नयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल

0
40

आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर, २१ जेठ
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नयाँ भनिएको सरकारले पनि सरकार गठनपछि मात्रै १ लाख नेपालीलाई वैदेशिक रोजगारीमा पठाएर र थप १ खर्ब ऋणको भार नेपालीलाई बोकाएर नवउपनिवेशवाद निम्त्याएको बताएका छन् ।
आदर्श आजाद माविको ६७ औं र आदर्श आजाद कलेजको १८ औं वार्षिकोत्सवको अवसरमा विहिवार आयोजित कार्यक्रममा उनले अहिलेको सरकारले शोषणरहित समाज निर्माण गर्ने भनेपनि उदारवाद र उदारीकरणको सिद्धान्त बोकेकाले बोली र व्यवहारमा फरक भएको जिकिर गरे ।
गत भदौ २३ मा निहत्था नेपाली जनतालाई ताकी ताकी गोली हान्नेलाई र २४ गते षडयन्त्रपूर्वक तथा योजनाबद्ध ढंगले राज्यको सम्पत्ति जलाउनेहरुलाई कार्वाही गनुपर्ने बताउँदै उनीहरुलाई कार्वाही नगरिकन र चुनावमा उठ्न नपाउने बन्दोबस्त गर्नुपर्ने जनताको मागलाई सम्वोधन नगरीकन फागुन २१ मा चुनाव भएकोमा उनले आपत्ति प्रकट गरे ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको पछिल्लो अभिव्यक्तिे राजनीतिमा उमेरले नयाँ नभइकन विचारले नयाँ हुनुपर्ने स्पष्ट हुँदै गएको धारणा पनि उनले कार्यक्रममा राखेका थिए ।
नेपाल मजदुर किसान पार्टीले नेपालका अधिकांश भुभाग भारतले अतिक्रमण गरेको विरोधमा भारतीय राजदुतावासमा ज्ञापन पत्र दिएको स्मरण गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अंग भएको सचिव प्रेम सुवालले बताए ।
प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसिन व्यक्तिले कुन आसयमा नेपालले पनि भारतको भूमी मिचेको भनेर देशद्रोही अभिव्यक्ति दिएकोमा आश्चर्यव्यक्त गर्दै यस्तो अभिव्यक्ति दिने व्यक्तिले देशको सीमा रक्षा गर्न नसक्ने स्पष्ट पारे ।
अहिलेको बजेटले नेपालीलाई विजुली महँगो बनाएर भारतलाई सस्तोमा बेच्न विजुलीमा कर वृद्धि गरेको र भारतबाट ग्यास आयात बढाउन चलखेल गरेको उनले आरोप लगाए ।
नयाँ पुस्तालाई योग्य बनाउँदै कुलतबाट बचाउँदै देशभक्त अनि राष्ट्रवादी नागरिक उत्पादन विद्यालय र कलेजहरुले अझ मेहनत गर्नुपर्ने धारणा पनि सचिव सुवालले कार्यक्रममा व्यक्त गरेका थिए ।
२०१६ सालमा सामान्य झुपडीबाट गरीव तथा पिछडिएका वर्गलाई अध्यापन गराउँदै शुरु भएको विद्यालय र कलेज आजको स्वरुपसम्ममा आउँदा समाजेसेवी, शिक्षासेवीलगायत शिक्षकहरुको अभिन्न योगदान पुगेको चर्चा कार्यक्रममा गरिएको थियो ।
कार्यक्रममा ५१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान विजुक्छेंको सभापतित्वमा भएको कार्यक्रममा २०८१ सालको वार्षिक परीक्षामा उत्कृष्ट भएका ३६ जना र २०८२ सालमा उत्कृष्ट भएका ३६ विद्यार्थीका साथ अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका १८३ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यसैंगरी २०८२ सालको एसइई उत्तीण २४ जना विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउनका लागि नगरपालिकाले काम गरिररहेको र आदर्श आजाद माविले शिक्षाको उन्नयनका लागि गरिरहेको कार्यको प्रशंसा व्यक्त गरिन् ।
विद्यालयका प्राचार्य चक्रबहादुर चाकतुले विद्यालयमा भौतिक पूर्वाधारको विकास निरन्तर रुपमा भइरहेको र साढे ७ रोपनी जग्गामा विद्यालयका पूर्वाधारहरु निर्माण भएको जानकारी दिए । उनले भने,‘ विद्यालयमा शौचालय, खानेपानी, सुरक्षा, फर्निचर, शैक्षिक सामग्री, पुस्ताकालय, खाजा, छात्रवृत्ति, मानवसंशाधनलगायतको यथोचित व्यवस्था रहेको छ ।’
विद्यालयमा हाल ८ सय १ जना विद्यार्थीहरुले पठनपाठन भइरहेको र विद्यालयले लक्ष्मीनारायण मानन्धर छात्रवृत्ति, विश्वराम कवां छात्रवृत्ति, जयन्तकुमार छात्रवृत्ति र सरस्वति कारञ्जित छात्रवृत्तिलगायत अन्य छात्रवृत्ति प्रदान गरिरहेको जानकारी पनि प्राचार्य चाकतुले दिए ।
आदर्श आजाद कलेजका प्राचार्य श्रीकृष्ण किसीले बीएडतर्फ १६५ र बीबीएसतर्फ १६ जना गरी १७९ जना विद्यार्थी कलेजमा अध्ययनरत रहेको हालसम्ममा ३१६ जना विद्यार्थीहरुले त्रिविविको परीक्षा उत्तीर्ण गरी दिक्षा प्राप्त गरिसकेको जानकारी दिए । विगतमा ४० देखि ५० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदै आएकोमा २०८२ सालको बीएड चौंथो वषृमा शतप्रतिशत नतिजा निकाल्न सफल भएकोमा गौरवको महसुस भएको अनुभुति प्राचार्य किसीले सुनाए ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुुजुखुले दुईटा संस्था एउटै स्थानमा रहेकाले एउटै परिवारको रुपमा व्यवस्थापन समितिहरुले काम गर्दै जाने वातावरण अनुकुल भएको खण्डमा विद्यालयका आकर्षक भवनहरु, फराकिलो चौर र विद्यार्थीहरुको निम्ति अत्यन्त अनुकुुल भौगोलिक अवस्थितिले साथर्कता पाउने निश्चित रहेको बताए ।
नेपाल क्रान्तिकारी शिक्षक संघकी केन्द्रीय सदस्य पवित्राकुमारी शाहीले रास्वपाको वाचापत्र र व्यवहार फरक भएको दृष्टान्त पेश गर्दैै एसइईको एक महिनामै परीणाम निकाल्ने नाममा व्यवस्थित तवरले काम नगरिकन हतार गर्दा विश्वसनीयतामा प्रश्न उत्पन्न भएको बताइन् । यसले शैक्षिक गुणस्तर खस्किन सक्ने तर्फ संकेत गर्दै उनले हप्तामा दुई दिन विदाको पनि पूर्वतयारी नगरिकन लागू गर्दा पाठ्ययोजनामा गम्भीर धक्का पुगेको स्पष्ट पारिन् ।
विगतमा शिक्षाका लागि बजेट १९ प्रतिशतभन्दा वढी विनियोजन हुने गरेकोमा अहिलेको सरकारले १० प्रतिशतमा सिमित पारेर नेपालको शैक्षिक व्यवस्थालाई कमजोर पार्न खोजेको पनि बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले विद्यालय र कलेजको संयुक्त स्मारिका विमोचन गरेका थिए । विद्यालयकी सहायक प्रधानाध्यापक सुभद्रा दुवालले स्वागत मन्तव्य राख्दै विद्यालय व्यवस्थित तवरले गरिव तथा मध्यम वर्गका विद्यार्थीहरुको गन्तव्य बन्दै गएको धारणा राखिन् ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले एआइबाट निर्मित स्वागत गीतका साथ नृत्य प्रस्तुत गरेको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक गतिविधि प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here