भक्तपुर, चैत्र ६ ।
भक्तपुर नगरपालिका वडा नं. २ खौमास्थित ऐतिहासिक तथा पुरातात्विक श्री इन्द्रायणी द्योछेँको पुनःनिर्माण कार्य सम्पन्न भई आज परम्परागत विधिअनुसार लुखा पूजा, धुरी पूजा लगायतका धार्मिक अनुष्ठानहरू सम्पन्न गरिएको छ।
समारोहमा सहभागी हुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत स्थानीय जनताको साथ र सहयोगमा सम्पन्न भएको यस पुनःनिर्माण कार्यले सम्पदाप्रति जनताको अपनत्व अझ बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विदेशी सहयोगविना नै स्थानीय स्रोत, साधन र श्रम प्रयोग गरेर सम्पदा जोगाउन सकिने उत्कृष्ट उदाहरणका रूपमा यस कार्यलाई लिन सकिने उल्लेख गर्नुभयो।
श्री इन्द्रायणी द्योछेँ पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद चरण रायका अनुसार करिब ३ करोड रुपैयाँ लागतमा द्योछेँ पुनःनिर्माण सम्पन्न भएको हो। साथै विभिन्न संघ–संस्था, गुठी तथा स्थानीयवासीबाट करिब ५२ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको र सयौं स्थानीयले जनश्रमदान गरेका थिए।
कार्यक्रमकै अवसरमा नगर प्रमुख प्रजापतिले पुनःनिर्माण कार्यमा संलग्न सिकर्मी तथा डकर्मीहरूलाई टोपी र बेताली लगाई सम्मान गर्नुभएको थियो।



















