भक्तपुर, २७ चैत । श्री पञ्चकन्या माध्यमिक विद्यालय, सुडालको ४०औँ वार्षिकोत्सव कार्यक्रम बालचन्द्र लुईंटेल को प्रमुख आतिथ्यतामा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुईंटेलले गुणस्तरीय सामुदायिक विद्यालयले समाजमा सकारात्मक प्रभाव पार्ने र राज्यको आर्थिक भारसमेत घटाउने धारणा व्यक्त गर्नुभयो । उहाँले शिक्षा प्रणाली सुधारमा अभिभावकको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै दोषारोपणभन्दा सहकार्यको संस्कार आवश्यक रहेको बताउनुभयो ।
सिकाई केन्द्रका कार्यकारी अध्यक्ष सुदर्शन घिमिरे ले विद्यालयमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्यले मात्र शैक्षिक उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।
चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष तथा प्रवक्ता जनक खत्री ले वडा नं. ८ लाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य अनुरूप काम भइरहेको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले अघि सारेका शैक्षिक सुधारका पहलहरू सबैको हितमा केन्द्रित रहेको स्पष्ट पार्दै सक्षम विद्यालयहरू तह घटुवामा नपर्ने बताउनुभयो ।
शिक्षा शाखा प्रमुख जनार्दन रिजाल ले विद्यालयले ४० वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । यसैगरी सार्वजनिक मा.वि. संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष रोशनराज तुईंतुईं ले सरकारी शिक्षा नीतिमा स्पष्टता आवश्यक रहेको औंल्याउँदै हालका केही नीतिहरू व्यवहारिक कार्यान्वयनमा चुनौतीपूर्ण देखिएको टिप्पणी गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद दुलाल ले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाले लागू गर्न खोजेको नयाँ प्रधानाध्यापक व्यवस्थापन तथा तह घटुवा नीति ऐनसँग असंगत रहेको भन्दै असहमति जनाउनुभयो । सहायक प्रधानाध्यापक प्रकाश तजले ले अभिभावक र समुदायको सक्रिय सहभागिताले विद्यालय सुधार सम्भव हुने उल्लेख गर्दै यस वर्षदेखि उत्कृष्ट अभिभावक छनोट कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।
वि.व्य.स. अध्यक्ष नारायणप्रसाद घिमिरे को सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी प्रतिनिधिका रूपमा एञ्जेल तिमिल्सिना र सुदिना दुलालले मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन शिक्षिका रिताकुमारी बमले गर्नुभएको थियो ।
कार्यक्रमका अवसरमा विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी खिलनाथ दुलाललाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट अभिभावक, विद्यालयलाई सहयोग पुर्याउने पूर्व विद्यार्थीहरू कञ्चन तिमिल्सिना र प्रनिशा अधिकारी तथा स्थानीय समाजसेवी लोकप्रसाद दुलाललाई पनि कदर गरिएको थियो ।
त्यसैगरी नगर तथा जिल्लास्तरीय अतिरिक्त क्रियाकलाप र खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रमकै अवसरमा स्व. लोचना कुमारी मल्लको स्मृतिमा उहाँका नाति–नातिनी लक्ष्यजित मल्ल र समृद्धि मल्लमार्फत पूर्व विद्यार्थी सलिना सिन्चुरीलाई रु. १५,००० तथा कक्षा ९ मा अध्ययनरत सन्ध्या सिन्चुरीलाई रु. १०,००० आर्थिक सहयोग प्रदान गरिएको थियो । विद्यालय परिवारले सहयोगदाताप्रति आभार व्यक्त गरेको छ ।


















