ताथलीमा वैशाख २२ गतेदेखि महायज्ञ : वृहत् भेला सम्पन्न

0
15

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित खड्काटोल हाईटमा रहेको विन्ध्यवासिनी मन्दिर प्राङ्गणमा आयोजना हुने श्रीमद् भागवत तथा शिवपुराण ज्ञान महायज्ञको तयारी तीव्र पारिएको छ। यसैक्रममा २०८२ चैत २८ गते शनिबार आयोजित वृहत् भेलाले मूल समारोह समिति गठन गर्ने निर्णय गर्दै कार्यक्रमलाई भव्य बनाउने प्रतिबद्धता जनाएको छ।

भेलामा विन्ध्यवासिनी मन्दिर, सर्वेश्वर महादेव तथा शिवलिङ्ग नागथान क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले महायज्ञलाई सफल बनाउन स्थानीयवासीबीच एकता, सहकार्य र सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा समाजसेवी रूद्रबहादुर खड्का, मदनकृष्ण पन्त, भगवान खड्का, पूर्व शिक्षक हरिकृष्ण राउत, सहकारीकर्मी मीरा वाग्ले, युवा राजकुमार बस्नेत, साविक ताथली गाविसका उपाध्यक्ष एकबहादुर खत्री, पूर्व शिक्षक श्याम खड्का, समाजसेवी केशरबहादुर खड्का, पण्डित रमेशप्रसाद ढुङ्गाना, सञ्चारकर्मी हरिसुन्दर छुकां, वुद्दिजिवि प्रकाश खड्कालगायतले उल्लेखनीय सुझाव दिएका थिए ।

भेलामा समाजसेवी श्रीकण्ठ खड्काले हालसम्म करिब ५७ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिँदै आगामी दिनमा थप संरचना विस्तार तथा धार्मिक गतिविधि सुदृढ गर्ने लक्ष्य रहेको बताए।

आयोजकका अनुसार, समस्त चाँगुनारायण–९ निवासी दाजुभाइ तथा दिदीबहिनीहरूको कुलपितृको उद्धार र पुण्य प्राप्तिको कामनासहित २०८३ वैशाख २२ गतेदेखि १३ दिनसम्म महायज्ञ सञ्चालन गरिनेछ। महायज्ञलाई ऐतिहासिक तथा स्मरणीय बनाउने उद्देश्यका साथ सबै स्थानीयवासी तथा भक्तजनलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।

भेलामा सहभागीहरूले “सबै मिलेर लागे सफलता सुनिश्चित हुन्छ” भन्ने साझा विश्वास व्यक्त गर्दै धार्मिक आस्था, सामाजिक सद्भाव र सामूहिक एकताको सशक्त सन्देश प्रवाह गरेका छन्। भेलामा स्थानीय श्रद्धालु, भक्तजन र सराेकारवालाहरूकाे उल्लेखनीय सहभागिता रहेको थियाे ।

ताथली खबरमा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here