भक्तपुर, १६ जेठ ।
विनाता सांस्कृतिक कला प्रवर्द्धन केन्द्रको आयोजनामा आज भक्तपुरमा एक विशेष समारोहका बीच दुई नयाँ कृतिको लोकार्पण गरिएको छ। भक्तपुरको भिमसेनस्थानस्थित सिद्धि स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा लेखक कृष्ण प्रसाद दुमरुद्वारा लिखित “सङ्गीत अन्तरङ्ग” र “सम्झौतामा उभिएको मान्छे” नामक दुई कृतिको संयुक्त रूपमा लोकार्पण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकार्पित कृतिहरूको सफलताको कामना गर्दै कला र साहित्यले समाजको यथार्थलाई ऐना देखाउने काम गर्ने बताए। उनले लेखक दुमरुको लेखन यात्राको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनात्मक कार्यहरू निरन्तर अगाडि बढ्ने विश्वास व्यक्त गरे।
विनाता सांस्कृतिक कला प्रवर्द्धन केन्द्रका अध्यक्ष बद्री नारायण ताम्राकारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरू, स्थानीय बुद्धिजीवी, साहित्यकार तथा कलाप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको “गायन, नृत्य र वाद्यवादन राष्ट्रको पहिचान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै कला क्षेत्रको प्रवर्द्धनमा सबै लाग्नुपर्नेमा जोड दिइएको थियो।
स्रष्टा कृष्णप्रसाद दुमरूद्वारा लिखित ‘सम्झौतामा उभिएको मान्छे’ तथा ‘सङ्गीत अन्तरङ्ग’ कृतिको लोकार्पण समारोहमा वक्ताहरूले साहित्य र सङ्गीतलाई एकै सूत्रमा बाँध्ने प्रयासको उच्च प्रशंसा गरेका छन् ।
कार्यक्रममा अतिथि जनकवि चन्द्र बहादुर उलक ले नेपाल भाषा साहित्यिक गतिविधिमा सहभागी हुने क्रममा २०३५/०३६ सालदेखि लेखकसँग परिचय भएको स्मरण गर्दै त्यसबेला कवितामा वर्गीय चेतना, श्रमजीवी तथा पीडित वर्गको पक्षधरता र नयाँ बिम्बहरूको प्रयोगमार्फत सशक्त अभिव्यक्ति दिनुपर्ने विषयमा छलफल हुने गरेको बताए। दुमरू आज एक स्थापित कृतिकारका रूपमा उभिन सफल भएकोमा आफूलाई गर्व लागेको उनले उल्लेख गरे।
त्यसैगरी प्राज्ञ ललिजन रावल ले कविता सरस, बिम्बात्मक र जीवन्त हुनुपर्ने धारणा व्यक्त गर्दै दुमरूले साहित्य र सङ्गीतलाई एउटै संगममा जोड्ने प्रयास गरेकोमा खुशी व्यक्त गरे तथा सफलताको शुभकामना दिए।
कवि उदय निरौला ले आफूले २०५१/०५२ सालदेखि दुमरूका कविताहरू नियाल्दै आएको बताउँदै २०७९ सालअघि नै कविता सङ्ग्रह प्रकाशन गर्न सुझाव दिएको स्मरण गरे। चार वर्षपछि ती कृतिहरू नेपाली साहित्य जगत्मा थपिनु आफूका लागि गर्वको विषय भएको उनको भनाइ थियो।
विश्व कीर्तिमानधारी सितारवादक सितामाया राजचल ले ‘सङ्गीत अन्तरङ्ग’ मा वरिष्ठ गायिका सानुमाया ताम्राकार धौभडेल र आफ्नो जीवनी समावेश गरिएकोप्रति खुशी व्यक्त गर्दै यसलाई महिलाप्रतिको सम्मानका रूपमा व्याख्या गरिन्। उनले लेखकप्रति कृतज्ञता पनि व्यक्त गरिन्।
कार्यक्रममा बिनाता साँस्कृतिक कला प्रवर्द्धन केन्द्र का सनिता त्वानाबासूले समेत मन्तव्य व्यक्त गरेकी थिइन्। समारोहको सभापतित्व वरिष्ठ सङ्गीतकार बद्रीनारायण ताम्राकार ले गरेका थिए।
कार्यक्रममा कृष्णप्रसाद दुमरूको शब्द, बद्रीनारायण ताम्राकारको सङ्गीत तथा केन्द्रका सदस्य एवं गायक सुरज कपाली र सरिला सिन्ताकल को स्वरमा स्वागत गान प्रस्तुत गरिएको थियो। बिनाता साँस्कृतिक विभागद्वारा प्रस्तुत उक्त कार्यक्रममा लोकार्पित कृतिहरूको प्रकाशनमा आर्थिक सहयोग पुर्याउने व्यक्तिहरूलाई प्रमुख अतिथिबाट धन्यवाद–पत्र प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन सरिला सिन्ताकलले गरेकी थिइन्।


















