प्रा.डा. धनरत्न शाक्य
बरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ ।
हेड, अन्तर्राष्ट्रिय बायोइथिक्सको नेपाल एकाई
प्रसंग अनुसार पुजाको अर्थ विविध हुनसक्छ। पुजा गर्नुको एक सामान्य अर्थ हो- श्रध्दाले कुनै पुजनीय देवदेवी वा आदरणीय प्रतीक मूर्तिलाई पूजा सामग्री, साधन सहित वा मनमनै पुज्नु, सम्झनु वा प्रार्थना गर्नु । धर्म, सँस्कृति, परम्परा र चलन अनुसार पुजा गर्ने विधि, साधन, सामग्री, समय, दिन, पुजारी आदि कुराहरूमा धेरथोर भिन्नता देखिन्छ।
पूजा गरिने मूर्ति पनि स्थान विशेष र पृष्ठभूमि हेरी फरक देवताका र एउटै देउताका मूर्ति पनि फरक मुद्रा, कद, भाव, सामग्रीका हुने गर्दछन् । मूर्ति काठ, ढुङ्गा, पत्थर, धलौट, पित्तल, फलाम, स्टिल जस्ता धातु, माटो, ईंटा, सिमेन्ट, वनस्पतिजन्य सामग्री जस्तै छ्वाली, पराल, कपडा, सिसा, रबर, प्लास्टिक, कागज गरी प्राकृतिक, सिन्थेटिक वा मिश्रित गरी थरी थरीका हुन्छन्। कुनै मूर्ति अस्थायी र निश्चित अवधिको लागि बनाइन्छन् भने कुनै सदाकालका लागि प्राण प्रतिष्ठा गरी प्रतिस्थापना गरिन्छन् ।
यस्ता मूर्तिहरु मुलतः समाजको श्रद्धाको द्योतक हुनेगर्छ। सत्चरित्र, सुसन्देस, प्रेरणाको श्रोतको रुपमा प्रतीकात्मक सन्देश दिन्छन् यस्ता मूर्तिहरु। चरित्र निर्माण र मार्ग प्रशस्तिको सम्झना दिलाउँछन् मूर्तिहरु । प्रायः सबैजसो मानव सभ्यताहरुमा मूर्तिको प्रचलन रहिआएको पाइन्छ। भगवान् बुद्धले मन, जीवन र समाजलाई ट्रयाकमा राख्न शिल, समाधि, प्रज्ञा र ध्यान जस्ता आन्तरिक साध्य कुरामा जोड दिनुभयो। धर्म नै अगाडि बढ्ने माध्यमको रुपमा औंल्याउनु भयो । वहाँको महापरिनिर्वाणपछि यद्यपि बुद्ध, धर्म र संघ प्रतिको श्रद्धा र आस्था जगाईराख्ने समय सापेक्ष माध्यम स्वरुप बुद्ध मूर्ति संसारमा सर्वाधिक बने भनिन्छ ।
मूर्तिबाट चरित्र निर्माण र सद्जीविका र सदाचारका लागि प्रेरणा र सम्झना दिलाउने अभिप्राय: हासिल हुने मुख्य मत त छँदैछ। मूर्तिकलाले त्यस समय, कालखण्ड, समाज र सभ्यताको धरोहर, पहिचान र चित्रण पनि गर्दछ । यसले अरु कलाहरुले जस्तै निश्चित समाज, युग, स्थान र सिर्जना अनि सभ्यताको परिचय पनि दिन्छ। वास्तवमा मूर्ति र कुनै पनि कलामा कलाकारले निर्जीव वस्तुहरूमा ज्यान प्राण भर्ने र समाज, युग र भविष्यलाई नै पनि मार्ग, दिशा निर्देश गर्ने शक्तिसम्म हुन्छ । यसले मानिसको आशा, भरोसा, आस्था, विश्वास र एकताको लागि मानव मनलाई सदा प्रेरणा दिएको देखिन्छ।
कुनै एक समुदाय, समाजमा हेर्ने हो भने, हामी देख्न सक्छौं कि- पुजा नियमित दैनिक रुपमा गरिने र विशेष दिन र अवसर अवस्थामा वा उद्देश्यले पनि गरिन्छ। जसरी पूजा आफैंमा एक पवित्र काम, क्रिया वा प्रक्रिया हो, यस सँग सम्बन्धित हरेक पक्षहरु पनि त्यस्तै संवेदनशील र श्रद्धालु भक्तजनहरूको नजरमा महत्त्वपूर्ण हुने गर्छन् । वास्तवमा, जुन मूर्तिको पूजा गरिन्छ, त्यो झन् गरिमा र महत्वको हुने गर्छ र हुनुपर्छ। सामान्यतया पूजाका हरेक पक्षहरु र पुज्य देवता, मूर्ति सबै नै महत्वपूर्ण र अन्योन्याश्रित हुन् । यद्यपि जनजीवन र समाजमा यदाकदा आम मानिस र तिनका व्यवहार साधनमै अलमलिएको, अल्झिएको देखिन्छ। पूजाले पुजाआजा, आराधनाको प्रक्रिया परम्परा र गौरव अनि पुज्य देव मूर्तिको सम्बर्द्धन, संरक्षण र प्रवर्द्धन हुनुपर्ने हो। तर आमरूपमा यसो भएको देखिँदैन। पूजाआजाको अनुपयुक्त तरिका, त्यसमा प्रयोग हुने वस्तु तथा मूर्ति प्रतिको अज्ञानता र नैरास्यताले गर्दा मूर्तिहरुको विनास भैरहेको पनि देखिन्छ।
काष्ठकला, प्रस्तरकला, धातुकला, वास्तुकला, मूर्तिकला जस्ता कला नेपालमण्डल वा काठमाडौं उपत्यकाको सभ्यता, सँस्कृति, परम्पराको अभिन्न अंग रहिआएको छ । यस उपत्यकामा विविध किसिमका मूर्तिहरु देख्न, दर्शन गर्न पाइन्छ। रैथानेहरुको त ज्यानप्राण, गौरव र पहिचान त भैहाल्यो । यी जीवन्त, सजीव र अद्वितीय मूर्ति, मन्दिर, देवालय र बहाबहिको कारण नै हो मानव मात्रका लागि काठमाडौं उपत्यका मानव सिर्जना, सभ्यता र चेतनाको उच्च दिग्दर्शनको गन्तव्य बनेको छ । यसले मन्दिर मूर्तिको शहर भनेर सहि अर्थमा पहिचान बनाएको छ। पाइला पाइलामा भेटिने पुर्खाका यी धरोहर र नासो समयसँगै अब भने सम्बन्धित सबै पक्षको तर्फबाट ध्यान, संरक्षण र प्रवर्द्धनको पर्खाइमा पुगेको अवस्था छ ।
अरु बेला होस् वा चाडबाडको बेलामा होस्, पाइलैपिच्छे भेटिने मन्दिर, बहाल, मूर्ति समयसँगै घाम, पानी, बर्षा, असिना, धुलो, धुँवा, भुकम्प आदि जस्ता प्राकृतिक प्रक्रियाहरूले खिइने, टुक्रिने, नासिने त आफ्नो ठाउँमा छँदैछ। साथमा, श्रद्धालु भक्तजनहरूको अनुपयुक्त पुजाआजाको तरिका, लापरवाही र स्थानीय र सम्बन्धित सबैको नैरास्यपूर्ण व्यवहारले गर्दा झन् चाँडै खिइने, टुक्रा पर्ने, विनास हुने गर्दछ। चोरी पैठारी तथा लुकिछिपी अवाञ्छित कार्यले असंख्य हाम्रा मूर्तिहरु हराएका बिलाएका त छँदैछन्, त्यति माथि भक्तजनहरूकै व्यवहारले जानी नजानी अमूल्य मूर्ति, चैत्य, गुम्बाहरु यसरी धरापमा पर्दा हाम्रो अस्तित्व, पहिचान र सभ्यता नै जोखिममा परेको भान हुन्छ।
हालै तिहार पर्वको म्ह: पुजा अर्थात् नेपाल सम्वत्को पहिलो दिन चलन अनुसार हाम्रो कूलको स्थानीय टोलको विहार र मन्दिर गएको थिएँ। दैनिक नै पूजाआजा, पाठ हुने त्यहाँ चाडबाडमा झनै धेरै भक्तालु हुने नै भयो। त्यहाँको दृश्यले मनमुटु चस्स भैरह्यो । हाम्रा तिर मन्दिर, बहाबहिमा जाँदा अक्सर मलाई यस्तै लाग्छ। कति बेला सँगै सुन्ने बुझ्ने कोहि भए, तिनीसँग; कोहि नभए आफैं मनमनै कुरा कहन्छु । मलाई थाहा छ; धर्म, सँस्कृति र परम्पराको बलियो जगमा उभिएका चलिरहेका राम्रा, नराम्रा र तटस्थ कुनै पनि कुरालाई डेग चलाउन पनि धेरै धैर्य र अविच्छिन्न कोसिस चाहिन्छ। अबिरले लुटपुटिएर अस्पष्ट भएका मूर्ति र तिनका दिव्य मुहार, पुजा सामग्रीहरुले छरपस्टिएर असरल्ल परेको वातावरण, धुपधुँवा र धुलोले निस्सासिएको त्यो सम्झनाले मलाई आफ्नो यो कुरा लेख्न आज झकझकाइरह्यो ।
यी मूर्तिहरु पितापुर्खाका नासो हुन् । आफूले बनाएका सानाभन्दा साना कुरा पनि सामाजिक सञ्जालमा हाइलाइट, भाइरल भएको मीठो सपना बोक्ने आजका हामीहरु पितापुर्खाले छाडेका यी अद्वितीय कलाप्रति बेपर्वाह हुनु हाम्रै नालायकी सिबाय अरु के नै हुनसक्छ र? मन्दिर र मूर्तिको संरक्षण र सम्बर्द्धनको सन्दर्भमा म बारम्बार इन्डोनेसियाको बाली र श्रीलंकाको अवलोकन झलझली सम्झन्छु। मन्दिर, चैत्य र मूर्तिको सम्बद्र्धन गर्दा त्यहाँका मानिस र त्यहाँकै हित कल्याण भएको छ । धार्मिक, साँस्कृतिक महत्व बढेको मात्र होइन, पर्यटनको प्रबद्र्धन र विकासका आधार बनेका छन् । त्यहाँ हामीकहाँ जस्तो पूजा, सामग्री छरपष्ट हुने गरी फाल्दैनन् । बढो जतनका साथ मिलाएर, अझ प्याकिंग नै गरेर पनि मूर्तिमा नलाग्ने गरी, कुनै दाग वा असर नपर्ने गरी चढाएको दखेँ । अबिर र अछेताले वा केहि कुराले जथाभावी मूर्तिमा लगाएको छरेको देखिएन । धूप वा बत्तीको तेल वा कुनै दाग लागेको पनि देखिएन । चोखो भनी चढाउने त हो हामीकहाँ, त्यहाँ त मानिसलाई भन्दा जतनले उपयोगी सामग्रीहरु भगवानका पाउमा चढाएको देखियो । त्यसले मूर्तिको शोभा अझ बढेको र सम्बद्र्धन भएको प्रष्ट देखियो । मूर्तिलाई पनि काँचको फ्रेमभित्र वा सुरक्षित किसिमले सजाएर ठाउँठाउँमा प्रतिस्थापित गरिएको देखेँ । साँच्चै आनन्द, शान्ति, सकुन मिल्ने अवलोकन थिए ती । कसैलाई मन परे पनि नपरे पनि आफूले प्रतक्ष्य देखेको पूजा गर्ने त्यो चलन, काइदा र तरिका दोहर्याइरहन्छु । तर त्यसको केहि पनि असर मेरो दृष्टिगोचर हुँदैन । आफ्नो मनको सन्तोषकै लागि भएपनि यो कुरा लेखिटोपलेको छु ।
देवताको पुजा गरेर आफूलाई खोज्ने, चिन्ने हामी भक्तजनहरु मध्ये कसैले भए पनि यो कुरा मनन् गरेर मूर्ति बिग्रने हिसाबले अबिर, अछेता, जल, पुजा सामग्री, धूप, आदि चढाउने, मूर्तिमै लाग्ने गरी मुद्रा सिक्का दाम दक्षिणा भेटी वा सामान फाल्ने, मूर्ति नै खिइने गरी रगड्ने छुने जस्ता काम नगरे आफ्नो कामले राम्रो गरेछ भनी सम्झनेछु । हामी जुन किसिम वा विधिले मूर्ति पूजा गर्दछौं, त्यो देखेर फेरि पनि आज मेरो मनमा सवालहरु लाम लागेर आइरहेः यसरी मूर्ति नै बिग्रने हिसाबले, वातावरण फोहर र हावा प्रदूषण हुने किसिमले पूजा गर्दा पूजा गर्नुको द्येय हासिल भैरहेको हुन्छ त? यो कुरा कसले सोच्नुपर्ने हो? के गर्नुपर्ने हो? के गर्दा हुने हो? कसले गर्नसक्छ? हाम्रो सँस्कृति, चलन र परम्परामा कसले परिमार्जन गर्ने हो? मूर्ति पूजाको उद्धेश्य जगेर्ना गर्नका लागि सायद यस विषयका जानकारहरु, शिल्पीहरुको सुझाव अझ उपयोगी हुनसक्छ । म त यति नै भन्छुः हाम्रा मूर्तिहरुको जगेर्ना गरौं । घाम, पानी, वर्षा, असिनाबाट बच्ने हिसाबले राखौं। पूजा गर्दा जल, उष्ण, अबिरले मूर्ति नबिगारौं। धूप, धुँवा, धुलोबाट बचाऔं। भेटी वा कुनै पनि चिजले मूर्तिमा नफालौं । भुकम्प वा कुनै हिसाबले बिग्रेमा बेलाबेला पुनर्निमाणमा स्थानीय गुठी, सरकार वा सर्वसाधारणले आफ्नो परम्परा सम्झेर योगदान गरौं । उचित रुपमा पूजा गरौं। चरित्र नि सुधारौं; मूर्तिहरुको पनि जगेर्ना होस् ।


















