विद्रोही आर.के.
चुनावको मैदानमा
आँधी आयो, लहर चल्यो,
घण्टीको सुनामीले
धेरै सपना बहायो ।
हो यहि व्यवस्थामा जितेका
हिजोका अण्डा आजका चल्ला,
धनी झनझन धनी हुने
गरीव झनझन गरीब हुने ।
हो यो व्यवस्थामा निष्पक्ष चुनाव नहुने
भ्रष्टाचार छायाँ जस्तै संगै आउने,
बहुमत कामदार जनताको हित नहुने
शिक्षा स्वास्थ्य निःशुल्क नहुने ।
तर,
इमान्दार मनहरू कहिल्यै हार्दैनन्,
असल कर्महरू कहिल्यै हराउँदैनन्,
जेहेन्दार सोचहरू
समयसँगै फेरि उदाउँछन् ।
एक माघले जाडो कट्दैन,
एक हारले यात्रा टुट्दैन,
चुनाव त केवल एउटा मोड हो,
गन्तव्य त अझै टाढा छ ।
तपाईंको निष्ठा, तपाईंको सेवा,
जनताको मनमा रोपिएको बीउ हो,
आज नदेखिए पनि,
भोलि त्यो विश्वास फुल्नेछ ।
जहाँ बसेर पनि सेवा हुन्छ,
पदले मात्र होइन, मनले देश बन्छ,
जनताको साथ र भरोसा
कहिल्यै हराउने चीज होइन ।
हार आजको कथा होला,
तर भोलिको इतिहास तपाईं नै हुनुहुन्छ,
हिम्मत नहार्नुहोस्, अघि बढ्नुहोस्
किनकि परिवर्तन तपाईंबाटै सुरु हुन्छ ।


















