवांले वि.सं. २०१३ सालमा चितवनको बखानपुरबाट सुरु भएको नेपालको सहकारी अभियानले सात दशक पार गरिसक्दा पनि बढी ब्याज र रोजगारीको प्रलोभनमा सर्वसाधारण ठगिने क्रम नरोकिएको बताउनुभयो। सुकुन्दा साकोस समुदायमा आधारित संस्था भएकाले सदस्य तथा समुदायको आर्थिक उन्नतिका लागि निरन्तर क्रियाशील हुनुपर्ने उहाँले बताउनुभयो। सभामा सल्लाहकार विष्णुभक्त मारिखुलगायत विभिन्न मित्र सहकारी संस्थाका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सभामा संस्थाका सचिव सूर्यराम त्वानाबासुले आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल २ हजार ६५ जना सदस्य आबद्ध रहेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाको कुल सम्पत्ति तथा दायित्व ४३ करोड ९६ लाख ३० हजार ५३७ रुपैयाँ १ पैसा रहेको छ।
त्यसैगरी, कोषाध्यक्ष श्रीकृष्ण गोसाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले २८ करोड ९८ लाख ८८ हजार ४९६ रुपैयाँ ६६ पैसा ऋण प्रवाह गरेको र सदस्यहरूबाट ६२ करोड ९६ लाख २१ हजार ५७३ रुपैयाँ ९२ पैसा बचत तथा निक्षेप संकलन गरेको जानकारी दिनुभयो। लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामप्रसाद कोजूले संस्थाको तुलनात्मक प्रगति विवरण प्रस्तुत गर्दै अघिल्लो अवस्थाको तुलनामा संस्थाले समग्रमा २४ दशमलव ५३ प्रतिशत प्रगति हासिल गरेको बताउनुभयो।
“आर्थिक स्वतन्त्रता र विकासका लागि सहकारिता” भन्ने मूल नाराका साथ वि.सं. २०६४ साल कार्तिक ३० गते संस्थापक अध्यक्ष कान्छा कासिछ्वाको नेतृत्वमा २५ जना सदस्यबाट सुकुन्दा बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष केशव कवांले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालक समिति सदस्य निर्जला प्रजापतिले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सानुकाजी चिकंबन्जारले गर्नुभएको थियो।


















