भक्तपुर, जेठ १९ । दुई दशकदेखि भक्तपुरको सल्लाघारीमा सञ्चालन हुँदै आएको यातायात व्यवस्था कार्यालयलाई काठमाडौंको कोटेश्वर सार्ने तयारी गरिएको भन्दै स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा सेवाग्राहीहरूले चर्को विरोध जनाएका छन्।
दैनिक १५ सयभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै वार्षिक करिब २ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको उक्त कार्यालय स्थानान्तरण गर्ने प्रक्रिया अदालतमा मुद्दा विचाराधीन रहँदै अघि बढाइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।
विरोधकर्ताहरूले संविधानले परिकल्पना गरेको विकेन्द्रीकरणको मर्मविपरीत हुने गरी कार्यालय सार्ने प्रयास गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार यस्तो निर्णयले भक्तपुरसहित पूर्वी क्षेत्रका हजारौं सेवाग्राहीलाई प्रत्यक्ष रूपमा असुविधा पुग्नेछ भने नागरिकमैत्री सेवा प्रवाहमा समेत नकारात्मक असर पर्नेछ।
स्थानीय जनप्रतिनिधिहरूले कार्यालय स्थानान्तरणका विषयमा सम्बन्धित पक्षले पर्याप्त परामर्श नगरेको र सेवाग्राहीको हितलाई बेवास्ता गरेको बताएका छन्। उनीहरूले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा स्थानान्तरण प्रक्रिया अघि बढाउनु उचित नहुने उल्लेख गर्दै तत्काल उक्त प्रक्रिया रोक्न सरकारसमक्ष माग गरेका छन्।
सरोकारवालाहरूले कार्यालय हालकै स्थानमा सञ्चालन हुनुपर्ने र सेवाग्राहीको सहज पहुँचलाई प्राथमिकतामा राखेर निर्णय गर्नुपर्ने बताएका छन्।


















