भक्तपुर जिल्लामा गत माघ महिनामा १५२ वटा आपराधिक घटनाका मुद्दा दर्ता भएको छ भने विभिन्न घटनामा ११० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार जघन्य तथा गम्भीर अपराधमा दुई हत्याका घटना भएको प्रहरीले जनाएको छ।
प्रतिवेदनअनुसार लागूऔषधका आठ, बहुविवाह एक, बैंकिङ कसुरका ६२, ठगीका सात, चोरीका १६, जुवा एक र आत्महत्याका दुई मुद्दा दर्ता भएका छन्। विभिन्न घटनामा संलग्न ३२ जनालाई कैद सजायका लागि कारागार चलान गरिएको छ भने दुई वर्ष नौ महिना एक दिन कैद भुक्तानका लागि थप जेल चलान भएका छन्। यसैगरी रु ६७ लाख ४७ हजार ८० जरिवाना र बिगो संकलन भएको छ।
विशेषगरी भक्तपुर नगरपालिका–३ वंशगोपालमा ३८ वर्षीय लालमाया तामाङको हत्या, र मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा ५० वर्षीय सरिता भण्डारीको हत्या घटनामा आरोपी पक्राउ गरी पुर्पक्षका लागि जेल चलान गरिएको छ। महिला हिंसासम्बन्धी ३६ उजुरीमध्ये २६ वटा मिलापत्र भएको छ भने १० वटा अनुसन्धानका क्रममा रहेका छन्।
सवारी दुर्घटनामा गत महिना २२७ घटना भएका छन्, जसमा ३४० सवारीसाधन संलग्न, पाँचको मृत्यु र ११५ जना घाइते भएका छन्। प्रहरीले १०० जनालाई उद्धार गरेको छ भने सवारी चेकिङमा १,६०७ सवारीसाधन कारबाही र रु ११ लाख ४२ हजार २०० जरिवाना संकलन गरिएको छ।


















