श्री गणेश मावि छालिङमा लोकनृत्य प्रतियोगिता

0
26
श्री गणेश मावि छालिङमा लोकनृत्य प्रतियोगिता

भक्तपुर, मंसिर ६ । सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्यतालिका अनुसार श्री गणेश माध्यमिक विद्यालय, छालिङको आयोजनामा विद्यालय प्राङ्गणमा लोकनृत्य प्रतियोगिता सम्पन्न भयो। उक्त कार्यक्रममा समितिमा आबद्ध १५ वटा विद्यालयले विभिन्न क्षेत्रका लोकगीतमा भेषभूषा, शृङ्गार र संस्कृति परम्परा झल्किने झाँकीसहित मारुनी, झोडा, मेचे, कुलुङ, थारु, टप्पा, साकेला, तामाङ सेलो, धिमे नृत्य र मयूर नृत्यमा प्रतिस्पर्धा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथिले यस्ता प्रस्तुतिमा सफल भएजस्तै अध्ययनमा पनि प्रतिस्पर्धा गरी उत्कृष्ट हुन शुभकामना दिनुभयो।

​संयुक्त प्रशासन समितिले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै आगामी दिनमा पनि उच्च मनोबलसहितको प्रस्तुति दिनेमा विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी अतिथि बासु माविका प्रधानाध्यापक रविलाल प्रधानले आजको प्रस्तुति पेसागत कलाकारको प्रस्तुतिभन्दा कम नभएको बताउनुभयो।

​निर्णायकहरू अमर कृष्ण चन्द र दीपक काजी बज्राचार्यबाट प्रतिस्पर्धाको नियमबमोजिम शृङ्गार, भेषभूषा, हाउभाउ, समय व्यवस्थापन, मञ्च व्यवस्थापन, मौलिक संस्कृति र सुरताल समेतका आधारमा निर्णय गरिएको उक्त प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय क्रमशः आदर्श आजाद मावि, वागीश्वरी मावि र सरस्वती विद्यागृह मावि हुन सफल भएका थिए। उक्त कार्यक्रममा विद्यालयका पूर्वशिक्षक हरिनारायण लागेजू तथा पूर्वविद्यार्थीद्वय बाबुकाजी दथेपुथे र संविदा पलिस्था लागेजूले बाँसुरीको धुन प्रस्तुत गर्नुभएको थियो। साथै, विद्यार्थीहरूले धिमे तथा बाँसुरीको धुनमार्फत अतिथिहरूलाई स्वागत गरेका थिए।

​विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर फोजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रामकृष्ण त्यात र शिक्षक लक्ष्मीनारायण लिगलले पनि बोल्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here