भक्तपुर, २०८३ जेठ १० ।
भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्र चाँगुनारायण नगरपालिकालाई औपचारिक रूपमा ‘योग नगर’ घोषणा गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थित विद्युत तालिम केन्द्र, खरीपाटीमा आयोजित एक विशेष र भव्य समारोहका बीच वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय ईन्द्र बानीयाँले घोषणा पत्र वाचन गर्दै चाँगुनारायणलाई ‘योग नगर’ घोषणा गर्नुभएको हो ।
वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठले योग नगरको यो ब्राण्डिङले चाँगुनारायणको पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले योग नगरको अवधारणालाई संस्थागत गर्न प्रशासनिक र प्राविधिक सहयोग रहने कुरामा जोड दिनुभयो ।
नगरपालिकाको आयोजनामा सम्पन्न उक्त ऐतिहासिक कार्यक्रमको सभापतित्व नगरप्रमुख श्री जीवन खत्रीले गर्नुभएको थियो । कार्यक्रममा ‘चाँगु योग ज्योति सन्देश’ नामक स्मारिकाको समेत विमोचन गरिएको थियो ।
सामूहिक योग साधनाबाट कार्यक्रमको शुरुवात परम्परागत आसन ग्रहणभन्दा निकै भिन्न र उर्जावान् ढंगले भएको थियो । पातञ्जल योग समिति नेपालका संरक्षक श्री बालमुकुन्द सुवालले उपस्थित सम्पूर्ण अतिथि, जनप्रतिनिधि तथा साधकहरूलाई योग साधना गराएर कार्यक्रमको उर्जापूर्ण शुभारम्भ गर्नुभएको थियो । विद्युत तालिम केन्द्र,खरीपाटी परिसरमा उपस्थित हजारौं योगीहरूको एकाग्रता र सामूहिक श्वासप्रश्वासको ध्वनिले वातावरण निकै शान्त र आध्यात्मिक बनेको थियो ।
चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता श्री जनक खत्रीले स्वागत मन्तव्य राख्दै सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नगरपालिकाकै कर्मचारी श्री रन्जना सापकोटाले गर्नुभएको थियो ।
योग नगर घोषणाको महत्व र यसको दिगोपनका विषयमा देशका प्रमुख योग संस्थाका नेतृत्वकर्ता एवं विज्ञहरूले आफ्ना धारणा राख्नुभएको थियो । धारणा राख्ने क्रममा
पतन्जलि योग समिति नेपालका केन्द्रीय मुख्य प्रभारी लवदेव मिश्रले “योग नगरको यो जगले समाजलाई दुर्व्यसनमुक्त र मानसिक रूपमा स्वस्थ बनाउन मार्गनिर्देश गर्ने उल्लेख गर्नुभयो ।”
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष बिके रामसिंह ऐरले “शारीरिक मात्र होइन, राजयोगको माध्यमबाट मानसिक र आध्यात्मिक शान्तिले मात्र नगरको वास्तविक विकास सम्भव “हुने धारणा राख्नु भयो ।
जीवन विज्ञानबाट सुरेन्द्रमान विजुक्छेले चाँगुनारायणलाई योगको हब (Hub) बनाउन आफ्नो संस्थाले नगरभित्रका सबै संस्थाहरू हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको समापन गर्दै सभापति एवं नगरप्रमुख श्री जीवन खत्रीले चाँगुनारायणका नगरवासीहरूको स्वास्थ्य, सकारात्मक सोच र समृद्धिका लागि नगरपालिकाले योगलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले यो घोषणा केवल कागजमा मात्र सीमित नभई नगरका प्रत्येक वडा र टोल-टोलमा योग शिविर तथा योग शिक्षाका रूपमा पुग्ने दृढ संकल्प व्यक्त गर्नुभयो ।
उक्त ऐतिहासिक समारोहमा संघीय सांसद माननीय गुरु बराल, पातञ्जल योग समिति नेपालका राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदीले,वागमती प्रदेश स्वास्थ्य मन्त्रालय,प्रादेशिक योग समितिका विज्ञ सदस्य श्री नबराज काफ्ले, योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजु, नगरभित्रका विभिन्न वडाका वडा अध्यक्षहरू, भक्तपुर जिल्लामा सञ्चालनमा रहेका विभिन्न यौगिक संस्थाका प्रतिनिधिहरू तथा ठूलो संख्यामा स्थानीय साधकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।


















