अँचा पोखरीमा जेठ ३ गतेदेखि ऐतिहासिक पुरुषोत्तम मेला सञ्चालन हुने

0
170


भक्तपुर , २०८३ बैशाख ३१ । महाकाली क्षेत्र संरक्षण समिति ले भक्तपुर–६ भोलाछेस्थित अँचा पोखरी क्षेत्रमा प्रत्येक तीन वर्षमा आयोजना हुने ऐतिहासिक पुरुषोत्तम मेला (मनमासको मेला) आगामी जेठ ३ गतेदेखि सञ्चालन हुने जानकारी दिएको छ। समितिले पत्रकार सम्मेलनमार्फत धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको मेलाले स्थानीय कला, संस्कृति, परम्परा तथा धार्मिक आस्थाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
समितिका अध्यक्ष डा. हरिराम सुवाल का अनुसार मेलाको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय व्यवसाय, कला र संस्कृतिलाई प्रोत्साहन गर्नु रहेको छ। मेलामा सहभागी हुने श्रद्धालु भक्तजनहरूको धार्मिक आस्था र परम्परालाई संरक्षण गर्दै मस्त्येनारायण भगवानप्रतिको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
मेलामा विभिन्न धार्मिक पूजा–आजा, भजन कीर्तन, कथा वाचन, हामो दान तथा ढलं निर्माणजस्ता कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। मेलालाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र पारिएको समितिले जनाएको छ।
मेला व्यवस्थापनका लागि कर्ण अवाल को नेतृत्वमा व्यवस्थापन उपसमिति, भिमलाल सुवाल को नेतृत्वमा आर्थिक संकलन उपसमिति, पुण्य राम सुवाल को नेतृत्वमा भजन व्यवस्थापन उपसमिति तथा सुरेन्द्र दुवाल को नेतृत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ। त्यसैगरी गहना व्यवस्थापनको जिम्मेवारी जगनाथ सुजखु लाई दिइएको छ भने कथा वाचन, हामो दान तथा ढलं निर्माणको कार्य सुराजन शर्मा बाट हुने जनाइएको छ।
मेलाको सुरक्षा र स्वास्थ्य व्यवस्थापनका लागि ख्वप अस्पताल तथा स्थानीय प्रहरी चौकीसँग समन्वय गरिएको छ। एक महिनासम्म सञ्चालन हुने मेलामा श्रद्धालु व्यवस्थापनका लागि रमेश सितिखु को नेतृत्वमा स्काउटका स्वयंसेवक परिचालन गरिने बताइएको छ।
समितिले विगतका मेलाबाट उठेको रकम पारदर्शी रूपमा सार्वजनिक गरिएको जानकारी दिँदै अँचा पोखरी क्षेत्रमा निर्माण हुन लागेको ख्वप आदर निकेतन भवनका लागि भक्तपुर नगरपालिका लाई १७ लाख रुपैयाँ सहयोग गरिएको जनाएको छ। साथै महाकाली भोजस्थलमा ट्रस निर्माणका लागि करिब १७ लाख रुपैयाँ खर्च भइसकेको जानकारी पनि दिइएको छ।
हाल महाकाली पीठ क्षेत्रमा धल्लु व्यवस्थापन, भोजस्थलमा स्टोर, मञ्च तथा दुईतले शौचालय निर्माणको प्रशासनिक प्रक्रिया अघि बढिरहेको समितिले जनाएको छ। साथै अँचा पोखरी जाने ओरालो सडक ढलानको काम समेत जारी रहेको बताइएको छ।
समितिले पुरुषोत्तम मेलालाई सभ्य, भव्य र सफल बनाउन स्थानीयवासी, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सरोकारवाला निकायहरूको सक्रिय सहयोग र सहभागिताको अपेक्षा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here