भक्तपुर, पुष २६ ।
विनाता सांस्कृतिक कला प्रवद्र्धन केन्द्र भक्तपुर नेपालको प्रथम वार्षिक साधारण सभा आज भक्तपुरमा एक विशेष समारोहबीच सम्पन्न भएको छ। संगीतज्ञ तथा प्राध्यापक धन बहादुर गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभा संस्थागत इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
विक्रम संवत् २०५० सालदेखि जनस्तरमा स्थापित बिनाता कला सदनले २०८२ साल श्रावण १३ गते सरकारी मान्यता प्राप्त गरी “विनाता सांस्कृतिक कला प्रवद्र्धन केन्द्र भक्तपुर नेपाल” का रूपमा दर्ता भएपछि पहिलो पटक वार्षिक साधारण सभा आयोजना गरेको हो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि धन बहादुर गोपालीले सांस्कृतिक, सांगीतिक तथा पुरातात्विक दृष्टिले समृद्ध भक्तपुरमा दशकौँ पुरानो संस्थाले वैधानिकता पाउनु गौरवको विषय भएको उल्लेख गर्नुभयो। उहाँले नयाँ निर्वाचित पदाधिकारीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको गम्भीरतालाई आत्मसात् गर्दै संगीत क्षेत्रलाई मानवीय संवेदनासँग जोडेर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो तथा सफल कार्यकालको शुभकामना दिनुभयो।
कार्यक्रमका विशेष अतिथि, उभिएर सितार बजाउने विश्व रेकर्ड कायम गर्न सफल कलाकार सीतामाया राजचलले कला र संगीतले देशको गौरव बढाउने बताउँदै विषयगत दक्षता हासिल गर्न निरन्तर प्रयास आवश्यक रहेको धारणा राख्नुभयो। अर्की विशेष अतिथि तथा वरिष्ठ गायिका सानुमाया ताम्राकार धौभडेलले वरिष्ठ संगीतकार बद्रीनारायण ताम्राकारको संगीत तथा संस्थाका महासचिव कृष्ण प्रसाद दुमरुद्वारा रचित “शुभकामना… शुभकामना… न्यानो यो प्रहरणमा” बोलको गीत प्रस्तुत गर्दै नव–निर्वाचित पदाधिकारीहरूलाई शुभकामना व्यक्त गर्नुभयो।

साधारण सभाबाट वरिष्ठ संगीतकार तथा गायक बद्री नारायण ताम्राकारको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ। सभामा महासचिव कृष्ण प्रसाद दुमरुले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष कृष्णप्यारी सुवालले आर्थिक प्रतिवेदन पेश गर्नुभयो। प्रथम उपाध्यक्ष धनकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको उक्त सभाको सञ्चालन सदस्य बसन्त नकर्मीले गर्नुभएको थियो।
संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ संगीतकार बद्री नारायण ताम्राकारको सभापतित्वमा सम्पन्न उक्त प्रथम वार्षिक साधारण सभाले भक्तपुरको सांस्कृतिक तथा सांगीतिक पहिचानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


















