दुमलाचा युवा बचत समूहको आयोजनामा पाँचदिने एआई तालिम सुरु

0
2
दुमलाचा युवा बचत समूहको आयोजनामा पाँचदिने एआई तालिम सुरु

भक्तपुर । दुमलाचा युवा बचत समूहको आयोजनामा पाँचदिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम कार्यक्रम सुरु भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिका वडा नं. ४ का पूर्व जनप्रतिनिधि राजेन्द्र माकले वर्तमान समय प्रविधिको युग भएको उल्लेख गर्दै मोबाइल तथा डिजिटल प्रविधिको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले प्रविधिका सकारात्मक पक्षलाई आत्मसात् गर्दै यसको प्रयोग विकास निर्माण तथा सामाजिक गतिविधिमा गर्नुपर्नेमा जोड दिनुभयो। एआई प्रविधिलाई समाज र राष्ट्रको विकासमा उपयोग गर्न सके यसबाट धेरै अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ थियो।

कार्यक्रमका सभापति एवं समूहका अध्यक्ष राधेश्याम सैंजूले समूहले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो। उहाँले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सुरुदेखि अन्तिम दिनसम्म निरन्तर सहभागी भई सीप हासिल गर्न आग्रह गर्दै प्रविधिको प्रयोग गर्दा यसको दुरुपयोग नगरी सकारात्मक र रचनात्मक काममा लगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी समूहका सल्लाहकार पञ्चरत्न सैंजुले दुमलाचा युवा बचत समूह २०७० सालमा स्थापना भएको जानकारी दिँदै बचत परिचालनमार्फत आर्थिक सहयोग तथा आपसी सहयोगको भावना विकास गर्ने उद्देश्यले समूह गठन गरिएको बताउनुभयो। स्थापना कालदेखि नै समूहले बचत तथा आर्थिक गतिविधिका अतिरिक्त विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा तालिमका प्रशिक्षक श्रीराम कासिछ्वाले कृत्रिम बुद्धिमत्ता (एआई) को परिचय, यसको बढ्दो प्रयोग, दैनिक जीवन तथा व्यावसायिक क्षेत्रमा यसको उपयोगिता र एआईको सहि प्रयोगबाट तस्बिर तथा भिडियो निर्माण, डिजिटल सामग्री उत्पादन, विज्ञापन तथा प्रचारप्रसारलगायतका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने बताउनुभयो।

कार्यक्रममा पुरुषोत्तम जाकिबञ्जारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समूहका सचिव दीपक जाकिबञ्जारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

पाँच दिनसम्म सञ्चालन हुने उक्त तालिमले सहभागीहरूलाई एआई तथा डिजिटल प्रविधिको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै प्रविधिको सदुपयोगमार्फत आयआर्जनका सम्भावना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भक्तपुर नगरपालिका–४ स्थित जनसेवा आधारभूत विद्यालय, दुमलाचामा सञ्चालन भइरहेको उक्त तालिममा २४ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here