भक्तपुर, २६ चैत । साइनिङ्ग स्टुडेण्ट एकेडेमीको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्वलन गरी बिहीबार गपलीमा उद्घाटन गर्नुभएको छ।
कार्यक्रममा प्रि–स्कुलका विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न हुनुका साथै विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने तथा ‘साइनिङ्ग हिरो अफ २०८२’ घोषित विद्यार्थीहरूलाई प्रमुख अतिथि सुनिल प्रजापति, वडाध्यक्ष उपेन्द्र सुवाल र अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले पुरस्कार वितरण गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि प्रजापतिले विद्यार्थीहरू राष्ट्रका भविष्य र कर्णधार भएको उल्लेख गर्दै निरन्तर मेहनतले सफलता प्राप्त हुने बताउनुभयो। उहाँले नयाँ पुस्तामा स्वयंसेवक भावना विकास गर्नुपर्नेमा जोड दिँदै सरसफाइ, श्रमदान र सेवाको संस्कार सिकाउन आवश्यक रहेको बताउनुभयो। साथै स्थानीय पाठ्यक्रममार्फत भेषभूषा, संस्कृति, चाडपर्व तथा ऐतिहासिक सम्पदाबारे ज्ञान प्रदान गरिएको जानकारी दिनुभयो। खेलकुदले अनुशासन र स्वास्थ्य दुवैमा सहयोग पुर्याउने उल्लेख गर्दै समग्र विकासका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी, वडाध्यक्ष सुवालले विद्यालयले शैक्षिक क्षेत्रसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट उपलब्धि हासिल गरेकोमा बधाई दिँदै यसले विद्यार्थीहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद तथा सीपमूलक तालिममा विशेष ध्यान दिएको उल्लेख गर्दै ख्वप कलेज, इन्जिनियरिङ कलेज तथा नर्सिङ कलेजमार्फत सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको जानकारी दिनुभयो। साथै छात्रवृत्ति, शैक्षिक ऋण तथा विभिन्न विषयमा उच्च शिक्षासम्म अध्ययनका अवसर उपलब्ध गराइएको बताउनुभयो।
कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष तथा अभिभावक संघका अध्यक्ष रामकृष्ण प्रजापतिले विद्यालयले समुदायको शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले शिक्षा केवल पुस्तकमा सीमित नभई संस्कार, अनुशासन र जिम्मेवारीसमेत सिकाउने माध्यम भएको उल्लेख गर्दै विद्यालय, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौरी छुस्याकीले “व्यावहारिक र गुणस्तरीय शिक्षाका लागि हाम्रो विद्यालय” भन्ने नाराका साथ संस्थाको स्थापना भएको बताउँदै नैतिक तथा व्यवहारिक शिक्षामा जोड दिइएको जानकारी दिनुभयो। उहाँले अभिभावकको समय अभाव, मोबाइल प्रयोगको बढ्दो प्रवृत्ति लगायतका कारण बालबालिकामा व्यवहारिक ज्ञानको कमी देखिन थालेको उल्लेख गर्दै घर र विद्यालयबीच समन्वय आवश्यक रहेको बताउनुभयो। विद्यालयबाट विभिन्न वर्षमा मेडिकल क्षेत्रमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी उत्पादन भएको जानकारी पनि दिनुभयो।
कार्यक्रमका सभापति तथा विद्यालयका प्रिन्सिपल रविन छुस्याकीले विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरूको सहभागिता बढाउँदै विभिन्न आन्तरिक तथा बाह्य प्रतियोगितामा सफलता हासिल गरेको बताउनुभयो।


















