सेवा, मित्रता र अनुशासन स्काउट हाइकको पाठ

0
8


भक्तपुर, असार १४ । स्काउटका आधारभूत मूल्य–मान्यता, प्रकृतिप्रेम, टोली भावना, आत्मनिर्भरता तथा नेतृत्व विकासलाई व्यवहारमा उतार्ने उद्देश्यले लिखुनारायण सूर्यविनायक क्षेत्रमा एकदिने स्काउट हाइक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
गणेश मन्दिरबाट सुरु गरिएको हाइक कार्यक्रममा छ वटा विद्यालयका १२४ जना स्काउटहरूको उत्साहजनक सहभागिता रहेको थियो। हाइकले सहभागी स्काउटहरूलाई प्रकृतिसँग नजिक हुने, शारीरिक रूपमा सक्रिय रहने, अनुशासित जीवनशैली अपनाउने तथा सहकार्य र मित्रताको भावना अझ मजबुत बनाउने अवसर प्रदान गरेको थियो।

हाइक कार्यक्रमको संयोजन स्काउट मास्टर जीवन सुवालले हाइक केवल एउटा यात्रा होइन, यो जीवन सिक्ने खुला कक्षा हो। प्रकृतिको काखमा हिँड्दै स्काउटहरूले अनुशासन, आत्मनिर्भरता, नेतृत्व, सहकार्य र सेवाभावलाई व्यवहारमा उतार्ने अवसर पाउँछन्। साथीसँग दुःख–सुख बाँड्ने, एकअर्कालाई सहयोग गर्ने र प्रकृतिको संरक्षण गर्ने संस्कार नै स्काउटिङको वास्तविक पहिचान हो। आजको हाइकले सहभागी प्रत्येक स्काउटलाई असल नागरिक बन्न प्रेरणा दिएकोमा हामी विश्वस्त छौं भन्दै
कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो।

उक्त हाइक कार्यक्रममा जोरपाटी स्काउट ट्रूप, समता स्काउट ट्रूप, ग्लोबल स्काउट ट्रूप, प्रसादी स्काउट ट्रूप,
कन्ट्रीसाइड स्काउट ट्रूप र शान्ती निकेतन स्काउट ट्रूप सहभागी रहेको थियो।

हाइकका क्रममा स्काउटहरूले समूहगत रूपमा यात्रा गर्दै बाटोभरि एकअर्कालाई सहयोग गर्ने, वातावरण संरक्षणप्रति सचेत रहने, अनुशासन कायम राख्ने तथा “Sharing and Caring” को भावनालाई व्यवहारमा उतारेका थिए। सहभागीहरूले घरमै तयार गरिएको खाजा साथीहरूसँग बाँडेर खाँदा मित्रता, सहयोग र आत्मीयताको सन्देश प्रवाह भएको थियो। यसले स्काउटिङले सिकाउने सेवा, सद्भाव र सहकार्यको संस्कारलाई थप जीवन्त बनाएको थियो।

प्राकृतिक वातावरणको अवलोकन, समूहगत छलफल, टोलीगत समन्वय तथा रमाइला गतिविधिमार्फत सहभागीहरूले मनोरञ्जनसँगै व्यावहारिक ज्ञान र जीवनोपयोगी सीप पनि हासिल गरेका थिए। हाइकले आत्मविश्वास, नेतृत्व क्षमता, समय व्यवस्थापन तथा जिम्मेवारी बोधको विकासमा समेत टेवा पुर्‍याएको स्काउट सुहाना सुवालल्व अनुभव ब्यक गर्नुभएको थियो।
कार्यक्रम स्काउट मास्टर निर्जला प्रजापतिले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व, अनुशासन, सेवा भावना तथा राष्ट्रप्रतिको जिम्मेवारी विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक र व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनुभयो।

स्काउट मास्टर सोहन रन्जितले सहभागी सबै स्काउटहरूको अनुशासन, सक्रियता र उत्साहको प्रशंसा गर्दै स्काउटिङले सिकाउने मूल्य र आदर्शलाई दैनिक जीवनमा पनि व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

उक्त एकदिने हाइक कार्यक्रमले सहभागी स्काउटहरूबीच मित्रता, सहकार्य, अनुशासन, सेवा भावना र प्रकृतिप्रतिको प्रेमलाई अझ प्रगाढ बनाउँदै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। उक्त कार्यक्रमले स्काउटिङ केवल पाठ्यक्रम वा अतिरिक्त क्रियाकलाप मात्र नभई असल नागरिक निर्माण गर्ने प्रभावकारी माध्यम भएको सन्देश पनि प्रवाह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here