सूर्यविनायक बँलाक्व टोल सुधार संस्थाको ९ औँ वार्षिक साधारण सभा सम्पन्न

0
48

भक्तपुर, २८ चैत । सूर्यविनायक बँलाक्व टोल सुधार संस्थाको ९औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद सृजना सैंजूको प्रमुख आतिथ्यतामा सूर्यविनायकस्थित बँलाक्वमा आयोजित गरिएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सैंजूले पानसमा दीप प्रज्वलन गरी सम्बोधन गर्दै उहाँले समाज परिवर्तनका लागि सरकारको मात्र मुख ताकेर नबसि नागरिक तहबाटै सामाजिक उत्तरदायित्वका साथ अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । पुस्तान्तरणको अवधारणासहित टोल सुधार संस्थाले गर्दै आएको क्रियाशील कार्यप्रति उहाँले प्रशंसा व्यक्त गर्नुभयो ।

उहाँले नेपाल आयल निगमसँग पर्याप्त जगेडा तेल भण्डारण क्षमता अभाव हुँदा आपूर्ति संकटका बेला जनजीवन प्रभावित हुने अवस्था आउन सक्ने उल्लेख गर्दै ऊर्जा सुरक्षामा राज्यले दीर्घकालीन योजना बनाउनुपर्ने धारणा राख्नुभयो । साथै, छिमेकी राष्ट्रहरूसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्नु आवश्यक रहेको र एमसिसी तथा एसपिपी जस्ता अन्तर्राष्ट्रिय सम्झौताबारे समुदायस्तरमै छलफल र जनचेतना आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

कार्यक्रममा अतिथि प्रहरी निरीक्षक कञ्चन राजथलाले समाजमा बढ्दो विकृति तथा अपराध नियन्त्रणका लागि समुदाय–प्रहरी सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै शान्ति सुरक्षा सुदृढ गर्न टोलबासीको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेतले समाजमा सकारात्मकसँगै नकारात्मक प्रवृत्ति पनि रहने भएकाले युवा पुस्तालाई सामाजिक कार्यमा अभिमुखीकरण गर्दै सचेत बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विकसित देशहरूको तुलनामा नेपालको सामाजिक सम्बन्ध र सामुदायिक संरचना बलियो रहेको उल्लेख गर्नुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं. ६ का अध्यक्ष इश्वर खड्काले टोलस्तरका समस्या आपसी छलफल, सहमति र सहकार्यबाट समाधान गर्न सकिने बताउँदै टोल सुधार संस्थालाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन स्थानीय तह प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष लक्ष्मी सुन्दर शिल्पकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गौतम सुजखले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिव रमेश त्वीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी प्रसाद त्वानाबासुले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी, निवर्तमान अध्यक्ष पृथ्वीकुमार प्रजापतिले संस्थाको गतिविधिबारे जानकारी गराउनुभएको थियो भने कार्यक्रम सञ्चालन सदस्य सङ्गीता कायस्थले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here