भक्तपुर, २०८२ बैशाख २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका निवर्तमान अध्यक्ष मणिरत्न बज्राचार्यले ज्ञापन–पत्र पढेर बुधबार व्यासी, भक्तपुर नगरपालिकाको प्रमुखको कार्यकक्षमा बुझाउनुभयो ।
ज्ञापन पत्र बुझ्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शैक्षिक क्षेत्र विद्यालय जस्तो अति संवेदनशील क्षेत्रमा सरोकारवालासंग छलफल नै नगरी आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित भएको बताउनुभयो । उहाँले संघ सरकारले आफ्नो निर्णय लाड्ने भन्दा पनि व्यवहारीक नभएको र स्थानीय तहको अधिकार कतौति गर्न खोजेको बताउँदै भक्तपुर नगरपालिकाले के गर्ने भन्ने विषयमा विभिन्न समुदायक र संस्थागत विद्यालयहरुसंग छलफल चलाई रहेको र विदा र कक्षा संचालन बारे विभिन्न स्थानीय तह नगरपालिका र गाउँपालिकाहरुमा कसले के निर्णय गरेको छ संकलन गरी अध्ययन गरिरहेको बताउनुभयो । उहाँले माध्यामिक विद्यालय संचालन गर्ने एकल अधिकार स्थानीय तहको भएकोले ति विद्यालयहरु संचालन गर्ने, विदा दिने र एसईई समेत संचालन गर्ने नगरपालिका र गाउँपालिकाहरुलाई भएको बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपालका अध्यक्ष रामकृष्ण प्रजापतिले विभिन्न विद्यालयका अभिभावकहरु र संस्थागत विद्यालयका साथीहरुले भर्ना अभियान र कक्षा संचालन गर्ने र आइतबार विदा प्रभावकारी नभएकोले यसबारे अभिभावक संघका साथीहरुले आवाज उठाउनुपर्ने सरसल्लाह अनुसार आजको यो ज्ञापन पत्र प्रस्तुत गरेको बताउनुभयो ।
अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ :– अभिभावकहरूमा शिक्षा विना चौतर्फी विकास नहुने चेत खुलि सकेको छ । आफूले खाई नखाई वा आधा पेट भोकै बसेर वा आफ्नो छाक काटेर भएपनि आफ्ना बालबालिकाको भविष्यको लागि शिक्षामा लगानी गरिरहेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, आर्थिक मन्दि र अमेरिका इजरायलले इरान माथि गरेको आक्रमणको कारण अभिभावकहरूको मजदुरी, नोकरी, व्यापार–व्यवसाय आदि कामले खान लाउन धौ धौ परेको अवस्था छ ।
वर्तमान सरकारले पनि विद्यालय संचालनबारे विस्तृत अध्ययन नै नगरी शनिवार र आइतबार विदा दिने निर्णय गर्नु खोतपूर्ण छ । सरकारले भनेजस्तै विद्यालयहरूमा शनिबार र आइतबार बिदा दिने निर्णयले विद्यार्थी, अभिभावक तथा समग्र शैक्षिक प्रणालीमा पार्ने प्रभावप्रति हाम्रो अभिभावक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
विद्यालय समय तालिका परिवर्तनले अभिभावकहरूलाई आफ्ना बालबालिकाको उचित व्यवस्थापन गर्न कठिनाइ उत्पन्न हुनेछ । विशेषगरी कामदार अभिभावकहरूका लागि बिदाको दिनमा बालबालिकाको हेरचाह, निगरानी कसले गर्ने भन्नेचिन्ता थपेको छ । बिहान ९ बजेदेखि विद्यालय संचालन गर्दा मजदुरी गर्ने अभिभावकहरु आफ्नो काम छोडेर बालबालिकाहरुलाई ७ बजे नै तयार गर्नु पर्ने अवस्था आउँछ । विदाको समयमा बालबालिकहरुमा मोबाइल र टिभीको कुलतमा परेर अध्ययनबाट टाढा हुने र एकहोरो हुने जोखिम छ । जसले अतिज्म जस्ता रोगले नयाँ पुस्ताका बालबालिका समस्यामा पर्ने देखिन्छ । एकदिनको विदाले त बालबालिकाले कति सताउँछन् भने दुई दिन अर्थात शनिवार र आइतबारको विदाले कस्तो गर्ला अभिभावकहरुलाई चिन्ता बढ्नु स्वभाविक हो ।
धेरै बिदाले विद्यार्थीहरुको पढाई विग्रन सक्ने र बानी—व्यवहार विग्रने र कुलतमा फस्न सक्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले पनि हामीले बिद्यार्थीहरुको भविष्य माथि खेलवाड हुने कुनै पनि निर्णय गर्दा व्यापक अभिभावकहरुको हित र अभिभावकहरुसँग छलफल र समन्वयमा निर्णयहरु गर्दा राम्रो हुने हाम्रो अनुरोध छ ।
आइतबार विदा नदिँदा समेत कोर्स पुरा गर्न गार्हो भई रहेको बेलामा थप विदाले पढाइ समय घट्न गई पाठ्यक्रम पुरा गर्न कठिन हुन सक्छ । यसका साथै, विद्यालय सञ्चालनका दिनहरू घट्दा कक्षा समय लम्ब्याउनु पर्ने अवस्था हुन्छ । जसले बालबालिकाको मानसिक, एकाग्रता र सिक्ने क्षमतामा प्रत्यक्ष असर पार्ने सम्भावना हुन्छ । विभिन्न शैक्षिक अध्ययनहरूले बालबालिकाको प्रभावकारी ध्यान केन्द्रित गर्ने क्षमता सीमित समय (सामान्यतया ३०–४५ मिनेट प्रति सत्र) सम्म रहने देखिन्छ । लामो समयसम्म निरन्तर कक्षा सञ्चालन गर्दा उनीहरूको बुझ्ने क्षमता, सृजनात्मक सोच तथा स्मरणशक्ति कमजोर हुने जोखिम बढ्नेछ ।
नयाँ सत्र बैशाख संक्रान्ति वा २ गतेदेखि सुरु गर्नुपर्छ । शिक्षा मन्त्रालयको सुचना अनुसार १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पढाइ सुरु गर्ने निर्णय व्यबहारीक नभएको साथै यसले भर्ना अभियानलाई समेत प्रभावित हुने र बालबालिकाहरुको पढाइ समेत बिग्रने सम्भावनालाई मध्यनजर गरि अभिभावकहरु नयाँ सत्र बैशाख संक्रान्तिदेखि सुरु गर्नुपर्ने माग गर्दछ ।
त्यसैले अभिभावक संघका तर्फबाट आइतबार बिदा दिने निर्णयमा पुनःर्विचार गरी विद्यार्थीमैत्री समयतालिका लागु गरियोस् । बालबालिकाको मानसिक स्वास्थ्य, ध्यान क्षमता तथा सिकाइको गुणस्तरमा पर्ने प्रभावबारे विस्तृत अध्ययन गरी नीतिगत निर्णय गर्न अनुरोध छ । अभिभावक, शिक्षक तथा सरोकारवालासँग व्यापक छलफल गरी दीर्घकालीन समाधान खोज्नुपर्ने हाम्रो माग हो । त्यसैले अभिभावकहरुसंगको छलफल विना आइतबार विदा दिने निर्णय कार्यान्वयन नगर्न अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्य समिति अनुरोध गर्दछ ।
अन्त्यमा, सरकारसँग बालबालिकाको समग्र विकास, मानसिक स्वास्थ्य र गुणस्तरीय शिक्षालाई केन्द्रमा राखी निर्णय लिन हामी हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रममा सान्तराम दुलालले भर्ना अभियान, कक्षा संचालन र आइतबार विदाले अभिभावकहरुलाई पारेको समस्या बारे बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिका सहसचिव राजकुमार लघु, कोषाध्यक्ष कृष्णप्रसाद दुमरुको उपस्थिति रहेको थियो ।


















