एउटा समूह खुब कराउँदै थियो-
’हामी नभई यो देशमा
लोकतन्त्रको रक्षा हुनै सक्दैन’
अर्को जत्था घोक्रो फुलाउँदै थियो-
’हामी नभई यो देशमा
कुनै पनि विकासको कामै हुँदैन’
अर्को हूल झन् कुलिँदै थियो-
’हामी नभई यो देशमा
सुशासन र सदाचार कायमै रहँदैन’
अर्को गण सबैभन्दा बढी
चर्को स्वरमा थर्काउँदै थियो-
’हामी नभई
प्राप्त उपलब्धिको संरक्षण हुनै सक्दैन’
टुँडिखेलबाट पश्चिम फर्केर हातले लोपर्दै
केही पागलहरू
उफ्री उफ्री चिच्याउँदै थिए एकै स्वरमा –
’तिमीहरू भएसम्म यो देशमा
नहुने जे पनि हुन्छ
हुने केही पनि हुँदैन’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1


















