सरकारको शैक्षिक निर्णयविरुद्ध भक्तपुरमा अभिभावकको कडा विरोध

0
98

भक्तपुर, २०८३ बैशाख ३ । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिले नेपाल सरकार मन्त्रिपरिषद्को हालैका शैक्षिक निर्णयहरू अव्यवहारिक रहेको भन्दै सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा ज्ञापन–पत्र बुझाएको छ।

अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएको टोलीले मिति २०८२ चैत १२ गतेको निर्णयअनुसार बैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र २१ गतेदेखि कक्षा सुरु गर्ने तथा मिति २०८२ चैत २३ गतेको निर्णयअनुसार सबै शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था व्यावहारिक नभएको उल्लेख गर्दै आपत्ति जनाएको हो।

ज्ञापन–पत्र बुझाउँदै अध्यक्ष प्रजापतिले प्रत्येक वर्ष भर्ना अभियानका क्रममा विभिन्न जटिलता सिर्जना हुने गरेको र त्यसले अभिभावकलाई बालबालिकालाई विदेश पठाउन बाध्य पार्ने अवस्था निम्त्याउने गरेको बताए। उनले माध्यमिक शिक्षा सञ्चालन स्थानीय तहको एकल अधिकार भएको उल्लेख गर्दै संघीय सरकारले निर्णय थोपर्नु स्वायत्तता र विकेन्द्रीकरणको सिद्धान्तविपरीत भएको धारणा राखे।

उनले वर्तमान आर्थिक मन्दी, अन्तर्राष्ट्रिय परिस्थितिलगायत कारण अभिभावकहरूको रोजगारी, व्यापार तथा दैनिक जीवन प्रभावित भएको अवस्थामा दुई दिन बिदा लागू गर्दा बालबालिकाको हेरचाह र निगरानीमा समस्या उत्पन्न हुने बताए। बिहान ९ बजे विद्यालय सञ्चालन हुँदा मजदुरी गर्ने अभिभावकहरूले आफ्ना बालबालिकालाई बिहानै तयार पार्नुपर्ने बाध्यता सिर्जना भई रोजीरोटीसमेत प्रभावित हुने उनले उल्लेख गरे।

अध्यक्ष प्रजापतिका अनुसार आइतबारसमेत बिदा दिँदा पठनपाठनका दिन घट्ने र पाठ्यक्रम समयमै सम्पन्न गर्न कठिन हुने अवस्था आउनेछ। कक्षा समय लम्ब्याउनुपर्दा बालबालिकाको मानसिक अवस्था, एकाग्रता र सिकाइ क्षमतामा नकारात्मक असर पर्ने उनको भनाइ थियो। विभिन्न अध्ययनअनुसार बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमता सीमित समयसम्म रहने हुँदा लामो समयसम्म निरन्तर कक्षा सञ्चालन प्रभावकारी नहुने उनले बताए।

ज्ञापन–पत्र बुझ्दै सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले अन्तर्राष्ट्रिय परिस्थितिका कारण इन्धन आपूर्ति प्रभावित हुँदा त्यसको व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको हुनसक्ने बताए। उनले स्थानीय तहको अधिकारसँग सम्बन्धित विषय भए पनि संघीय संरचनासँग जोडिएको उल्लेख गर्दै अभिभावकहरूको जायज मागबारे नगरप्रमुखसमक्ष पेश गरी शिक्षा समितिमा छलफल गरिने जानकारी दिए।

यसैगरी, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सरकारको निर्णय कार्यान्वयन गर्नु कर्मचारीको दायित्व भए पनि प्राप्त ज्ञापन–पत्रलाई नगरप्रमुखसमक्ष पेश गरी आवश्यक छलफल गरिने बताए। शिक्षा निर्देशक जनार्दन रिजालले आर्थिक वर्ष र शैक्षिक सत्रलाई एकरूप बनाउन प्रयासस्वरूप यस्तो निर्णय आएको हुनसक्ने उल्लेख गर्दै ज्ञापन–पत्र शिक्षा मन्त्रालयसम्म पुर्‍याइने बताए।

कार्यक्रममा सहभागी सन्तराम दुलालले लामो बिदाका कारण बालबालिकामा मोबाइल तथा टेलिभिजनको दुरुपयोग बढ्ने, अध्ययनबाट टाढा हुने तथा व्यवहारमा नकारात्मक असर पर्ने जोखिम औंल्याए।

त्यसैगरी, सहसचिव राजकुमार लघुले भर्ना अभियान र कक्षा सञ्चालनको मिति अव्यवहारिक रहेको उल्लेख गर्दै नयाँ शैक्षिक सत्र बैशाख संक्रान्तिदेखि नै सुरु गर्नुपर्ने माग गरे। कार्यक्रममा अभिभावक संघका सचिव आशाराम सुवाल र कोषाध्यक्ष कृष्णप्रसाद दुमरुको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here