अर्जुन कोन्दा
पाँचतले मन्दिरको सिँढीमा रहेका खुड्किलाहरु चढ्दै गर्दा कहिलेकाँही म आफैैँ अचम्मित हुन्छु । खुड्किलाको दाँया बाँया हेदाँ ढुङ्गाका सुन्दर मूर्तिहरु देख्छु । ती मूर्तिहरुबीच आपसमा सम्बन्ध छ जस्तो लाग्छ । तर भन्न सक्दिनँ । मैले घरमा पाँचतले मन्दिर भनेर कहिल्यै उच्चारण गरिनँ । घरमा सबैजना ङातापोल भन्छन् । कोहि न्यातापोल भन्छन् । राजा भूपतिन्द्र मल्लबाट केवल सात महिना भित्र ने.स. ८२२ कार्तिक देखि ने.स. ८२२ जेष्ठ ६ मा ङातापोल बनेको रहस्य विकिपिडियामा हेरेर थाहा पाउँदा ्नमज्जा लाग्यो । यस मन्दिरको निर्माणमा छालिङ, जितपुर, वागेश्वरी, सक्क, झौखेल आदि ठाउँका मानिसहरुले सहयोग गरेको कुरा विभिन्न वेभसाइटहरुमा उल्लेख छ। शहरका मुख्य मुख्य भूकम्पमा समेत नभट्केको यो मन्दिरको संरचना मेरो लागि रहस्यकोे गर्भ लाग्छ। ललितपुरको कुम्भेश्वर मन्दिर र भक्तपुरको ङातापोल मात्र काठमाण्डौँ उपत्यकाका दुई पाँच तले मन्दिरहरु हुन् । स्थानिय भाषामा तमारी अर्थात टौमढीमा अवस्थित यो मन्दिर हेर्न पर्यटकहरु लालायित हुन्छन् ।
मेरो छोरी मलाई ङातापोलबारे प्रश्न गरेर र्याखर्याखती पार्छे । उसले स्थानिय पाठ्यक्रममा यसबारे सुनेको रहेछ । म भने जवाफ दिन नसकेर छट्पटाउँछु ।
मलाई दुः ख लाग्छ , मैले भक्तपुरमै जन्मेर पनि ङातापोललाई राम्ररी चिनेको छैन । उही मन्दिर जसले भक्तपुर नगरलाई थने र क्वने भनेर दुई भागमा विभाजित गरेको कुरा बिस्का जात्रा मनाउँदा मात्र थाहा पाउँछु । १०८.२६ फिट अग्लो यो मन्दिरमा मैले कहिल्यै भित्र छिर्न पाएको छैन र नपाउनुको कारण पनि थाहा छैन । सुन्छु,, वर्षको एक पटक भुसाराँ गर्दा त्रिकोणात्मक झण्डा फहराउन कर्माचार्य पुजारीहरुले मन्दिर प्रवेश गर्छन् । कोहि यसलाई तान्त्रिक देवी सिद्धि लक्ष्मी पनि भन्छन् । कोहि भैरवनाथको मन्दिरसँग यसको कथा जोड्छन् । तर मलाई कुनै कथा आउँदैन ।
अरु मन्दिरमा जस्तो शिलालेख नभेटिएको ङातापोल मन्दिरको शिलालेख बिग्रिएको अवस्थामा इतिहासविद् पुरुषोतम लोचन श्रेष्ठले भक्तपुर दरबार क्षेत्रमा भेटाएको बारे सुनेको छु । अझ हाम्रो इतिहास अन्य थुप्रै विदेशी वेभसाइटहरुमा लुकेर बसेका छन् । तर म अभागीलाई खुड्किलामा भएका प्रस्तर मूर्तिहरुको सम्बन्धबारे थाहा छैन ।
खुड्किलाको सुरुको भागमा दुई पहलमानहरु जय र पताका मूर्तिहरु छन् । त्यसमाथि हात्तीका मूर्तिहरु छन् । हात्तीभन्दा माथि सिँहका मूर्तिहरु छन् । अनि त्यसमाथि नेवारी किवदन्तीअनुसार सार्दूलको प्रस्तर मूर्ति छन् । सबैभन्दा माथि सिंहिनी र व्याघ्रिनी देवीका मूर्तिहरु छन् । मन्दिरको चारकुनामा गणेशका मन्दिरहरु छन् ।
तर मैले आजसम्म न सार्दूलबारे सुनेको छु न सिंहबारे ।ती यथार्थ हुन् या परिकल्पना भन्ने पनि थाहा छैन । म एक भक्तपुरे, जसलाई भक्तपुरबारे केहि थाहा छैन । मेरोे नगरको इतिहास मैले पढेको किताबको पानामा थिएन । बरु ती इतिहास विदेशी शोध ग्रन्थमा छन् । मलाई मेरै देशको पाठ्यक्रमले विदेशी बनायो ।
मलाई लाग्छ, सार्दूृलकै बारेमा एउटा शोध बन्न सक्छ । त्यस्तै सिंहको मूर्तिलाई हेरेर छुट्टै कथा बुन्न सकिन्छ । भुकम्पले नभेट्ुनुमा अर्को अनुसन्धान हुन सक्क्छ । सिंहिनी व्याघ्रिनी देवी बाट इतिहासलाई धर्मसँग जोड्न सकिन्छ । मन्दिरमा रहेका टुँडालबारे त मलाई रतिभरको ज्ञान छैन । मेरो इच्छा पूरा गर्न मलाई देशको विद्यालयले साथ दिएन । जति एक पर्यटकलाई थाहा छ, त्यसको एक चौथाइ पनि मलाई थाहा छैन।
भक्तपुरे किसान मजदूर विश्वविद्यालय गएको हिजोको राज्यले हेर्न चाहेको थिएन र स्थापना हुन लागेको विश्व विद्यालयहरु किसानलाई भड्काएरै भएपनि अन्यत्रै सारिए । खर्पन बोक्नेले लायकुबारे चासो राखेको हिजोका संभ्रान्त शासकहरुले हेर्न चाहेनन् । फलत हाम्रा थुप्रै अमूर्त मूर्त सम्पदाहरु ओझेलमा परे भने यहाँको इतिहास विदेशीले लेख्न तह सम्म हामी पुग्यौँ । अनि म ङातापोलबारे जान्न विकिपेडिया खोल्ने अवस्थामा पुगेँ । धन्य, ङातापोल मन्दिरको साँचो नेपालीहरुसँगै रहेछ । पशुपतिनाथको मन्दिरजस्तै अन्यको हातमा पुग्ला भन्ने मनमा डर छ ।
आज ख्वप विश्वविद्यालय विधेयकलाई पनि विभिन्न बहानामा रोकिने प्रयासहरु भइरहेका छन् । भक्तपुर नगरपालिकाका प्रमुखले ख्वप विश्वविद्यालय विधेयक सरकारको अगाडि नागपासको गोटि बनेको सुनाउँदा मन दुखेको छ । हिजो हामीले स्थापना हुन लागेका अन्य विश्वविद्यालयरु गुमायौँ , गुमाइसक्यौँ । तर आज हामीले ख्वप विश्व विद्यालय गुमायौँ भने हामीले धेरै कुरा गुमाउने स्पष्ट छ । भ्रष्ट र शोसक शासकले जनताको कहिल्यै भलो चाहदैन , यदि चाह्यो भने उसलाई पतनको डर हुँदोरहेछ । हाल ख्वप विश्वविद्यालयले पनि राज्यबाट यस्तै नियति भोग्नु परेको छ ।
ङातापोलको खुड्किला चढ्दै गर्दा मनमा कुरा खेलिरह्यो, कतिखेर माथि पुगेछु यादै भएन । जब माथि पुगेँ झल्याँस्स भएँ । किनकी म ङातापोल जस्तो एक सुन्दर सांस्कृतिक सम्पदामा पाइला टेकिरहेको थिएँ,, जुन् आफैमा विश्वविद्यालय सरह छ। मैले त्यहाँ गएर अझै पढ्न बाँकी छ र थुप्रै ज्ञानगुणका नयाँ कुरा सिक्न बाँकी छ । ख्वप विश्व विद्यालयले मेरो आशा पूरा गर्नेछ भन्ने मेरो विश्वास छ । ङातापोलले बढाएको म, मेरो नगर र मेरो देशको कद उक्त विश्वविद्यालयले थप बढाउने छ भन्नेमा म ढुक्क छु । मैले ङातापोलबारे जान्न विदेशी ग्रन्थहरुमा जानु नपर्ने विश्वास लिएको छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
+1
+1
+1


















