अध्यक्ष बिजुक्छेँद्वारा रचित “सय वर्षपछिको भक्तपुर” पुस्तकको परिचर्चा कार्यक्रम

0
105

अध्यक्ष बिजुक्छेँद्वारा रचित “सय वर्षपछिको भक्तपुर” पुस्तकको परिचर्चा कार्यक्रम

भक्तपुर, २९ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष, वरिष्ठ राजनीतिज्ञ एवं स्वप्नद्रष्टा नारायणमान बिजुक्छेँ (रोहित) द्वारा रचित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको तेस्रो संस्करण आइतबार एक विशेष समारोहबिच सार्वजनिकीकरण भयो ।
उक्त पुस्तक पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ, भनपाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठ, वरिष्ठ मानवशास्त्री प्रा.डा. सुरेश ढकाल, इन्जिनियर पद्मसुन्दर जोशी, सम्पदाविद् रवीन्द्र पुरी र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले संयुक्तरूपमा सार्वजनिकीकरण गर्नुभयो ।
पुरातत्वविद्, इतिहासविद्, सम्पदाविद्, सम्पदासम्बन्धी जानकार इन्जिनियर, शिक्षाविद्, स्वास्थ्यविद्, बुद्धिजीवी, पूर्वजनप्रतिनिधि, लेखक, कवि, राजनीतिक कार्यकर्ता, समाजसेवी तथा सम्पदाप्रेमीहरू आदि सहभागी रहेको कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित सो पुस्तकको परिचर्चा भएको थियो ।
उक्त कार्यक्रममा पुस्तकका लेखक एवं पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर विश्व सम्पदा सूचीमा परेको उल्लेख गर्दै कला र संस्कृतिमा संरक्षित सांस्कृतिक भक्तपुर बनाउने ध्येयले भक्तपुरलाई ‘टेस्ट ट्युब’ को रूपमा ‘सय वर्षपछिको भक्तपुर’ लेख लेख्नुभएको बताउनुभयो ।
बिचमा कुनै बाधा व्यवधान भएन भने सय वर्षमा सपना साकार हुने विश्वास व्यक्त गर्दै उहाँले उक्त अवधारणा सफल पार्न सांस्कृतिक नगर बनाउने विधेयक संसद्मा प्रस्तुत गरेको स्मरण गराउनुभयो ।
सांस्कृतिक नगर बनाउने क्रममा विभिन्न प्रक्रिया अघि बढाउँदा ऐन कानुनको अभावले नपामा समस्या आउने हुँदा सांस्कृतिक नगर बनाउनेसम्बन्धी विधेयक पेस गरेको उहाँले बताउनुभयो ।
सङ्ग्रहालयलाई शिक्षालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छँेले चिडियाखानाको अभावमा पशुपन्छी लोप हुने खतरा हुन्छ भन्नुभयो ।
भक्तपुर सानो नगर, सानो जिल्ला, निश्चित भाषाभाषी तथा जनजातिहरूको स्थल, राजधानीबाट नजिक भएकोले काम गर्न सजिलो हुने हुँदा उक्त अवधारणा पूरा हुने विश्वास व्यक्त गर्दै उहाँले उक्त सङ्कल्प देशकै निम्ति काम लाग्ने बताउनुभयो ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षणलाई केन्द्रबिन्दुमा राखेर प्रकाशित पुस्तक गुरुयोजनाको रूपमा रहेको उल्लेख गर्दै कला, संस्कृति र सम्पदाको संरक्षण भक्तपुरमा जस्तै हुनुपर्ने विचार जिल्ला–जिल्लामा पुगेको बताउनुभयो ।
उक्त पुस्तकलाई आधार मानेर भक्तपुर नपाले गरिरहेको काम सराहनीय भएको र उक्त कदम अरू नपाले पनि अनुशरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै मठ मन्दिरजस्ता सम्पदा निर्माणमा सहुलियत दरमा काठ खरिद गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपालको सांस्कृतिक पुनःजागरणका संवाहक नारायणमान बिजुक्छेँद्वारा रचित यो पुस्तक राजनीतिक, प्रशासनिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक आदि हिसाबले यो पुस्तक संसारकै लागि मूर्त अमूर्त सम्पदा संरक्षण गर्ने मार्ग निर्देशकको रूपमा रहने बताउनुभयो ।
सत्ता पल्टे पनि संस्कृति समाप्त नहुने उल्लेख गर्दै उहाँले पुस्तकको अवधारणालाई व्यवहारमा ल्याउन भक्तपुर नपाले काम थालिरहेको विचार व्यक्त गर्दै भन्नुभयो, “हतियारले सत्ता कब्जा गरे पनि त्यो ठाउँको मानिसको कला संस्कृति कब्जा गर्न सक्दैन ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुस्तकप्रति जनचासो बढ्दै गएको उल्लेख गर्दै त्यसैका आधारमा भक्तपुर नगरपालिकाले यसको प्रकाशन गर्ने निष्कर्षमा पुगेको र आज उक्त पुस्तक सार्वजनिक गरिएको जानकारी दिनुभयो ।
उहाँले पुस्तकमा भक्तपुरको भविष्यसँग सम्बन्धित शिक्षा, स्वास्थ्य, सरसफाइ, पर्यटन, सम्पदा संरक्षण, यातायातलगायतका विषयहरू समेटिएको र नगरको जनशक्तिलाई कार्यान्वयनतर्फ अग्रसर हुन निर्देश गरिएको छ भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले देशको कला, संस्कृति र समग्र विकासको परिकल्पनालाई आधार मानेर उक्त पुस्तक तयार गरिएको उल्लेख गर्नुभयो ।
उहाँले पुस्तकले नयाँ पुस्तालाई सचेत र मार्गनिर्देश गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सम्पदाविद् रवीन्द्र पुरीले करिब १० वर्षअघि यस पुस्तकबारे अङ्ग्रेजी भाषामा परिचर्चा गर्ने अवसर पाएको स्मरण गर्दै पुस्तकको दूरदर्शी सोच आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
स्रष्टा समाजका अध्यक्ष लक्ष्मण जोशीले उक्त पुस्तकलाई भक्तपुर नगरपालिकाको मार्गदर्शन मात्र नभई समग्र गुरुयोजनाका रूपमा व्याख्या गर्नुभयो । उहाँले नगरलाई उत्कृष्ट बनाउन पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने तथा सम्पदाको विकासका लागि स्पष्ट खाका कोर्न सहयोग पुग्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नगरको विकासमा पुस्तकले महत्वपूर्ण मार्गनिर्देशन गरेको उल्लेख गर्नुभयो ।
राजेन्द्रबहादुर कायस्थले पुस्तकले भक्तपुरको कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै लेखकमा दिगो विकासप्रति दूरदर्शी सोच रहेको बताउनुभयो ।
आर्किटेक्ट रविना शिल्पकारले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्दै भक्तपुरमा वर्षभरि हरेक महिनाजसो जात्रा, पूजा तथा सांस्कृतिक पर्वहरू मनाइने भएकाले यी सम्पदाहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका ९ न. वडा अध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here