नेसनल प्याब्सन भक्तपुरद्वारा शिक्षक अभिमुखीकरण सम्पन्न

0
18

भक्तपुर, असार १३। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) भक्तपुरको आयोजना तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) को सहकार्यमा प्राथमिक तहका शिक्षकहरूका लागि एकदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

जगातीस्थित होटल भ्यु भक्तपुरमा आयोजित “Continuous Assessment (Focused on Grade 1–5 Assessment)” विषयक तालिममा नेसनल प्याब्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने २७४ जना शिक्षकहरूको सहभागिता रहेको थियो।

तालिममा प्राथमिक तहका विद्यार्थीहरूको सिकाइ उपलब्धिको मूल्याङ्कन परम्परागत कागज–कलममा आधारित परीक्षामार्फत मात्र नभई निरन्तर मूल्याङ्कन प्रणालीमार्फत कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर सहजीकरण गरिएको थियो। प्रशिक्षकहरूले परीक्षा नलिनु भनेको मूल्याङ्कन नगर्नु नभई विद्यार्थीको वास्तविक सिकाइ क्षमतालाई विभिन्न व्यवहारिक माध्यमबाट निरन्तर अभिलेखीकरण गर्दै मूल्याङ्कन गर्नुपर्ने अवधारणामा जोड दिएका थिए।

कार्यक्रममा निरन्तर विद्यार्थी मूल्याङ्कन (CAS), परियोजना कार्य, प्रयोगात्मक अभ्यास, पोर्टफोलियो व्यवस्थापन, अवलोकन तथा सहपाठी मूल्याङ्कनजस्ता आधुनिक मूल्याङ्कन विधिहरूबारे प्रयोगात्मक अभ्यास गराइएको थियो। यस्ता विधिले विद्यार्थीको सिकाइ, व्यवहार, सिर्जनशीलता, नेतृत्व क्षमता तथा सञ्चार सीपको समग्र मूल्याङ्कन गर्न सहयोग पुग्ने प्रशिक्षकहरूको भनाइ थियो।

तालिममा काठमाडौं विश्वविद्यालयका विज्ञ प्रशिक्षकहरू इन्द्रमणि दाहाल, समीक्षा हाडा, डा. रुपा मुनकर्मी तथा सरिता खड्काले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले बालमनोविज्ञानअनुकूल मूल्याङ्कन प्रणालीलाई कक्षाकोठामा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने व्यवहारिक उपायहरू प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्राथमिक तहका विद्यार्थीहरूको सिकाइ क्षमतालाई केवल वार्षिक वा त्रैमासिक परीक्षाको नतिजाले मात्र मूल्याङ्कन गर्न नसकिने उल्लेख गर्दै शिक्षकहरूलाई आधुनिक तथा व्यवहारिक मूल्याङ्कन प्रणालीमा अभ्यस्त गराउन यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो।

कार्यक्रम संयोजक रमेश प्रसाद सिटौलाका अनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका सहायक डिन प्रा. डा. सेषकान्त पगेनीको विशेष उपस्थितिमा सम्पन्न उक्त तालिमले सहभागी शिक्षकहरूमा नयाँ ऊर्जा र व्यावसायिक दक्षता अभिवृद्धि गर्न सहयोग पुगेको छ। तालिमको समापनमा सहभागी शिक्षकहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here