भक्तपुर, २०८३ बैशाख ४ ।
अभिभावक संघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरले सरकारले घोषणा गरेको आइतबार बिदा तथा आगामी बैशाख २१ गतेदेखि सञ्चालन हुने भर्ना अभियान सम्बन्धमा आफ्नो ध्यानाकर्षण गराउँदै मध्यपुर थिमि नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।
संघका जिल्ला अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएको टोलीले मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
ज्ञापनपत्र बुझाउँदै अध्यक्ष प्रजापतिले सरकारले घोषणा गरेको आइतबार बिदा तथा शैक्षिक सत्र सञ्चालनको निर्णयले विद्यार्थीहरूमा नकारात्मक प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गर्नुभयो। उहाँले आइतबार बिदाका कारण विद्यार्थीहरू कुलत तथा अन्य अवाञ्छित गतिविधितर्फ आकर्षित हुन सक्ने उल्लेख गर्दै यसले उनीहरूको शिक्षा पाउने मौलिक हकमै असर पुग्ने बताउनुभयो।
उहाँले यस्ता महत्वपूर्ण निर्णयहरू गर्दा सरोकारवाला पक्षसँग व्यापक छलफल र सुझाव संकलन गरी विद्यार्थीहितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, उपप्रमुख श्रेष्ठले यस विषयमा सम्बन्धित पक्षहरूसँग छलफल भइरहेको जानकारी दिँदै अभिभावकको रूपमा आफू पनि आइतबार बिदाको विषयमा पूर्ण सहमत नरहेको बताउनुभयो। उहाँले आइतबार बिदा कार्यान्वयन हुँदा वर्षमा करिब ५२ दिन विद्यालय सञ्चालन कम हुने उल्लेख गर्दै यसले शैक्षिक गुणस्तरमा असर पार्न सक्ने धारणा राख्नुभयो।
कार्यक्रममा अभिभावक संघका सचिव आशराम सुवाल, सह–सचिव राजकुमार लघु तथा कोषाध्यक्ष कृष्णप्रसाद दुमरुको समेत उपस्थिति रहेको थियो।
आइतबार बिदा सम्बन्धमा मध्यपुर थिमि नगरपालिकामा अभिभावक संघको ज्ञापनपत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















