भक्तपुर, पुस — भक्तपुर नगरपालिका वडा नं. ९ स्थित वाकुपति चाँगुनारायण मन्दिर परिसर सहयोग समिति तथा प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा भक्तपुर नगरव्यापी तेस्रो ज्येष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता शनिबार मन्दिर परिसरमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्रतियोगिताको उद्घाटन गर्दै भक्तपुरको मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र संवर्द्धनमा नगरपालिका निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले भाद्र २३ र २४ मा भएको विध्वंशको स्मरण गर्दै राष्ट्रिय सम्पदाको महत्त्वबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, यस्ता कार्यक्रमहरूले समाज र परिवारलाई ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्न प्रेरित गर्ने उल्लेख गर्नुभयो।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले स्वस्थ जीवनयापनका लागि शारीरिक तथा मानसिक कसरतलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले भेनेजुयलामाथि अमेरिकाले गरेको हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालमा पनि यस्ता समस्या देखिन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो।
भक्तपुर नगरभरिबाट जम्मा २७ जना ज्येष्ठ नागरिकको सहभागिता रहेको प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सोही दिन नेपाल क्रान्तिकारी किसान संघ, भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि दुवालले भक्तपुरबाट सुरु भएको किसान आन्दोलनका कारण सम्पूर्ण किसानहरूले मोहियानी हक प्राप्त गरेको प्रसंग उल्लेख गर्दै अनियमितता र विसंगतिविरुद्ध नेपालीहरू सदैव संघर्षशील हुनुपर्नेमा जोड दिनुभयो।
प्रतियोगितामा जीतबहादुर खयरगोली प्रथम, केदारमान ज्याख्व द्वितीय, पूर्णभक्त शिल्पकार तृतीय र विकुनारायण चोकाबजी सान्त्वना स्थान हासिल गर्न सफल हुनुभयो।
आयोजक समितिका कृष्णगोपाल प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य ज्ञानबहादुर मानन्धर र प्रगति सामुदायिक सिकाइ केन्द्रका रविन्द्र कुसीले प्रतियोगिताको उद्देश्य र आवश्यकताबारे प्रकाश पार्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















