आ.के. विद्रोही
नामले होइन चिनिन्छ दल,
चिनिन्छ उसको विचारले,
सिद्धान्तको उज्यालोभित्र
उसको असली आकारले ।
मतको भीडले सत्य नतौल,
बहुमतले धर्म नदिन सक्छ,
कहिले बहुमत, कहिले अल्पमत—
सत्य सधैं एउटै रहन्छ ।
पैसाको खोलो बग्ने बेला,
मतको मूल्य हराउँछ,
धाक, धम्की, लोभको छायाँमा
जनताको आवाज हराउँछ ।
सिद्धान्तबाट टाढा जाँदा
दलको आत्मा हराउँछ,
मार्गदर्शन बिर्सिँदा
आन्दोलन पनि थलिएर हराउँछ ।
माक्र्सवाद–लेनिनवादको ज्योति
बाटो देखाउने दीप हो,
तर आफ्नै स्वार्थमा मोडिँदा
त्यो दीप पनि मन्द र क्षीण हो ।
कुर्सी र भागबन्डाको खेलमा
सपना सबै टुट्दछन्,
वर्गसंघर्ष बिर्सिएको दलले
जनताको विश्वास गुमाउँछन् ।
श्रमजीवीको पीडा बुझ्न
जो अघि बढ्दैन कहिल्यै,
त्यो कसरी कम्युनिस्ट बन्छ
नामले मात्र बोलाउँदा जहिल्यै ?
परिवर्तनको सपना बोकेर
सिद्धान्तसँग अडिनुपर्छ,
माटो सुहाउँदो बाटो खोजी
आन्दोलन अघि बढ्नुपर्छ ।
यदि दलहरू जागे सचेत भई
विचारमा दृढ रहुन्,
जनताको मन जित्दै
नयाँ बिहान अवश्य ल्याउन सकुन् ।


















