भक्तपुर क्रिकेटको नयाँ संकल्प, नयाँ ऊर्जा !

0
60

भक्तपुर क्रिकेटको नयाँ संकल्प, नयाँ ऊर्जा !

भक्तपुर । नेपाल क्रिकेट संघको विधान बमोजिम भक्तपुर जिल्ला क्रिकेट संघको “वार्षिक साधारण सभा” आज भक्तपुरमा संघका कार्यसमिति अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा सम्पन्न भयो।

सभाले विगत वर्षका उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनमा भक्तपुर क्रिकेटलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र संस्थागत बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा अध्यक्ष डा. पाण्डेले प्रतियोगितात्मक क्रिकेटको विस्तार, भौतिक पूर्वाधार विकास, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, अनुसन्धान र कार्यशाला जस्ता कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो।

यस अवसरमा संघका सदस्य श्री राजेश कुमार ठाकुरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव श्री संजय बस्नेतले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष श्री कवि खागीले वार्षिक आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो।

सभाले प्रस्तुत प्रतिवेदनहरूमाथि विस्तृत छलफल गर्दै आ.व. २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन अनुमोदन, आ.व. २०८२/०८३ का लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, साथै आगामी वार्षिक कार्यक्रम, कार्ययोजना तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

सम्मान तथा पुरस्कार:
उक्त अवसरमा उत्कृष्ट खेलाडीहरूलाई सम्मानसमेत गरिएको छ। भक्तपुरका श्री शौरभ साखकर्मीलाई “वर्ष पुरुष खेलाडी २०८१/०८२” तथा सुश्री पूजा साउदलाई “वर्ष महिला खेलाडी २०८१/०८२” घोषणा गर्दै जनही रु. १०,००० नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

त्यसैगरी, विभिन्न प्रतियोगिताको आयोजना तथा सहभागितामा सहयोग र प्रायोजन गर्ने एन.सी.सी.एस ग्रुप, बाजेको सेकुवा, सशिला मोटर्स, A3 Impressions तथा सहारा राष्ट्रिय विद्यालयलाई कदर–पत्र प्रदान गरिएको छ। संघका अध्यक्ष डा. पाण्डे, उपाध्यक्ष श्री धर्म सुन्दर शाक्य लगायतले पुरस्कार तथा कदर–पत्र वितरण गर्नुभएको थियो।

सोही अवसरमा मकवानपुरमा आयोजना हुने Bagmati Cup T20 Cricket Tournament, 2083 मा सहभागी हुने भक्तपुर जिल्ला पुरुष सिनियर टोलीलाई विदाई तथा शुभकामना प्रदान गरियो। साथै, Bagmati Province U19 Women’s Selection Cricket Tournament, 2083 को फाइनलमा प्रवेश गरेको भक्तपुर जिल्ला महिला U19 टोलीलाई विशेष बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

सभामा गत आर्थिक वर्षमा सम्पन्न क्रिकेट गतिविधिहरूको समग्र समीक्षा गर्दै आगामी दिनमा जिल्लामा क्रिकेटप्रति आम जनचासो वृद्धि गर्ने, तल्लो तहदेखि खेलाडी उत्पादन प्रणालीलाई सुदृढ बनाउने तथा क्रिकेट विकासलाई संस्थागत रूपमा अघि बढाउने विषयमा विशेष जोड दिइएको थियो। साथै, स्तरीय क्रिकेट प्रतियोगितालाई निरन्तरता दिँदै विद्यालय तथा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तथा क्रिकेट विकासमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई क्रमिक रूपमा सम्मान गर्ने निर्णयसमेत गरिएको छ।

भक्तपुर क्रिकेटको समग्र विकास, संस्थागत सुदृढीकरण तथा नयाँ पुस्तामा क्रिकेटप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यसहित संघ आगामी दिनमा अझ सक्रिय र परिणाममुखी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here