भक्तपुर, २३ चैत । भक्तपुर जिल्ला बक्सिङ सङ्घको सातौँ अधिवेशन तथा पुनःगठन कार्यक्रमसँगै नयाँ वर्ष २०८३ तथा बिस्का जात्राको शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ।
कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, भक्तपुर नगरपालिकाका पूर्व नगर खेलकुद समितिका संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कवांले नेपालमा खेलकुद संरचनागत रूपमा सञ्चालन हुन नसक्दा अपेक्षित विकास हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले राजनीति सही ढङ्गले सञ्चालन भए खेलकुद क्षेत्र पनि सशक्त रूपमा अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले खेलकुदमा विकेन्द्रीकरणको सिद्धान्तअनुसार प्रदेश तथा स्थानीय तहमा पूर्वाधार निर्माण र अधिकार हस्तान्तरण आवश्यक रहेको बताउनुभयो। साथै, जनताको एकता, दर्शन, विचार र सिद्धान्तबिना खेलकुद मात्र नभई देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्नुभयो। खेलाडीहरूले अनुशासन र नियमको पालना गर्दै अघि बढ्नुपर्ने र सरकारले गरेका राम्रा कामलाई समर्थन तथा कमजोरीलाई आलोचना गर्दै सचेत गराउनुपर्ने उहाँको भनाइ थियो।
नेपाल बक्सिङ महासङ्घका प्रतिनिधि तथा कोषाध्यक्ष गौतम सुजखुले जिल्ला स्तरमा बक्सिङ गतिविधि सक्रिय भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण खेलकुद क्षेत्र प्रभावित भएको बताउनुभयो। उहाँले यसका लागि देशका शासक राजनीतिक दलहरू जिम्मेवार रहेको आरोप लगाउनुभयो।
वाग्मती बक्सिङ सङ्घ तदर्थ समितिका संयोजक रामचन्द्र थापामगरले राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षक व्यवस्थापन गर्न नसक्दा जिल्लाहरूमा खेलाडीहरू अवसरबाट वञ्चित भएको गुनासो गर्नुभयो। जिल्ला खेलकुद विकास समिति भक्तपुरका प्रतिनिधि अनन्त वैद्यले खेलकुद क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकारहरू विनोदचरण राय र साजन लघुले पनि मन्तव्य राख्नुभएको थियो।
सातौँ अधिवेशनबाट रामकृष्ण प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पुनःगठन गरिएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा सुरोज ग्वाछा, उपाध्यक्षमा राजन कुम्पाख, सचिवमा साजन लघु, कोषाध्यक्षमा लक्ष्मीप्रसाद चवाल चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा गौतम सुजखु, केदार तुईतुई, गणेश सांगामी, राजाराम साख, निशा लोहला, शेखर कुटुवजु, तुल्सीराम ग्वाछा र राजेश्वर मानन्धर रहनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















