अविवाहित अनामिका कसरी आमा बनिन् ?

0
570

बाह्र कक्षाको नतिजामा राम्रो जि.पि.ए आएसँगै मन प्रफुल्लित भयो । तर नतिजा लगतै भएको एक घटनाले मेरो मन पनि उतिकै पोलिरहन्छ । खोइ के गरुँ, कसो गरुँ केहि भन्न सकिरहेको छैन । मलाई आफ्नै देशको माटोमा केहि गर्ने मन छ । घरमा भने अस्ट्रेलिया जान उतिकै दवाब छ । हिजो राती पनि राम्ररी सुत्न सकिनँ । साथीभाइहरु पनि विभिन्न देशका लागि उड्ने तयारीमा छन् । मेरो मन भने आन्तरिक द्धन्दमा अल्झेको छ ।

केहि समय अगाडिको कुरा हो, म सुर्यविनायक मन्दिरमा गणेश भगवानको दर्शन गरेर घर फर्कदै थिएँ । सुर्यविनायकको चोक नपुग्दै मेरो नजर एक परिचित महिलातिर पर्न गयो । मैले उक्त महिलालाई हेरिरहेँ । थाहा थिएन, मैले किन उनलार्इृ हेरिरहेँ? त्यस्तो हामीबीच बताउन लायक कुनै सम्बन्घ पनि त थिएन । उनी उमेरले मभन्दा दुई तीन वर्षले जेठी हुनुपर्छ । उनी मलेसियाबाट फर्कनुभएको हिजो जस्तै लाग्थ्यो । फर्कदा उनीसँग एउटा सुटकेश र सामान राख्ने एउटा झोलाबाहेक केहि थिएन भनेर उनकै छिमेकीले भनेको याद छ । उनी अलि मोटाएकी थिइन्, उनको पेट अलि सुनिएजस्तो लाग्थ्यो । निलो कुर्ता सुरुवालमा उनी राम्रै देखिन्थिन् ।

केहि दिनपछि टोलमा अनौठो हल्ला चल्न थाल्यो । हल्ला पनि कस्तो भने बताउन मिल्ने खालको थिएन । उनी अविवाहित हुनुहुन्थ्यो । तरउनी गर्भवती भै फर्किएको खबरले टोल नै हल्लिएछ । आखिर उनी गर्भवती भएकै हो भन्ने मलाई पटक्कै विश्वास लागेन । यो हल्ला साँचो नै भएपनि अचम्म मान्नुपर्ने के थियो र? सायद बिहे गर्ने उमेरमा उनले बिहे गरेकी हुनुपर्छ भन्ने मैले ठानेँ । परिवारको बोझ थाम्न विदेशिएकी एउटा नारीको चरित्रमाथि प्रश्न गर्ने मेरो अधिकार पनि त छैन । तैपनिहल्ला यसरी फैलियो कि उहाले थेग्नै सक्ने खालकै थिएन ।फेरी सबैलाई स्पष्टिकरण दिँदै हिड्ने कुरो पनि त होइन । मलाई मेरै समाजसँग रिस उठ्थ्यो । एक जना महिलाको व्यक्तिगत जिवनमा असर पर्ने गरी बिना प्रमाण चरित्रमा प्रश्न गर्नु कुन नैतिकताले दिन्छ? मनमा यावत् कुराहरु खेलिरहन्थ्यो?

आर्थिक सफलताको सिढीँ चढ्न उहाँ विदेशिनु भएको धेरै वर्ष भएको पनि त छैन । मध्यम वर्गीय परिवारमा जन्मेकी उक्त महिलाको बारे यसअघि खासै सुनेको पनि थिएन । परिवारले गर्ने चचाृले यस्तो लाग्थ्यो, सायद कुनै विवशताले विदेशिनु परेको हुनुपर्छ । मलाई पनि त आफ्नै विवशता त छ । विदेशमा पुगेर सुनको मान्छे होइने पनि त होइन । दश नंग्रा नखियाई आफ्नो देशमा त खान पाइन्न भने झन विदेशमा के पाइएला र ? तर मलाई विदेशिन हौस्याउनेको पनि कमी छैन ।आफन्तहरु जापान, अमेरिका, अस्ट्रेलियादेखि खाडी मुलुकसम्म छरिएर रहेका छन् । फेसबुकमा राखिने रंगीन तस्बीरलाई आफन्तको प्रगति देख्ने मनुवालाई मेरो भन्नु केहि छैन । तर खोइ किन हो, उक्त महिलाको भेटले मेरो मनमा तरंग आइरहन्थ्यो। ममा उक्त महिला बारेमा जानकारी प्राप्त गर्ने उत्सुकता बढ्दै गयो । मेरो मन उक्त महिलाको परिचय नपाएर छट्पटिरह्यो । बेलूकी आमासँग सोध्ने हिम्मत जुटाएँ र सोधेँ , “आमा, उनी को हुन्?”

आमाले भन्नुभयो -को? उही अनामिका?
हो, आमा – मैले भनेँ । अनि फेरी सोधेँ – अनामिकालाई किन अरुले जथाभावी भनेको, आमा? आमालाई पनि अनामिकाको बारे अरुले कुरा कुरा काटेको मन परेको थिएन । उहाँले भन्नुभयो – समाजको जात नै कुरा काट्ने हो । विदेश जानुअघि हुटिहारा भने, जाँदा अरुसँग सल्की भने अनि फर्कदा अस्मितामाथि नै धावा बोलेर पेट बोकेर आई भने । नारी भएर बाँच्न गार्‍हो छ, बाबु ।

म भर्खर विद्यालय सकेको अल्लारे ठिटोले आमाको कुरा के बुझ्नु ?

म विभिन्न कन्सल्टेन्सी धाउँदैमा व्यस्त थिएँ । यस्तैमा केहि दिन पछि फेरी अनामिकालाई भेटेँ । म सुर्यविनायकको तरकारी बजारमा तरकारी किनेर फर्कदै थिएँ । मेरो बाइकको अगाडि प्रहरीको गाडी थियो । गाडीभित्र थिइन् ,अनामिका । प्रहरीको बीचमा मलिन अनुहार लिएर निहुरेर बसेकी थिइन् उनी । परैबाट देखेँ, हटकडीले बाँधिएको उनका हातमा नवजात शिशु । म निशब्द भएँ ।

मेरो उनीसँग बोलचाल त थिएन । त्यतिखेर मैले उनको मुहारमा के देखेँ, अहिले बताउन सक्दिनँ । सायद ती आँखाहरुमा मैले आश्चर्य , विश्मय र मातृस्नेह देखेको हुनुपर्छ । घर पुगी आमालाई सोधेँ- आखिर के भएको रहेछ?

आमा भावविह्वल भै सुक्सुकाउनुभयो । मैले केहि बुझ्न सकिनँ- आमाले भन्नुभयो । यसै क्रममा आमाले मेरो हातमा एउटाडायरी राखी दिनु भयो र भन्नु भयो -अनामिकालाई प्रहरीले घेर्दा, उनको हातबाट खसेको देखेर मैले टिपेको, उनलाई फर्काउनू है ।

मैले डायरीलाई नियालेर हेरेँ, आवरणमा एउटा मनमोहक चित्र थियो- काठमाण्डौ उपत्यकाको जिवित देवी कुमारीको रंगीन चित्र थियो । भित्र पाना पल्टाएर हेर्ने इच्छा त थियो । आमाले गाली गर्दै भन्नुभयोे – अर्काको निजि जिवनबारे लेखिएको डायरी पढ्न हुँदैन । म लुसुक्क आफ्नो कोठामा पसेँ र डायरीलाई टेबुलमा राखी विस्तरामा पल्टिएँ ।

यो वर्ष जेष्ठ महिनामा त अचाक्ली गर्मी थियो नै, असार र श्रावणमा पनि तापक्रम घट्ने छाँटकाँट थिएन । निन्द्रा नलागेकोले कोठाको पंखालाई नचलाइरहन सकिनँ । पंखा आफ्नो लयमा चल्दै थियो, दिमागमा अनामिका र मेरो विदेश जाने सपना ।

एकाएक निस्पट्ट अँध्यारो भयो । सायद बत्ती गएको हुनुपर्छ । हुन त कुलमानलाई हटाउने चर्चा नचलेको होइन । तर मेरो नजरमा कुलमान होइन, आइन् अनामिका । उनै अनामिका मेरो पलङ सामुन्ने आइन् । म भन्न सक्दिनँ, उनी किन आइन्? दिउँसो प्रहरीको गाडीमा लगाएकै निलो कुर्ता सुरुवालमा उनी मेरो सामू उभिइन् । पछाडीअनामिकाकी आमा । अनामिकाको आँखामा आँसु पिलपिल बगिरहेको थियो । उनकी आमा अनामिकालाई भन्दै थिइन् , तँ समाजको कलङ्क होस्, कन्यादान अघि कन्या जन्माउन तँलाई लाज लाग्दैन ? कोसँग लागिस् र पेट बोकेर आइस्, भन् । जसको पेट बोकेकी होस् , उसैकोमा जा ।

रिसको आगो ओकेलिरहेकी उनकी आमाकोमुखबाट आएको आगोको लप्काले अनामिका नराम्ररी जलिन् । उक्त जलनलाई आँसुको वर्षाले उनी कम गर्ने प्रयास गर्दै थिइन् । तर सकिनन् । उनी भन्दै थिइन् – आमा, मैले नहुने केहि काम गरेकै छैन, कोहि पुरुषसँग लसपस गरेकै छैन । मलाई त यो पनि थाहा छैन, म कसरी गर्भवती भएँ ?

मलेसियाको एक होटलमा वेटरको काम गर्थेँ । काम राम्रै थियो, मालिक पनि राम्रै थियो । घरमा पैसा पनि पठाएकै हो । दुः ख सुख गरी मलेसियाको जोहोर सहरमा दुई वर्षसम्म एउटा सानो रेस्टुरेन्टमा काम गरेकै हो । जोहोरमा आफु बाँचेर बाआमालाई पनि सास धान्न उर्जा पुर्‍याउनुपर्ने । मैले मेरो परिवार र समाजलाई गुमाइरहेँ । बाआमालाई केहि पैसा पठाउँदा अलि खुशी लाग्थ्यो । तर कहिल्यै आफ्नो स्वाभिमान बेचिनँ । साहूसँग नराम्रो सम्बन्ध पनि थिएन । छोरी जस्तै मान्थी । हरेक बेलूका काम सकेपछि सञ्चो विसञ्चो सोध्थे । थकानले गल्दा कहिले जुस त कहिले फलफूल दिएर माया गर्थे । सोच्थेँ, मलेसियामा पनि अभिभावकत्व त राम्रो पाएकै हो ।बिहान उठ्दा पनि उतिकै माया देखाउथेतर आमा, फर्कने बेला मेरो पेट अलि फुलेको थियो, मलाई लाग्यो, पेट सुनिएको होला वा पेटमा केहि खराबी छ । खानामा रुची थिएन । मैले सोचेँ, देशको यादले होला । होइन रहेछ, आमा, म गर्भवती भएकै रहेछु । अस्पतालमा जाँचका लागि जाँदा चिकित्सकले आमा बन्न लागेकोमा बधाई दिए । म भने छक्क परेँ । कुनै पुरुषसँग बोल्न पनि लाज मान्ने अनि बोल्नै परे एक कोश पर बसी जोगिएर हिड्ने म कसरी गर्भवती हुन सक्छु?मैले गल्ती गरेकै छैन, आमा । मलाई नै विश्वास भएन, म आमा हुन लागेको भनेर । किन किन मलाइ बेस्सरी डर लाग्यो । मसँग हजुरको प्रश्नको जवाफ छैन । म कसलाई मेरो लोग्ने मानूँ ? डरले काम्दै म हजुरको छत्र छायाँमा फर्कदै थिएँ । नेपाल फर्कने बितिकै समाजले प्रश्न तेसर्ाए , मेरो गर्भबारे । मेरो अस्मितामाथि प्रहार गरे ।

म के जवाफ दिऊँ, आमा । मलाई हजुरको साथ र सहयोग चाहिएको थियो । तर उल्टै मलाई हजुरले अनेक शंका उपशंका गर्नुभयो । म सबै कुरा बताउन चाहन्थेँ । न त मेरो समाजले बुझ्न चाह्यो न त मेरो परिवारले । मैले माइती घर मण्डलामा विष खाई आत्म हत्या पनि गर्न नखोजेको होइन, आमा तर सकिनँ वा ममा आँट आएन । गर्भपतनको लागि निजि अस्पताल पनि नगएको होइन, ढिलो भइसकेछ । जसै वास्तविकतालाई स्विकार्न तयार भएँ, आमा । म घरबाट निस्किएर बहाल कोठामै आमा बनेँ । सालनाल काट््ने पनि कोहि थिएन । मृत्युसँग जुधेर जसै छोरीलाई जन्म दिएँ , फेरी समाजसँग डराएँ । मलाई मेरी छोरीले भोलि मेरो बुबा खोई भनी सोधेमा के जवाफ दिने? अनि गर्भवती भनी शंका गर्ने यो समाजलाई के भनेर अनुहार देखाउने ?अचम्म लाग्छ, आमा । किन महिलाको इज्जत पुरुषसँग मात्र जोडिन्छ ? पुरुष आफ्नो तृष्णा मेट्ने बहानामा नारीहरुको अस्मिता लुटिरहँदा उसको इज्जत जाँदैन । तर नारीको चाहिँ थाहै नपाईआफू बलात्कृत हुँदा पनि नारीकै मात्र इज्जत जाने यो कस्तो समाज हो, आमा ?

भन्न त धेरै चाहन्छु , तर उचित शब्द मसँग छैन। समाजको डरले नवजात छोरीलाई अरु कसैको कोखमा दिन चाहन्थेँ । तर दिने कसरी?समाजको नजरमा म कुमारी आमा हुँ र मेरो अवैध सम्बन्धबाट जन्मिएको छोरी, जसको नामाकरण पनि भएको छैन, हामीलाई न्याय कसले दिन्छ ? म एक्ली कुमारी आमाको कथा कसले सुन्ने?मलाई समेत गुमराहमा पारी मेरो इज्जत लुट्ने त्यो बलात्कारी पुरुषलाई कसले कारवाह िगर्छ? अन्तमा केहि सीप नलागी बिहान सबेरै सुर्यविनायक चोकको एक कुनामा कसैले पाल्ने आशामा छोरीलाई एक्लै छोड्न विवश भएँ।

आमा, समाजसँग भाग्दा भाग्दै आमाको भूमिकाबाट कर्तव्यच्यूत भै आफूले आमाको हैसियत समेत गुमाइसकेको बारे मलाई थाहा नै भएन। म फेरी आफूलाई अविवाहित युवतीको रुपमा देखाउन चाहन्थेँ । तर नियतिले ठगेपछि केहि नलाग्दो रहेछ । ममा आमाको ममता बोध भयो । आफूलाई रोक्न सकिनँ।तुरन्त मेरो छोरी छोडेको ठाउँमा छोरीको खबर बुझ्न हुतिएँ ।

मान्छेको हुलमुलको बीचमा छोरी थिई, प्रहरीकै अँगालो बेरिएर रोइरहेकी थिइन् । सायद आमाको दूध सम्झेर होला छोरी रोइरहिन् । मैले पनि आफूलाई सम्हाल्न सकिनँ, आँखाबाट आँसु झरिरह्यो । एकक्षणमै प्रहरीले मेसो पाइहाले,म समातिएँ । भन्नुुुस् न आमा, म कसरी अपराधी भएँ ? म न बाँच्न सक्छु, न त मर्न सक्छु । म कुण्ठित छु, विखण्डित छु, ऐनाझै फुटिएकी छु , कहिल्यै नजोडिने गरी।यो समाजले मेरो कथा बुझेन, आमा । तपाई त आमा हुनुहन्छ, म के गरुँ,आमा? मजस्ती कुमारी आमाको कथा कहाँ गएर कसलाई पोखूँ ?कसले सुन्ने, कसलाई भन्ने ?कुन कानूनले मेरो रक्षा गर्छ?बोल्दा बोल्दा उनको बोली नै अवरुद्ध भयो र आँसु लिएर ठिङ्ग उभिइरहिन् । उनकी आमा उनको कुरा सुनेर अघि नै मुर्छा परिसकेकी रहिछिन् ।मैेले सोचेँ, वास्तवमा सिद्धान्त, धार, विचारभन्दा ठूला मानवियता रहेछ। अनामिकाले आफ्नो अमूल्य जिवनको महत्वपूणर् दुई वर्ष परिवारको भविष्यका लागि विदेशमा बिताइन् तर विदेशले उनको नारी अस्मिता माथि भदा मजाक गर्‍यो ।म जुरुक्क के उठेँथे, पलङबाट खसेछु । ब्युझिदा रोश्ना र उनकी आमा कोठामा थिइनन् । रातको बाह्र बजिसकेछ । आमाले पल्लो कोठाबाट बोल्नुभयो- अझै सुत्या छैन, बाबु । मैले भनेँ, सुत्न लागेँ आमा । निन्द्रा त कहाँ लाग्नु, उही अनामिका र उनकी आमा दिमागमा रहिरहिन् । घडीको सुइले टिकटिक आवाज निकाली रह्यो । भोलिपल्ट मैले आफ्नी आमालाई भनेँ, आमा अब म विदेश जान्नँ ।

अनामिकाको डायरी टेबुलमै थियो, जस्ताको त्यस्तै । फेरी मैले डायरीलाई नियालेर हेरेँ, आवरणमा उही मनमोहक चित्र – काठमाण्डौ उपत्यकाको जिवित देवी कुमारी । कालो मसीले मुनि लेखिएको थियो, अनामिका ।

  • अर्जुन कोन्दा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here