काठमाडाैं । राष्ट्रिय बाल अधिकार परिषद्को आयोजना तथा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को सहयोगमा काठमाण्डौमा बाल अधिकार संरक्षण तथा प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएकोछ । राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव श्री इन्द्रादेबी ढकालको अध्यक्षता तथा सिविसको अध्यक्ष श्री बिमला ज्ञवाली विशेष उपस्थितिमा संचालन भएको अन्तरक्रियामा काठमाण्डौ, ललितपुर, भक्तपुर सहित सिन्धुपाल्चोकको सुनकोशी र बलेफी गाउँपालिकाको बालकल्याण अधिकारी,महिला बालबालिका शाखा प्रमुखको उपस्थिति रहेको थियो ।
राष्ट्रिय बालअधिकार परिषद्का सुचना अधिकारी श्री राम बहादुर चन्दले बाल अधिकार संरक्षण तथा प्रबद्र्धन सम्बन्धी भएका कार्यहरु तथा चुनौतीको प्रस्तुतीकरण गर्नुभएको कार्यक्रममा सबै बाल कल्याण अधिकारी तथा शाखा प्रमुखले आफ्नो स्थानीय तहमा बाल अधिकार संरक्षण तथा प्रबद्र्धन सम्बन्धी कार्यविधि, बाल अधिकार समितिको गठन तथा जिम्मेवारी, बाल कल्याण अधिकारीको नियुक्ति तथा जिम्मेवारी, बाल कोषको स्थापना तथा परिचालन, समाजसेवी तथा बाल मनोविज्ञको सुचीकृत, नियुक्ति र परिचालनका लगायतका कार्यहरुको बुँदागत जानकारी गराएका थिए ।
राष्ट्रिय बाल अधिकार परिषद्की बाल संरक्षण अधिकृत श्री नमूना भूषालले सहजीकरण गर्नुभएको कार्यक्रममा सिविसले सरकारसँगको साझेदारीमा बाल संरक्षण र प्रबद्र्धनको लागि गरेका कार्यहरुको विषयमा सिविसको अध्यक्ष श्री बिमला ज्ञवालीले जानकारी गराउनु भएको थियो ।


















